मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ कार्तिक ७ आइतबार १२:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङमा आन्तरिक पर्यटकको चहलपहल 

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ७ आइतबार १२:३९:००

हिमाली जिल्ला मनाङमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। कोरोनाका कारण लामो समयदेखि पर्यटक पुग्न नसकेका कारण बन्द रहेका पदमार्गका होटेल सञ्चालनमा आएसँगै मनाङ पुग्ने पर्यटकहरूको संख्यामा वृद्धि आएको हो। 

महामारीले धराशायी बनेको पर्यटन व्यवसाय अब केही भए पनि उकालो लाग्ने पर्यटन व्यवसायी मनाङका अध्यक्ष विनोद गुरुङको भनाइ छ। पर्यटक आउन थालेसँगै दुई वर्षसम्म सुस्ताएको पर्यटन व्यवसायलाई अघि बढाउन सहज हुने पर्यटन व्यवसायीको भनाइ छ । 

पर्यटकलाई प्रवेश खुला गरिएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए। प्रवेश खुला गरिएपछि अहिले दैनिक रूपमा ५०–६० जना आन्तरिक पर्यटक मनाङ पुग्ने गरेका छन्। पर्यटकको आगमन बढेसँगै होटेल सञ्चालकहरूको व्यस्तता पनि बढ्न थालेको छ। कोरोनाका कारण दुई वर्षसम्म पर्यटक नआउँदा कामविहीन बनेका व्यवसायी अहिले पर्यटकको स्वागत–सत्कारमा व्यस्त छन्। गत वर्ष कोरोनाका कारण विदेशी पर्यटक मनाङ पुग्न नसके पनि अहिले विदेशी पर्यटक पनि मनाङ पुगेका छन्। 

मनाङमा रहेका झरना, स्याउबारी, हिमताल र नजिकै रहेका हिमशृंखलाले आफ्नो मन लोभ्याएको बेंसीसहरबाट पहिलोपटक मनाङ पुगेकी अस्मिता घिमिरेले बताइन्। मनाङमा यातायात सहज भएसँगै अहिले मनाङ सदरमुकाम चामेदेखि पिसाङ, मनाङ, उपल्लो मनाङ हुँदै बेसक्याम्प, तिलिचो र थोराङ्ला भञ्ज्याङसम्म पर्यटक पुग्ने गरेका छन्। 

असार १ को बाढीले चार महिनासम्म अवरुद्ध रहेको बेंसीसहर–चामे सडक सञ्चालन भएको एक सातामै अवरुद्ध बनेको थियो। असोज ३० गतेदेखिको निरन्तरको बेमौसमी वर्षाले अवरुद्ध बेंसीसहर–चामे सडक मर्मत गरिएको छ। जिल्लास्थित सुरक्षाकर्मी र स्थानीयले वर्षाले बिगारेको बाटो मान्छे हिँड्न र मोटरसाइकल पास हुने बनाएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । मनाङ हुँदै तिलिचो र थोरङ्ला पुग्ने पर्यटकको संख्या बढेको छ । चक्रिय अन्नपूर्ण पदमार्ग सुरक्षित भएकाले पर्यटकलाई मनाङ घुम्न आउन मनाङ प्रशासनले आग्रह गरेको छ।