मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ कार्तिक ७ आइतबार १८:०८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बेमौसमी वर्षाले ग्रामीण सडक चिराचिरा

Read Time : > 1 मिनेट
२०७८ कार्तिक ७ आइतबार १८:०८:००

बेमौसमी वर्षाले ग्रामीण क्षेत्रका सडक चिराचिरा भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि गाउँका सडकमा सवारीसाधन चलाउन समस्या भएको छ । 

वर्षाले ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण सवारी सञ्चालन गर्न समस्या भइरहेको चालकरू बताउँछन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि घरघरमा सडक पुग्ने गरी डोजरको अत्याधिक प्रयोग गरी बाटो खनिए पनि वर्षाको पानीले प्रायः सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् ।

जिल्लाको श्रीनगर–स्यानिखाल–मोखला, श्रीनगर–दहखोला, ढोरचौर–उचाल्ने–खार्वन, श्रीनगर–सालचौ–निगालचुँला, श्रीनगर–लक्ष्मीपुर–कालिमाटी, बागचौर–टाट्के–मखलम–पाथिहाल्ना, थारमारे–चोरपानी–जिमाली, लान्ती–कैचीमोड–चाँदनी गुफा, श्रीनगर–दार्मा, श्रीनगर–खलंगा–कुपिन्डे हँुदै सल्लीवजार, श्रीनगर–मोखला–दमाचौर, श्रीनगर–बाफुखोला, कपुरकोट–रिम–सिन्वाङ सडक खण्डमा कतै पहिरो झरेको छ त कतै खाल्डाखुल्डी छन् । ती सडकमा उच्च जोखिम मोलेर सवारीसाधन सञ्चालन भइरहेका छन् ।

स्थानीय तहले खनेका सडकमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ भने विगतका पुराना सडकमा स्तरोन्नतिको नाममा जथाभावी डोजर प्रयोग गर्दा पहिरोका कारण यातायात अवरुद्ध भएको दार्मा गाउँपालिकाका केसरी बुढाले बताइन्् । जिल्लाको ग्रामीण क्षेत्र कुरूप र कष्टकर मात्र होइन जोखिमयुक्त बनेको उनले बताइन् । 

सरकारी मापदण्डविपरीत वातावरणीय प्रभाव मूल्यांकनविना नै प्राविधिक दृष्टिले उच्च जोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गर्ने होडबाजीले जोखिम बढाएको छ । असार मसान्तमा नयाँ ट्रयाक खोलिएका तथा स्तरोन्नति गरिएका सडक योजनाका काम वर्षाको भेलसँगै बगेका छन् ।

चाडपर्वको समयमा नै ग्रामीण सडक बन्द भए पनि स्थानीय तहले सडक सुचारु गर्न कुनै पहल नगरेको बन्गाड कुपिन्डे नगरपालिका– ५ की गोपी सुनारले बताइन् । नगरभित्रका सबै सडक अवरुद्ध भएको उनले बताइन् । 

वर्षात्ले गाउँका सडक अवरुद्ध हुँदा स्थानीयलाई निकै सास्ती भएको छ । ग्रामीण सडक अवरुद्ध भएका कारण दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा बिरामी ओसारपसार गर्न समस्या भएको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखराका एम्बुलेन्सचालक यज्ञबहादुर केसीले बताए ।

कालिमाटी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रविलाल बस्नेतले खलंगा–लक्ष्मीपुर–कालिमाटी सडक खण्डमा झरेको पहिरो र खाल्डाखुल्डी पुर्ने काम भइरहेको बताए । 

सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले गाउँपालिकाभित्रका सडकहरूमा सामान्य पहिरो झरेको र केही स्थानमा सडक चिरा परेको भए पनि पूर्ण रूपमा अवरुद्ध भने नभएको बताए ।