१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कञ्चनपुरको भीनपा-१३पिपरैया र दोधाराचाँदनी नपा १०सुर्खेती टोलका बाढीपीडित
मोहन विष्ट कञ्चनपुर
२०७८ कार्तिक ५ शुक्रबार १२:५९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरका बाढीपीडितले पाएनन् राहत, चाउचाउ, चिउरा र एक छाक खाना पाए 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ कार्तिक ५ शुक्रबार १२:५९:००

महाकाली नदीबाट विस्थापित दोधाराचाँदनी र भीमदत्त नगरका बाढीपीडितले संघ र प्रदेश सरकारबाट घोषणा गरिएको राहत नपाएको गुनासो गरेका छन्। बाढीबाट विस्थापित भएको चार दिन बितिसक्दा पनि कञ्चनपुरका बाढीपीडितले राहत नपाएका हुन्। 

आश्रय स्थलमा राहतका नाममा चाउचाउ, चिउरा र एक छाक खाना मात्रै खुवाएर घर पठाइने गरेको बाढीपीडितले गुनासो गरेका छन्। भीमदत्त नगरपालिका– १३ पिपरैयाकी सुनिता दमाईंले विस्थापित भएको चार दिन बितिसक्दा पनि राहत नपाइएको गुनासो पोखिन्। 

‘बाढीबाट विस्थापित भएको चार दिन भयो,’ उनले भनिन्, ‘सरकारले आश्रय स्थलमा चाउचाउ, चिउरा र एक छाक खाना दियो, तेस्रो दिन घर फर्किएँ।’ 

बाढीले घरमा भएको अन्नसमेत नष्ट भएको बताउँदै उनले दैनिक गुजारा गर्न धौधौ भइरहेको बताइन्। पिपरैयाकै भीमलाल दमाईंले बाढीले अन्नबाली, धनजनको क्षति भएको बताउँदै राहत नपाएको बताए। 

‘कात्तिक १ गते घर डुबानमा परेर विद्यालयमा गएका हौँ,’ उनले भने, ‘त्यहाँ खाना दियो, घर फर्किँदा रासन भिजेर नष्ट भयो, के खाने।’ 

दोधाराचाँदनी नगरपालिका– १० सुर्खेती टोलका तोया थापामगरले राहतको नाममा एक किलो चामलसमेत नदिएको बताए। ‘घरखेत पूरै डुबेर नष्ट भयो,’ उनले भने, ‘जसोतसो आश्रयस्थलमा गएका थियौँ, त्यहाँ त खाना दियो, घरमा पुग्दा के खाने चिन्ता भइरहेको छ ।’ 

दोधाराचाँदनीकै सेतु सुनारले पनि आश्रयस्थलमा खाना पाए पनि घर फर्किँदा अन्न सबै भिजेकाले सडकमै सुकाउन बाध्य भएको बताइन्। ‘अझै पनि घरभित्र, आँगन, खेतभरि पानी छ,’ उनले भनिन्, ‘पानीले भिजेको अन्न सडकमा ल्याएर सुकाइरहेकी छु।’ 

महाकाली नदीका कारण भीमदत्त नगरपालिका क्षेत्रमा भुजेला  र दोधाराचाँदनीमा जोगबुढा नदी गाउँ पसेर डुबान र कटान भइरहेको छ। तटीय क्षेत्रका स्थानीय कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बाढीपीडित घर फर्किन लागेको बताए।

निमित्त प्रमुख भण्डारीले भीमदत्त नगरपालिका क्षेत्रका बाढीपीडित घर फर्किएको बताए। 
‘दोधाराचाँदनीका झन्डै ४०–५० परिवार घर फर्किन बाँकी छ, उनीहरू पनि एक–दुई दिनमै फर्किन्छन्,’ उनले भने। त्यस्तै, भण्डारीले राहत वितरणका लागि स्थानीय तहमार्फत तथ्यांक माग गरिएको बताए।