१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रेमराज सिलवाल
२०७८ कार्तिक ११ बिहीबार ०८:२७:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एमालेको अधिवेशन र आन्तरिक जनवाद

Read Time : > 4 मिनेट
प्रेमराज सिलवाल
२०७८ कार्तिक ११ बिहीबार ०८:२७:००

लोकतन्त्रका विश्वव्यापी मान्यता र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक मूल्यअनुसार कमिटीमा लोकतान्त्रिक तवरबाट छलफल हुने तथा विचार राख्न पाउने स्वतन्त्रतालाई मूलतः कम्युनिस्ट पार्टीहरूमा ‘जनवाद’ भन्ने गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेमा हालै सम्पन्न भएका देशभरका वडा अधिवेशन तथा पालिकाहरूका सबैजसो सदस्य सर्वसम्मत निर्वाचन विधिबाट चयन गरिएका छन् । एमालेले आफ्नो राजनीतिक सिद्धान्त र दर्शन ‘जनताको बहुदलीय जनवाद’ हुने भनेको छ । ‘जनताको बहुदलीय जनवाद’ पदावलीले बदलिँदो विश्व परिस्थितिमा आएका प्रजातन्त्रका आधारभूत मूल्य एवं मान्यताहरूलाई स्वीकार गरी प्रतिस्पर्धा र जनताको मतको समर्थन लिएर राज्य सत्तामा पुग्ने भन्ने अर्थलाई नै संकेत गर्छ । बहुदलीय जनवाद सारमा आवधिक निर्वाचन, दलीय प्रजातन्त्र, स्वतन्त्र निर्वाचन, विधिको शासन, संविधानवादका मूल्य र मान्यता, मानवअधिकार, स्वतन्त्र न्यायालय र सारमा जनताको लोकतन्त्र हो । 

देशको सघीय संसद्, प्रदेश र स्थानीय तहमा बलियो उपस्थिति भएको प्रमुख दल एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०–१२ चितवनमा हुन गइरहेको सन्दर्भमा सम्पन्न वडा र पालिका अधिवेशनमा बढी अभ्यास गरिएका ‘सर्वसम्मत्त विधि’को नेतृत्व छनोटको तरिकालाई लिएर एमालेभित्रै र बाहिर सार्वजनिक चर्चा र परिचर्चा भइरहेका छन् । निर्वाचन भन्नेबित्तिकै सामान्यतः भोट हाल्ने र प्रतिनिधिहरूको चयन भन्ने अधिकांशको दिमागमा आउने गर्छ । भोट गर्ने विधि संसारभर बढी प्रचलनमा आएको र सर्वस्वीकार्य विधि हो । यद्यपि, सर्वसम्मत र मनोनयनका विधिसमेत प्रचलनमा रहेकै विधिहरू हुन् । अमेरिकी राष्ट्रपति जनताबाट प्रत्यक्ष निर्वाचित भएर आउने भए पनि उनका मन्त्रीहरू (स्टेट सेक्रेटरी) भने राष्ट्रपति आफैँलाई अनुकूल लागेका व्यक्तिहरू मनोनयन हुने गर्छन् । यसैगरी, सर्वसम्मतिको विधिबाट प्रतिनिधिहरूको छनोट अर्काे स्वीकार्य र प्रचलित विधि हो । भएका आकांक्षी वा उम्मेदवारहरूबीचमा र मतदान गर्न योग्यता पुगेका मतदाताहरूको एउटै स्वर तथा समर्थनबाट आउने प्रतिनिधि वा नेतृत्वलाई सर्वसम्मतिबाट आएको मान्नुपर्ने हुन्छ ।

 एमालेका वडा र पालिकास्तरमा भएका पार्टीको आन्तरिक निर्वाचनमा अधिकांश स्थानहरूमा सर्वसम्मति भई निर्वाचित भएर आएका छन् । केही स्थान र पदमा भने निर्वाचनका अन्य विधिबाट समेत नेतृत्व चयन भएका छन् । उल्लेखित निर्वाचनका विधिबाहेक गोलाप्रथाद्वारा नेतृत्व छनोट गर्ने अर्काे तरिका हो । कुनै एउटै पदमा एकभन्दा बढी आकांक्षी भएको र सबैको लगभग एकै खालको अवस्था तथा हैसियत भएमा गोलाप्रथाबाट पनि नेतृत्वको छनोट गर्ने गरिन्छ । एमालेका उल्लेखित अधिवेशनमा भएको सर्वसम्मतिको निर्वाचन विधिलाई लिएर विभिन्न टीका–टिप्पणी आएका छन्, आउँदै छन् । कतिपयले सर्वसम्मतिबाट नेतृत्व चयनको विधिलाई अध्यक्ष केपी ओलीलाई बलियो बनाउन अपनाइएको ‘तरिका’ भनी आलोचना गरेका छन् । ओली पक्षको तर्कअनुसार पार्टीमा विगतमा भएका विग्रह, बेमेल, गुटगत प्रवृत्ति, अराजकता र समूह हावी हुने विधि र तरिकाले पार्टी तथा संगठनलाई घाटा भएकाले केन्द्रदेखि वडासम्म सर्वसम्मतिको अभ्यास गरिएको हो । वास्तवमा सर्वसम्मति लोकतन्त्रको उन्नत विधिचाहिँ पक्कै हो । सर्वसम्मतिको अभ्यासलाई अर्काे अर्थमा आन्तरिक जनवादको उच्चतम अभ्यास पनि भन्ने गरिएको छ । 

एमाले कम्युनिस्ट पार्टी भए पनि जनताको बुहदलीय जनवाद (जबज)लाई उसले आफ्नो राजनीतिक सिद्धान्त मानेको छ । लेलिनवादी संगठनात्मक सिद्धान्तद्वारा सञ्चालित संगठनमा जनवादी केन्द्रीयतालाई बढी नै अभ्यास गर्ने गरिएको पाइन्छ । केन्द्रीयताले तल्लो कमिटी माथिल्लो कमिटीको मातहत हुने, निर्णय भइसकेको कुरा कसैलाई चित्त नबुझे पनि मान्नैपर्ने, व्यक्ति कमिटीको मातहत हुने र निर्णय भएको कुरा लागू गर्न नचाहने व्यक्तिलाई कमिटीको बैठकले आवश्यक कारबाही पनि गर्न सक्ने जस्ता प्रचलनलाई एमालेको संगठनमा केन्द्रीयता भनिँदै आएको छ ।

वडा र पालिकामा भएको हालैको आन्तरिक निर्वाचनले एमालेमा जनवादको अभ्यास र लोकतन्त्रको प्रसार भएको देखिन्छ

 बढी केन्द्रीयता लागू भएमा फेरि निरंकुशता हावी हुन पुग्छ । विगतमा केन्द्रीयताको सिद्धान्तअनुसार नै कतिपय नेता कारबाहीमा परेका छन् । जनवादको पनि एमालेमा बढी नै अभ्यास भइआएको हो । जनवादले व्यक्तिलाई एउटा विधि र प्रक्रियाबाट बोल्ने तथा विचार राख्न पाउने स्वतन्त्रता र छुट दिन्छ । यसै मान्यताका कारण एमालेका केही नेताले पार्टीको घोषित नीति र कार्यक्रमको समेत आलोचना गर्दै आएका छन् । एमालेमा भएको १० बुँदे सहमतिपश्चात्को अवस्था र निकट राष्ट्रिय महाधिवेशनको संघारमा भएको वडा–पालिका अधिवेशनले अनेक प्रकारका चर्चा र अनुमान सुरु गरेको छ । 

वडा–पालिका अधिवेशनको संकेत र सन्देश : एमालेको वडा र पालिकास्तरमा भएका पार्टीका आन्तरिक अधिवेशनहरूको केही खास संकेत र सन्देश भएको भन्दै त्यसलाई आफूअनुकूल अथ्र्याउने प्रयासहरू हुन थालेका छन् । एउटा तर्कले अध्यक्ष ओली थप शक्तिशाली भएको र मंसिरमा हुने महाधिवेशनमा ओलीलाई कसैले कुनै पनि कोणबाट चुनौती दिन नसक्ने संकेत देखिएको भन्न थालिएको छ । यो पक्षबाट विश्लेषण गर्दा अबको अध्यक्ष र नेतृत्व ओलीको चाहना र अनुकूलतामा आउने प्रस्ट संकेत देखिएको छ । यद्यपि, कतिपय स्थानमा भएका अधिवेशनमा ओलीविरोधी समूह र शक्तिले आफ्नो उपस्थिति देखाउने प्र्रयास गरेकाले अध्यक्ष ओलीलाई राजनीतिक, वैचारिक र सांगठनिक दृष्टिकोणमा यो समूहले आफूहरू पनि एमालेमा रहेको भन्ने सन्देश दिएको रूपमा पनि लिइएको छ । तथापि, वडा र पालिका अधिवेशनका प्रारम्भिक संकेत र सन्देशलाई विश्लेषण गर्दा आउने चितवन महाधिवेशन अध्यक्ष ओलीका लागि सर्वाधिक सहज हुने पूर्वसंकेत देखिएका छन् । छिटफुट स्थानमा बाहेक सबैजसो स्थानमा सर्वसम्मतिबाटै नेतृत्वको चयन हुनु, उल्लेख्य कुनै विवाद सतहमा नआउनु, पार्टीको शक्तिमा अर्काे समूह नहुनु, समूहको अभ्यास गर्न सक्ने अवस्था अत्यन्त कमजोर हुनु, समूह बनाएर अगाडि बढ्नुपर्छ र ओलीलाई कमजोर बनाएर आफ्नो समूह बलियो बनाउनुपर्छ भन्ने नेता, व्यक्ति र समूह नै अस्तित्वमा आउन नसक्नुले एमाले अध्यक्ष ओली सर्वाधिक बलियो विकल्प भएको सहजै आकलन गर्न सकिन्छ । 

हालै सम्पन्न भएका स्थानीयस्तरका अधिवेशनले एमालेमा आन्तरिक लोकतन्त्रको अभ्यास भने भएको छ । सर्वसम्मतको प्रयासमा अधिवेशनको हलमा आएका प्रतिनिधिहरूका बीचमा पटक–पटक र तह–तहमा अनेकौँपटक छलफल हुनुले एमालेमा आन्तरिक जनवादको पक्षलाई निषेध नगरी लोकतान्त्रिक अभ्यास गरिएको अवस्था छ । जनवादले आन्तरिक लोकतान्त्रिक अभ्यासको संकेत गर्ने भएकाले यसो भएन भने लोकतन्त्रको आत्मा मर्न पुग्छ । अर्काे, सहमति र सर्वसम्मतिको नाममा आन्तरिक जनवादमाथि रोक लगाउने र बन्देज गर्ने प्रयास गरियो भने त्यसले स्वीकार्यता नपाउने अवस्था हुन्छ । स्वीकार्यता नभएको राजनीतिक नेतृत्वप्रति आन्तरिक अपनत्व बन्नै सक्दैन । कार्यकर्ता र जनताले स्वीकार नगरेको नेता जगविनाको घर समान हुन पुग्छ । 

राजनीतिक पार्टीको जग र आधार जनता र कार्यकर्ता नै हुन् । एमालेको सन्दर्भमा हेर्दा अन्य पार्टीको तुलनामा जनवादको सर्वाेत्तम अभ्यास भएको देखिन्छ । वडादेखि क्षेत्र हुँदै केन्द्रसम्मको नेतृत्वमा आउनका लागि हुँदै गरेका आन्तरिक निर्वाचनले एमालेमा तल्लो कमिटीमा जनताको आधार र संगठन बलियो बनेको संकेत गरेको छ । १०औँ महाधिवेशनका क्रममा भएका वडा–पालिका अधिवेशनमा बढी अभ्यास भएको सर्वसम्मतिको विधिले आन्तरिक एकतालाई अझै बलियो बनाउने संकेत गरेको छ । 

आन्तरिक एकता बलियो नभएको, केन्द्रीयता र जनवादलाई सन्तुलनमा मिलाउन नसकेको कारण नै एमाले र माओवादीबाट बनेको नेकपा अघि बढ्न सकेको थिएन । सोही कारण मुलुकको सर्वाधिक ठूलो राजनीतिक दलको मान्यता पाएको नेकपा एमालेको संगठन ध्वस्तप्रायः बन्न पुगेको थियो । विगत तीन वर्षमा नेकपाको एकता र कोरोनाको कारण पार्टी बन्दी अवस्थामा पुगेको थियो । वडा र पालिकामा भएको हालैको आन्तरिक निर्वाचनले एमालेमा जनवादको अभ्यास र लोकतन्त्रको प्रसार भएको देखिन्छ । भोटिङ नगरिएकाले मात्रै जनवादको पूरा प्रयोग गर्नबाट रोकियो भन्ने ढंगले गरिएका आलोचनामा कुनै दम देखिन्न । एमालेमा गरिएको सर्वसम्मतिको अभ्यासले उच्चस्तरको संस्कृति निर्माण गर्न सक्ने संकेत गरेको छ । यसले नेपाली राजनीतिमा एउटा उत्कृष्ट राजनीतिक संस्कारको सन्देश पनि दिइरहेको छ ।
(कानुनविद् सिलवाल पिएचडी स्कलर हुन्)