मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १० बुधबार १२:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्नु उचित हुँदैन : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १० बुधबार १२:४०:००

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतबारे धेरै बोल्न नमिल्ने बताएका छन्। नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले न्यायालयको सम्बन्धमा उठेका सवालहरूबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने स्पष्ट पारे।

प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्नेजस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी ओलीप्रति आक्रोश व्यक्त गरे।

‘परमादेश ल्याउने सबैलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई। अरू कुरा धेरै केही भन्नु छैन तपाईंहरूलाई। हाम्रो गठबन्धन पाँच पार्टीको जो छ, जे उठेका सवालहरू छन्– न्यायालय सम्बन्धमा। सरसल्लाह, छलफल गर्नेछौँ। यसमा धेरै कुरा छैन। मैले तपाईंहरूलाई भनेको भन्यै छु। हमाल हाम्रो पार्टीको मान्छे हो। बिचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए। यो कुरा शिद्ध सकेको थियो, तर कुरा उठाएका उठाएकै छन्। अदालतबारे हामीले धेरै बोल्ने कुरा छैन। अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो,’ देउवाले भने।

प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरूले गरेको दाबी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराएका छन्।