१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक १० बुधबार ०६:२०:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानन्यायाधीशको अड्डी : सडकबाट आवाज आयो भन्दैमा राजीनामा दिन्नँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक १० बुधबार ०६:२०:००

मार्गप्रशस्त गर्न आग्रह गर्न आएका सहकर्मी न्यायाधीशहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने सीधा जवाफ दिएका छन् । मंगलबार सर्वोच्चका १५ न्यायाधीशले जबरालाई उनकै चेम्बरमा भेटेर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । तर, सडकबाट राजीनामा माग्दैमा पद नत्याग्ने जवाफ आएको भेटमा सहभागी एक न्यायाधीशले नयाँ पत्रिकालाई बताए । 

‘म मार्गप्रशस्त गर्दिनँ । संवैधानिक प्रक्रियाबाट आएको हुँ, त्यहीअनुसार जान्छु,’ प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै ती न्यायाधीशले भने, ‘सडकबाट आवाज आएको भरमा राजीनामा दिने हो भने न्यायपालिका बच्न सक्दैन, त्यसकारण म राजीनामा दिन्नँ ।’ 

ती न्यायाधीशका अनुसार प्रधान्यायाधीश जबराले विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि तयार रहेको बताएका छन् ।  ‘ममाथि लागेजस्ता आरोप अन्य न्यायाधीशमाथि पनि लागेका छन् । विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिनुहुन्छ भने म पनि दिन्छु । के तपाईंहरू राजीनामा दिनुहुन्छ ?’ जबराको भनाइ थियो ।

प्रधानन्यायाधीशलाई भेट्न १५ न्यायाधीश बिहान साढे ११ बजेसम्म सर्वोच्चको एनेक्स बिल्डिङको हलमा भेला भइसकेका थिए । प्रधानन्यायाधीशले निकास दिनुपर्ने मत राख्दै आएका १४ न्यायाधीशको समूहमा मंगलबार कुमार चुडाल पनि थपिएका थिए । केहीबेर आन्तरिक छलफल गरेपछि उनीहरू ११:५० मा  प्रधानन्यायाधीश जबराको चेम्बरमा पुगेका थिए । वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले १५ न्यायाधीशको नेतृत्व गरेका थिए । 

कार्कीले सबै न्यायाधीशका तर्फबाट प्रधानन्यायाधीश जबरालाई सिधासिधी आग्रह गरेका थिए– न्यायालयको गरिमा जोगाउन सम्माननीय श्रीमान्ले मार्गप्रशस्त गर्नुपर्‍यो । ‘हामीले सल्लाह गरेअनुसार अहिले सम्माननीयज्यूले मार्गप्रशस्त गरिदिनुस् । हामी सबैको निष्कर्ष यहि हो । सिंगो ‘जुडिसरी’ (न्यायपालिका) र यहाँको लागि पनि यो विकल्प हितमा छ । यही भन्नका लागि समय लिएका हौँ,’ वरिष्ठतम् न्यायाधीश कार्कीले जबरालाई भनेको उद्धृत गर्दै ती न्यायाधीशले भने, ‘न्यायपालिकाको नेतृत्व साह्रै विवादमा आउन थाल्यो । यो विवाद जति–जति बढ्छ, जनआस्थामा असर गर्छ । बाहिर यति धेरै विवाद आएपछि सम्माननीयज्यूले निकास दिनु उपयुक्त होला ।’

प्रधानन्यायाधीश विवादमा रहेका विषयमा भने न्यायाधीशहरूले कुनै प्रसंग उठाएनन् । प्रधानन्यायाधीशसँगको भेट सौहार्दपूर्ण वातावरणमा भएको बताउँदै ती न्यायाधीशले आफूहरूलाई पनि यसरी आग्रह गर्नुपर्दा दुःख लागेको बताए । 

‘हामीले उहाँलाई कुनै आरोप–प्रत्यारोप लगाएनौँ । यो कुरा हामीले श्रीमान्सँग गर्ने पनि होइन । हामीले यो अवस्था आउँदा निकै दुख लागेको भन्यौँ,’ प्रधानन्यायाधीशलाई गरिएको आग्रहबारे ती न्यायाधीश भन्छन्, ‘यो अवस्था आउँदा हामीलाई पनि प्रिय लागेको छैन । तर, न्यायपालिकामा आँच आउन नदिनु हामी सबैको दायित्व हो ।’ ’न्यायाधीशहरूका भनाई सुनेपछि प्रधानन्यायाधीशले एकमुष्ठ जवाफ दिँदै राजीनामा नदिने स्पष्ट पारेका थिए ।

अब कस्तो विकल्पमा जाने ? 

संघर्षरत न्यायाधीशहरू रणनीति बनाउँदै
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अड्डी कसेपछि सहकर्मी न्यायाधीशहरू आगामी कदमबारे छलफलमा जुटेका छन् । औपचारिक रूपमै इजलास बहिष्कार गर्ने, अदालतमै नआउने, भद्र विरोध जनाउने वा अन्य विकल्पमा जाने भन्ने विषयमा उनीहरूले छलफल गर्ने बताएका छन् । बुधबार यसबारे सामूहिक धारणा बनाउन उनीहरू बैठक बस्दै छन् । 

मंगलबार जबरासँग आधा घन्टा छलफल गरेर बाहिरिएका न्यायाधीशहरूले केहीबेर बैठक बसेका थिए । जबराको नेतृत्वमा न्यायपालिका चल्न नसक्ने निष्कर्षलाई सार्थक परिणामसम्म पुर्‍याउन निरन्तर लाग्ने उनीहरूको निर्णय छ । यही विषयमा औपचारिक धारणा बनाउन उनीहरू बुधबार बिहान ११:३० बजे पनि बैठक बस्दै छन् । ‘अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलमै छौँ । भोलि बिहान बिहान पनि बैठक बस्छौँ । हाम्रो निष्कर्ष उहाँ(जबरा)को नेतृत्वमा न्यायपालिका चल्न सक्दैन भन्ने हो, त्यसमा हामी प्रस्ट छौँ,’ एक न्यायाधीशले भने । जबरालाई राजीनामाका लागि दबाब दिन नियमित इजलास बहिष्कार गर्ने न्यायाधीशहरूको रणनीति छ ।