मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शनिबार देशभरिका एमाले वडा कमिटी अधिवेशनको पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल उद्घाटन गर्दै अध्यक्ष केपी ओली
शुरोजंग पाण्डे काठमाडाैं
२०७८ कार्तिक ७ आइतबार ०७:५३:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कार्यदल संयोजकबाट भीम रावलको राजीनामाबारे अध्यक्ष ओलीको टिप्पणी- जिम्मेवारी पूरा गर्न नसकेपछि राजीनामा  दिनुभयो, धेरै महत्व दिन जरुरी छैन

Read Time : > 3 मिनेट
२०७८ कार्तिक ७ आइतबार ०७:५३:००

एमाले अध्यक्ष केपी ओलीले जिम्मेवारी पूरा गर्न नसकेर उपाध्यक्ष भीम रावलले दशबुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकबाट राजीनामा दिएको बताएका छन् । रावलको राजीनामालाई धेरै महत्व दिन आवश्यक नभएको उनको तर्क छ । 

‘उहाँ (रावल)ले राजीनामा केको गर्नुभो ? सहजीकरणको संयोजक हुनुहुन्थ्यो, सहजीकरण गर्न मैले सकिनँ, त्यसकारण मेरो राजीनामा भन्नुभो,’ रावलको राजीनामाबारे अध्यक्ष ओलीले शनिबार पत्रकारहरूसँग भने, ‘यो त्यत्रो ठूलो कुरा नै होइन, उहाँको राजीनामा लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन ।’ 

दशबुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाउँदै शुक्रबारको स्थायी समिति बैठकमा उपाध्यक्ष रावलले पाँच पृष्ठको असहमतिपत्र दिँदै कार्यदल संयोजकबाट राजीनामाको घोषणा गरेका थिए । तत्कालीन एमालेमा सुदूरपश्चिम इन्चार्ज रहेका रावलले आफ्नो हकमा सहमति लागू नगरिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । अध्यक्ष ओलीले भने संकटका वेला सांसद पद त्यागेर भए पनि आफूलाई साथ दिएकाले दशबुँदे सहमतिका नाममा पूर्वमाओवादी समूहतर्फका नेताहरूको जिम्मेवारी हेरफेर नगर्ने अडान राख्दै आएका छन् । 

अध्यक्ष ओलीले एमाले एकढिक्का रहेको दाबी गर्दै पार्टीमा कुनै समूह नरहेको बताए । विभाजन छोडेर एमालेमै बसेका रावलसहित स्थायी समितिका दश नेताहरूलाई सञ्चारमाध्यमहरूले तेस्रो धार समूह या दश नेताको समूहका रूपमा सम्बोधन गर्दै आएका छन् । 

तर, ओलीले भने पार्टीमा त्यस्तो समूह नै नरहेको बताए । ‘को दश भाइ ? दशजना भन्ने कुरा नै होइन नि ! दशजना माथिका साथीहरू हुनुहोला, अरू तलका हुनुहोला । दशजना र १२ जना भन्ने कुरै छैन । हाम्रो पार्टी एकदम एकढिक्का छ,’ दशबुँदे सहमति कार्यान्वयनको मागबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘बाँकी केही छ, त्यो हुन्छ ।’

गठबन्धन सरकार प्रतिगामी बाटोमा : ओली 

एमाले अध्यक्ष केपी ओलीले पाँच दलको गठबन्धन देशलाई स्वेच्छाचारिता र अस्थिरतातर्फ धकेल्ने प्रतिगामी बाटोमा लम्किएको बताएका छन् । शनिबार देशभरिका पार्टीका वडा कमिटी अधिवेशनको पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल उद्घाटन गर्दै ओलीले त्यस्तो बताएका हुन् । 

‘अहिले प्रतिगामी शक्तिहरू गठबन्धनको नाममा आइरहेका छन्, यो कुरामा कुनै भ्रम र दुविधा छैन, तीन महिनामै देखिइसकेको छ, देशलाई अस्थिरतामा धकेल्ने, स्वेच्छाचारी, मनपरीतन्त्र देशमा लागू गर्ने अनुशासनहीनता, अराजकता राज्यस्तरबाटै गर्ने विभिन्न क्रियाकलाप हामीले देखिरहेका छौँ, यो विपरीत बाटो हो, प्रतिगमनतर्फको बाटो हो,’ ओलीले भने ।

गठबन्धनले कम्युनिस्ट सरकार ढालेर दिशाहीन सरकार स्थापना गरेको ओलीको भनाइ थियो । ‘कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादीको पाउमा सेवा अर्पण गर्ने, दक्षिणपन्थी, जनविरोधी, दिशाहीन सरकार स्थापना गर्ने काम भएको छ,’ ओलीले भने ।

पार्टीले सम्पन्न गरेको विधान अधिवेशन सौहार्दपूर्ण र सर्वसम्मत ढंगले सम्पन्न भएकोमा विरोधीहरू अचम्मित बनेको दाबी गर्दै ओलीले छलफलै गर्न नपाएको जस्ता आधारहीन लाञ्छना लगाएको बताए । ओलीले पार्टीका नेता–कार्यकर्तालाई आचारण र व्यवहार परिवर्तन गर्दै जनमुखी बन्न निर्देशनसमेत दिए । आगामी निर्वाचनमा पार्टीले तीनवटै तहमा बहुमत ल्याउने गरी जुट्नसमेत ओलीले ध्यानाकर्षण गरे ।

‘समृद्ध नेपाल बनाउने अभियान अगाडि बढाउन तीनवटै तहको निर्वाचनमा बहुमत ल्याउने गरी जुट्नुपर्छ,’ ओलीले भने, ‘हामी अहिले पनि संघमा, ६ वटा प्रदेशमा ठूलो शक्तिका रूपमा मजबुतका साथ उपस्थित छौँ, अबको निर्वाचनमा बहुमतसहित उपस्थित हुन्छौँ ।’ 

अध्यक्ष ओलीले एमालेलाई कमजोर बनाउन अनेक हल्ला चलाइएको भन्दै त्यस्तो भ्रम जनतामा टुटिसकेको बताए । ‘एउटा हल्ला चल्यो अस्ति भर्खर । त्यो हल्ला अब कमजोर हुँदै गएको छ । तिनका स्याल हुइँयाहरू कमजोर हुँदै गएका छन् । तिनका आवाजहरू सुक्दै गएका छन् । हिजो नेकपा एमालेलाई सरकारबाट हटाएपछि एउटा हल्ला चल्यो । अब एमाले समाप्त भयो । एमाले युगको अन्त्य भो । अनेक प्रकारका भ्रमपूर्ण हल्लाहरू चलाइए । तर, म कमरेडहरूलाई भन्न चाहन्छु– ती बेकारका बलेँसीका पानी रहेछन् भन्ने कुरा स्पष्ट भइसक्यो,’ ओलीले भने । 

शनिबार सम्पन्न वडा अधिवेशनहरूबाट एमालेले पार्टीको तल्लो तहमा नयाँ नेतृत्व चयन गरेको छ । तत्कालीन माओवादी केन्द्रसँगको एकीकरण तीन वर्ष नपुग्दै टुटेपछि र पार्टी फुटेको करिब दुई महिनापछि एमालेले तल्लो तहको अधिवेशन आयोजना गरेको हो । वडा अधिवेशनपछि ९ कात्तिकमा एमालेले देशभरका सात सय ५३ वटै पालिकामा अधिवेशन सम्पन्न गर्दै छ । 

दशबुँदे भन्ने साथीहरूको बिजोग छ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दशबुँदे सहमति भनेर एमालेमै बसेका नेताहरूको स्थिति बिजोग भएको टिप्पणी गरेका छन् । पार्टीको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले अन्तिममा एमालेमै बस्ने नेताहरूलाई केपी ओलीले मानमर्दन गर्न थालेको बताए । ‘आदेशको पालन गर्‍यो भने स्याबास बस्न पाउँछ । पालना गरेन भने कति ट्याउँ–ट्याउँ गरेको दशबुँदेको भन्ने सुन्नुपर्छ । सुन्नुभयो कि भएन, दशबुँदेको ट्याउँ–ट्याउँ । दशबुँदे भन्ने साथीहरूको कस्तो हरिबिजोग । कुनै मर्यादा छैन, कुनै सम्मान छैन, छलफल छैन,’ उनले भने ।

अध्यक्ष नेपालले आफ्नो पार्टी अन्य पार्टीहरूसँग सहकार्य गरेर निर्वाचनमा जाने योजनामा रहेको दाबी गर्दै आगामी निर्वाचनमा केपी ओली गुटलाई समाप्त पार्ने दाबी पनि गरे । बागमती र प्रदेश १ मा छिटै नयाँ सरकार बन्ने उनले बताए । 

बागमतीमा राजेन्द्र पाण्डेको नेतृत्वमा र प्रदेश १ मा यही साता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार बन्ने अध्यक्ष नेपालले बताए । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल र एमाले चौथो दल भएको उनले बताए । केपी ओलीले ठूला गफ दिने गरेको बताउँदै उनले गिनिज बुकमा नाम लेखाउने प्रसंग कोट्याए । 

को–अर्डिनेसन केन्द्र स्थापना गर्ने नेताहरू समाजवादी पार्टीमै रहेको दाबी गर्दै नेपालले आफ्नो पार्टी नै मूल धारको कम्युनिस्ट पार्टी रहेको जिकिर गरे । ‘यो पार्टी अरूले बनाएको होइन, हामीले बनाएको हो । दाबाका साथ भन्दै छु, ३१ सालमा को–अर्डिनेसन केन्द्रको अपिल जारी गर्ने वेलामा कहाँ थिए यी व्यक्तिहरू ? पोलिटब्युरो, केकको घोषणा गर्दा ? त्यतिवेलाका योद्धा मुकुन्द न्यौपाने, झलनाथ खनाल अहिले पनि हाम्रो साथमा हुनुहुन्छ । म स्वयं तपाईंहरूको साथमा छु ।’