मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दीपेश पछाई लुम्बिनी
२०७८ कार्तिक ६ शनिबार १४:०३:००
Read Time : > 1 मिनेट
समाचार

दुई अर्ब ५० करोड बढीको बुद्धमूर्ति गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ल्याइयो

Read Time : > 1 मिनेट
दीपेश पछाई, लुम्बिनी
२०७८ कार्तिक ६ शनिबार १४:०३:००

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने दुई अर्ब पचास करोड बढी मूल्यको बुद्धमूर्ति शनिबार लुम्बिनी परिक्रमापछि विमानस्थल परिसरमा ल्याइएको छ। लुम्बिनी गार्डेन फाउन्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत गौतमबुद्ध विमानस्थलमा राख्नका लागि सो मूर्ति ल्याइएको फाउन्डेसनका महासचिव एकराज गिरीले बताए । 

लुम्बिनी गार्डेन फाउन्डेसनले म्यानमारका विभिन्न संस्थाहरूसँग समन्वय गरी म्यानमारबाट भारत हुँदै सो मूर्ति नेपाल ल्याएको थियो। उक्त मूर्तिलाई शनिबार सिद्धार्थनगर उद्योग वाणिज्य संघ, लुम्बिनी होटेल संघ, लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका, साइकल सिटी भैरहवालगायत विभिन्न संघसंस्थाहरूको समन्वयमा बेलहिया, भैरहवा साथै लुम्बिनी परिक्रमा गराइएपछि विमानस्थल परिसरमा राखिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वय अधिकृत तुल्सीप्रसाद लामिछानेले बताए । विभिन्न झाँकीसहित निकालिएको र्‍यालीले भैरहवा, लुम्बिनीलगायतका स्थानहरूको परिक्रमा गरेको र ठाउँ–ठाउँमा बुद्ध पूजासमेत गरिएको लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए । 

यस मूर्तिले म्यानमार र लुम्बिनीको सम्बन्धलाई थप मजबुत बनाएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिच्छु मैतेयले बताए । बुद्धमूर्तिलाई रूपैयाँसँग तुलना गर्न नहुने भन्दै उपाध्यक्ष मैतेयले गौतम बुद्धको सन्देश नै अमूल्य रहेको बताए। दुई अर्ब पचास करोड मूल्य पर्ने यस मूर्ति नेपालसम्म ल्याउँदा करिब तीन अर्ब पर्ने लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव गिरीले बताए। उनले मूर्तिलाई कात्तिक १४ गते राष्ट्रपतिमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको  जानकारी दिए । अर्थ र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार शुल्क नलाग्ने गरी मूर्ति नेपाल भित्र्याइएको पनि उनले जानकारी दिए। 
१८ सय किलोग्राम ताैल रहेकाे मूर्तिको उचाइ १ दशमलब ९ मिटर, चौडाइ ६० सेन्टिमिटर र मोटाइ एक मिटर रहेको छ । 

मूर्ति के बाट बनेको छ ? 
बहुमूल्य ढुंगा ह्वाइट जेड स्टोनबाट यस मूर्तिको निर्माण भएको छ । मूर्ति एउटै ढुंगाबाट तयार गरिएको छ। म्यानमारमा बनाइएको यस मूर्तिको मूल्य साढे दुई अर्बभन्दा बढी छ । म्यानमारमा पाइने बहुमूल्य ढुंगाको अन्तर्राष्ट्रिय बजारमा एक ग्रामको एक हजार दुर्इ सय हङकङ डलर पर्ने फाउण्डेसनले जनाएको छ । यो मूर्ति म्यानमारको संस्थाले लुम्बिनी गार्डेनलाई उपहार दिएको हो।