मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपक अधिकारी काठमाडाैं
२०७८ कार्तिक ५ शुक्रबार १४:१७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीको पीडा : बगर बन्यो विद्यालय

Read Time : > 1 मिनेट
२०७८ कार्तिक ५ शुक्रबार १४:१७:००

कोरोना संक्रमणका कारण दुई शैक्षिक सत्र प्रभावित बने। कोरोना महामारीलाई पछाडि धकेल्दै दसैँअघि खुलेका विद्यालय पुनः प्रभावित भएका छन्। जुम्लास्थित तातोपानी गाउँपालिका– ४ ठाँटाचौरस्थित नेत्रज्योति माध्यामिक विद्यालय अहिले बगरमा परिणत भएको छ। ३१ असोज बेलुकादेखि चार दिनसम्म आएको अविरल वर्षाको बाढीले विद्यालयलाई बगरमा परिणत गरेको हो। 

दसैँ बिदापछि विद्यालय सञ्चालनमा ल्याउने योजना थियो, तर बाढीले गर्दा विद्यालय केही समय खुल्न नसक्ने भएको प्रधानाध्यापक जाज्वल्यराज न्यौपानेले बताए। उनले भने, ‘बाढीले विद्यालय बगाएपछि विद्यालय हो कि बगर छुट्याउनै मुस्किल परेको छ। कक्षा १ देखि १२ सम्म पठनपाठन हुने विद्यालय अहिले बगरजस्तै देखिन थालेको छ। 
विद्यालयमा अहिले ६ सय ५५ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालय सञ्चालन गर्नका लागि १० कोठा आवश्यक छ। विद्यालयका ६ कोठा मात्रै बचेका छन्। बाढीले दुईकोठे विद्यालयको भवन बगाइसकेको छ। 

यो विद्यालय ०२० सालमा स्थापना भएको थियो। बाढीले विद्यालय बगर बनाएपछि पठनपाठन प्रभावित भएको छ। यो ठाउँमा सन् १९८४ सालमा पनि यस्तै बाढी आएको थियो, तर त्यतिवेला यो ठाउँमा  विद्यालय थिएन। स्थानीयका अनुसार बाढीले त्यतिवेला पनि यो ठाउँमा क्षति गरेको थियो।

प्रधानाध्यापक न्यौपानेका अनुसार विद्यालयको घेराबारा पर्खाल बग्दा ३५ लाख क्षति भएको छ। विद्यालयको खेलकुद मैदान बग्दा अनुमानित ६० लाख क्षति भएको छ। यस्तै, स्टोर गरिएको फर्निचरको आठ लाख, नयाँ निर्माणका लागि राखिएको फर्निचार चार लाख, जस्तापाताको तीन लाख, निर्माण सामग्री फलामे औजार दुई लाख ५० हजार, भवन निर्माणका लागि राखिएको फलामे सरिया ४५ हजार, नयाँ भवन निर्माण लागि राखिएका काठ पाँच लाख ५० हजार, राष्ट्रिय झण्डा राख्ने मञ्च ४०, हजार विद्यालयको शौचालय दुई लाख ५० हजार गरी एक करोड ६६ लाख ३५ हजारबराबरको क्षति अनुमान गरिएको छ। 

यसपटकको बेमौसमी बाढीले सबैभन्दा बढी नेत्रज्योति माध्यमिक विद्यालयमा क्षति भएको जुम्लाका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मकर भण्डारीले बताए। उनले भने, ‘तातोपानी गाउँपालिका– ७ लामाबजारस्थित जनजागृति माध्यमिक विद्यालयको दुईकोठे भवन पनि बगाएको छ । सोही वडाको बारागाउँस्थित आधारभूत विद्यालयमा पहिरो आउँदा क्षति पुगेको छ । यस्तै तिला गाउँपालिकाको नुवाकोट गाउँस्थित माध्यमिक विद्यालय सेतीवाडाको विद्यालय कोठाभित्र बाढी पसेर क्षति गरेको उनले बताए।