मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ८ सोमबार ०६:१७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विमल र मच्छिन्द्रबीच सम्झौता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ८ सोमबार ०६:१७:००

सहिद स्माकर ए डिभिजन लिग फुटबल प्रतियोगिताको साबिक विजेता मच्छिन्द्र क्लबले युवा स्ट्राइकर विमल घर्तीमगरसँगको सम्झौता नवीकरण गरेको छ । २९ कात्तिबाट सुरु हुने ए डिभिजन लिगमा बलियो दाबेदारी दिने प्रयासमा रहेको मच्छिन्द्रले आइतबार विमलसँग सम्झौता नवीकरण गरेको हो । सम्झौता एक वर्षको रहनेछ । क्लबबाट उपाध्यक्ष अनिल श्रेष्ठ र विमलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

गत सिजन मच्छिन्द्रसँग आबद्ध भएका विमलले केवल एक खेल मात्र खेल्ने अवसर पाएका थिए । विमलले गत सिजन पनि मच्छिन्द्रबाट लिगको अन्तिम खेल खेलेका थिए । ०७६ को ए डिभिजन लिगमा एक खेल खेल्दै विमलले उपाधि उचाल्ने अवसर पाए । लिगको अन्तिम खेलमा मच्छिन्द्रले त्रिभुवन आर्मीसँगको प्रतिस्पर्धामा विमललाई उतारेको थियो । आर्मीविरुद्धको एक मात्र खेल खेलेर विमलले उपाधि जित्ने अवसर पाएका थिए ।

त्यसपछि, उनले मच्छिन्द्रबाट मोफसलका केही प्रतियोगितामा सहभागिता जनाएका थिए । तर, प्रशिक्षणका क्रममा विमलको घुँडामा चोट लाग्यो । गत पुसमा चोट बोकेका विमल उपचारका लागि कतार पुगेका थिए । अखिल नेपाल फुटबल संघले कतार फुटबल संघको सहयोगमा विमललाई कतारमा उपचार गराएको हो । दश महिना मैदानबाहिर रहेका विमल चोट निको हुँदै उत्कृष्ट पुनरागमन गर्ने तयारीमा छन् । 

लिगको साबिक विजेतासँग सम्झौता नवीकरण हुँदा दंग देखिएका विमलले क्लबलाई उपाधि दिलाउने प्रयास हुने बताएका छन् । ‘मेरो प्रयास नै मच्छिन्द्रलाई लिग च्याम्पियनसिपको उपाधि रक्षा गराउनु हो,’ विमलले भने, ‘यसका लागि निकै मिहिनेत गर्नेछु ।’ क्लबका उपाध्यक्ष अनिलले विमलको उपस्थितिले क्लब बलियो भएको बताएका छन् । ‘विमल राष्ट्रिय तथा घरेलु फुटबलकै अनुभवी खेलाडीमा पर्छन्, उनीजतिको अनुभवी खेलाडी अनुबन्ध गर्न पाउँदा हामी निकै खुसी छौँ,’ उपाध्यक्ष अनिलले भने, ‘अब विमलले आफूलाई प्रमाणित गर्ने समय आएको छ ।’ 

मच्छिन्द्रले लिगकै लागि विशाल राई, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, मनीष डाँगी, सुनील बललगायतका राष्ट्रिय टिमका खेलाडीलाई नयाँ सिजनका लागि क्लबमा अनुबन्ध गरिसकेको छ ।

 थ्री स्टारमा हेमन्त
यसैगरी, पूर्वविजेता थ्री स्टारले युवा खेलाडी मिडफिल्डर हेमन्त थापामगरलाई आइतबार अनुबन्ध गरेको छ । थ्री स्टारले आइतबार सामाजिक सञ्जालमार्फत मिडफिल्डर हेमन्तलाई क्लबमा अनुबन्ध गरिएको जनाएको हो । क्लबका अनुसार हेमन्तले थ्री स्टारसँग दुई वर्षको सम्झौता गरेका हुन् । हेमन्तले उमेरसमूहमा यू–१३, यू–१४ र यू–१६ को राष्ट्रिय टिमको नेतृत्व गर्दै खेलिसकेका छन् । सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण पदक जित्दा हेमन्त टोलीका सदस्य थिए । यसअघि हेमन्तले च्यासल युथ क्लबबाट लिग खेलेका थिए ।