मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
चाल्स एम ब्लो
२०७८ कार्तिक ७ आइतबार ०७:४६:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकामा चाँडै विवाहितहरू अल्पसंख्यक हुँदै छन्

Read Time : > 3 मिनेट
चाल्स एम ब्लो
२०७८ कार्तिक ७ आइतबार ०७:४६:००

सरकारले विवाहितलाई सहुलियत दिने तर सिंगलहरूलाई दण्डित गर्ने नीति खुकुलो बनाउने कार्य बन्द गर्नुपर्छ 


म सानो हुँदा समाजका हरेक कुराको लक्ष्य विवाह भए झैँ देखिन्थ्यो । हरेक मानिसको विवाह हुने अपेक्षा हुन्थ्यो र त्यो अवश्यम्भावी ठानिन्थ्यो । अर्थात्, प्रत्येक व्यक्ति वयस्क भएपछि उसको एक न एक दिन मन मिल्ने सहयात्री भेट हुनेछ र त्यो सहयात्रीसँग विवाह भएर उसको घरजम हुन्छ भन्ने विश्वास बलियो थियो । समाजले व्यक्तिले एक दिन विवाह गर्छ भन्ने अपेक्षा मात्र गर्दैनथ्यो, विवाह गर्नु उसको कर्तव्य हो झैँ ठान्थ्यो । तर, तथ्यांकमा हेर्दा ती दिनमै पनि विवाह गर्नेको संख्यामा गिरावट आउन थालिसकेको थियो । 

म जन्मेको वर्ष सन् १९७० मा २५ देखि ५० उमेरसमूहका नौ प्रतिशत अमेरिकीले कहिल्यै विवाह गरेका थिएनन् । म वयस्क हुँदा त्यो दर २० प्रतिशतजति पुग्यो । आजकल केही मानिस ढिलो विवाह गर्न थालेका छन् भने कैयौँले विवाहलाई नै अस्वीकार गर्न थालेका छन् । विवाह नगर्नेको ट्रेन्ड घट्नुको साटो निरन्तर बढिरहेको छ । यो महीना प्यु रिसर्च सेन्टरले जारी गरेको सर्वेक्षणमा सन् २०१९ मा विवाह नहुने वा सिंगल बस्ने अमेरिकी वयस्क ३८ प्रतिशत देखायो । यो समूहमा कुनै समय विवाह भएर पछि सम्बन्धविच्छेद गरेका, छुट्टिएका वा सहयात्री गुमाएहरू पनि समावेश छन् । 

तर, जोडीविहीन जनसंख्याभित्र पनि विवाह नै नगर्नेको जनसंख्याको वृद्धि धेरै छ । यसअघि पनि नेसनल सेन्टर फर हेल्थ स्टेटिक्सले अमेरिकामा विवाह दर ऐतिहासिक स्तरमा न्यून रहेको देखाएको थियो । अर्थात्, यस्तो समय नजिकिँदै छ, जब अमेरिकामा विवाहित वयस्कभन्दा अविवाहितको संख्या धेरै हुँदै छ । यो परिवर्तनले परिवार तथा वयस्कपनको परिभाषालाई नै उल्लेख्य प्रभाव पार्नेछ । कर नीति तथा सुविधामा पनि यसको असर हुनेछ । निश्चित रूपमा फरक जनसांख्यिक समुदायमा अविवाहित र जोडीविहीन हिस्सा फरक देखिन्छ । प्यु रिसर्चले औँल्याउँदै भनेको छ– २५ देखि ५४ वर्ष उमेरसमूहमा सन् २०१९ मा ५९ प्रतिशत अश्वेत वयस्कहरू जोडीविहीन थिए । 
अश्वेत समुदायमा देखिने जोडिविहीन वयस्कको दर हिस्प्यानिक (३८ प्रतिशत), श्वेत (३३ प्रतिशत) र एसियाली (२९ प्रतिशत)को भन्दा बढी हो । अधिकांश जातीय समूहमा

महिलाभन्दा पुरुषको जोडीविहीन हुने सम्भावना बढी देखिन्छ । यसको अपवाद पनि अश्वेत वयस्क देखिन्छन् । यो समुदायका महिला (६२ प्रतिशत)हरू एक्लो हुने सम्भावना पुरुष (५५ प्रतिशत)मा भन्दा बढी देखिन्छ । एक समाजको रूपमा हामीले प्रश्न गर्ने वेला आएको छ, समाजको ठूलो हिस्सा (विशेषतः अश्वेत समुदायका मानिस)मा थोरैले मात्र विवाह रोजिरहेका छन् । तर, हाम्रो कर प्रणाली तथा अन्य नीति भने विवाहितहरूलाई सहुलित दिने हिसाबले निर्माण गरिएका छन् । 

विवाह सधैँ आदर्शवान् हुन्छ त ? अनि विवाह नगरेकोमा दण्डित गरे झैँ गरेर सिंगलहरूलाई बढी कर तिर्ने व्यवस्था निर्माण गर्नु कत्तिको जायज हुन्छ ? यसलाई सन् २०१३ मा ‘द एट्लान्टिक’मा लेख लेख्दै लिसा आर्नोल्ड र क्रिस्टिना क्याम्बेलले ‘इन्स्टिच्युपनलाइज्ड सिंगलिजम’को संज्ञा दिएका छन् । सन् २०१३ मा आर्नोल्डले तिनको विश्लेषण पूरा गर्दैगर्दा एक रोचक तथ्य फेला पारे । पूरा जीवनकालमा एक अविवाहित अमेरिकीले तिनको विवाहित समकक्षीभन्दा १० लाख डलरभन्दा बढी स्वास्थ्य सेवा, कर तथा अन्य विषयमा खर्च गर्ने रहेछन् । 

अमेरिकामा केही समयभित्रै विवाहित वयस्कभन्दा अविवाहित वयस्कको संख्या धेरै हुँदै छ । यो परिवर्तनले परिवार तथा वयस्कपनको परिभाषालाई उल्लेख्य प्रभाव पार्नेछ । कर नीति तथा सुविधामा पनि यसको असर हुनेछ ।

म पनि विवाहित थिएँ, तर अहिले छैन । मैले भविष्यमा पुनः विवाह गर्ने सोच बनाएको पनि छैन । अर्थात्, विवाह मेरो भावी लक्ष्यमा समेटिएको छैन । र, यसमा मलाई केही खराबी छ जस्तो पनि लाग्दैन । तर, म आफूवरपरका मानिसबाट आइरहने दबाबबाट पनि भलिभाती जानकार छु । यस्तो दबाब विवाहित मित्र अथवा विवाह गर्ने चाहना राख्नेहरूबाट बढी आउँछ । खासमा तिनमा जीवनमा साँच्चै खुसी हुन वा जीवनको पूर्णताको एउटै मार्ग विवाह हो भन्ने गलत धारणा देख्छु । विवाहले मात्र जीवनको लक्ष्यलाई एक गन्तव्यमा पु¥याउने तिनको जुन विचार हुन्छ, त्यसप्रति म सहमत हुन सक्दिनँ । 

मेरो विचारमा हरेकको खुसीको मान्यता फरक हुन्छ । मैले यस्ता धेरै देखेको छु, जो एक्लो भएर पनि खुसी छन्, अथवा पार्टनरसँग बसेका छन्, तर विवाह गर्न चाहँदैनन् । विवाहित तथा पार्टनरसँग बस्ने व्यक्तिको बालबच्चा छन् भने तिनको हुर्काइ र आय बचतमा जोडी हुनुको फाइदा हुने गर्छ । यसबारेमा सन् २०१४ मा ब्रुकिङ इन्स्टिच्युसनले व्याख्या गरेको थियो– विवाहित अभिभावकले हुर्काएका बालबालिकाले विद्यालयमा राम्रो प्रदर्शन गर्छन् । तिनको दिमागी तथा अन्य सीप पनि बलियो हुन्छ । भविष्यमा यस्ता बच्चाले उच्च शिक्षा हासिल गर्ने र धेरै कमाउने अत्यधिक सम्भावना हुन्छ । साथै, तिनकै विवाह पनि सबल हुने गर्छ । ब्रुकिङ्स सोसल जिनोम मोडेलको अंशको रूपमा हामी आफैँले विकास गरेका जीवनका विभिन्न चरणका सफलताको मापदण्डको प्रयोग गर्दा उही नतिजा हासिल ग¥यौँ । तर, बालबालिका नै नपाए वयस्क अथवा जसको बालबालिका नै वयस्क भइसकेका छन्, तिनको के त ? हामी चर्चा नै गर्दैनौँ ।

लन्डन स्कुल अफ इकोनोमिक्सका व्यवहारसम्बन्धी विषयका वैज्ञानिक पल डोलानका अनुसार औसतमा विवाहबाट पुरुषले फाइदा लिने सम्भावना बढी हुन्छ । किनकि, विवाहपछि पुरुषको उग्रता शान्त हुने र स्वभावतः धेरै गलत निर्णय लिएर फस्ने अवस्था कम हुन्छ । तर, औसतमा महिलाले उस्तै फाइदा हासिल गर्दैनन् । डोलानकै अनुसार सबैभन्दा खुसी उपसमूह कहिल्यै विवाह नगरेका अथवा बालबालिका नभएका महिला देखिएको छ । यी निष्कर्षमा प्रश्न उठाउने पनि भेटिन्छ । विवाह नगरी जिम्मेवार तथा संयमित रहने पुरुष धेरै भेटिन्छन् भने धेरै विवाहित आमाहरू तिनको परिवारमा रमेका हुन्छन् । विवाहका अन्य पक्ष जे भए पनि यसलाई विगतमा जुन आदर्शका साथ हेरिन्थ्यो, त्यसमा निकै ह्रास आएको छ । र, अविवाहितलाई हेर्ने नजर पनि बदलिँदै गएको छ, जुन राम्रो पनि हो । अब सरकारले पनि विवाहितलाई सहुलियत दिएर सिंगलहरूलाई दण्डित गर्ने नीति खुकुलो बनाउनुपर्छ ।