मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ कार्तिक ९ मंगलबार ०६:४८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

फाइजर खोप १२ वर्षमाथिका  सबै दीर्घरोगीलाई लगाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ कार्तिक ९ मंगलबार ०६:४८:००

कोभ्याक्स सुविधामार्फत उपलब्ध भएको एक लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान आएको खोप १२ वर्षमाथिका सबै दीर्घरोगीलाई लगाइने भएको छ । यसअघि सञ्चालन भएको खोप धेरै दीर्घरोगीले लगाएकाले छुटेकालाई फाइजर लगाइने निर्णय भएको परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालले जानकारी दिए । 

१२ देखि १८ वर्ष उमेर समूहका सबै बालबालिकालाई फाइजर खोप लगाउने भनिए पनि सीमित खोप उपलब्ध भएकाले १२ वर्षमाथिका सबै दीर्घरोगीलाई लगाइने निर्णय गरेको लालले बताए । १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिका छन् । १२ वर्षमाथिका क्यान्सर, मिर्गौलालगायतका गम्भीर बिरामीलाई खोप लगाइने भएको छ । ‘हामीले अस्पतालहरूसँग १२ वर्षमाथिका दीर्घरोगीको संख्या एक साताभित्र उपलब्ध गराउन निर्देशन दिएका छौँ । खोप लगाउन बाँकी यस्ता दीर्घरोगी कति छन्, उनीहरूको संख्या हेरेपछि खोप तालिकामा पुनः विचार गरिनेछ,’ उनले भने ।

काठमाडौं उपत्यकामा विशिष्टीकृत सेवा प्रदान गर्ने अस्पतालहरू गंगालाल हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, ललितपुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, वीरेन्द्र सैनिक अस्पताल र धुलिखेल अस्पतालमा खोप केन्द्रमा सञ्चालन गरिनेछ ।

उपत्यकाबाहिर भने कोसी अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर अस्पताल, बिपी कोइराला क्यान्सर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पताल, सेती अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धवलागिरी अस्पताल, भेरी अस्पताल, डडेल्धुरा अस्पतालमा खोप केन्द्र चल्ने छ ।