१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सम्राट चौधरी
२०७८ कार्तिक ५ शुक्रबार ०८:५४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

धार्मिक राजनीतिको जाँतोमा पिसिन बाध्य बंगाली 

Read Time : > 2 मिनेट
सम्राट चौधरी
२०७८ कार्तिक ५ शुक्रबार ०८:५४:००

भारतका हिन्दू दक्षिणपन्थी र बंगलादेशका मुसलमान दक्षिणपन्थीले बंगलादेशमा अल्पसंख्यक हिन्दूमाथि भइरहेका आक्रमणको घटनालाई आफ्नो राजनीतिक रोटी सेक्न जोडतोडले उछालिरहेका छन् 


बंगलादेशमा हिन्दूमाथि भइरहेका हमला पीडादायी छन् । यी हमलासँग जोडिएको स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मानवद्वेषी एवं विनाशकारी धार्मिक राजनीतिले पीडा थपेको छ । प्राप्त सूचनाअनुसार समस्या कोमिल्लाको ननुवा दिघी भन्ने पोखरीस्थित दुर्गापूजाको पन्डाल÷मण्डपमा रहेको हनुमानको मूर्तिमा कुरान पाइएपछि सुरु भएको हो । पूजामा कुरान रहेको देखाउने भिडियो भाइरल भएपछि मुसलमान अतिवादीलाई स्थानीय हिन्दूविरुद्ध आक्रमण गर्ने बहाना प्राप्त भयो । 

यो समाचारमा दुई अस्वाभाविकता भेटिन्छन्, जसले हिंसालाई संदिग्ध बनाइदिएका छन् । पहिलो, दुर्गापूजाको पन्डालमा हनुमान, राम, लक्ष्मण र सीताका मूर्ति किन थिए ? मैले आफ्नो जीवनभर दुर्गापूजाको मण्डपमा हनुमान, राम, लक्ष्मण र सीताका मूर्ति राखेको थाहा पाएको छैन । यो निश्चित रूपमा बंगाली हिन्दू संस्कृति होइन । यस्तो किसिमको पूजा बंगालमा कहीँ कतै भेटिँदैन । यस्ता पूजा यदाकदा उत्तर भारततिर भने देख्न सकिन्छ । दोस्रो, समस्या खडा गर्ने हिन्दू वा मुसलमान वा नास्तिक जोसुकैले पनि स्वभावतः हनुमानको मूर्तिमा कुरान राख्न सक्छ । त्यस अर्थमा हनुमानको मूर्तिमा कुरान नियतवश राखेको अनुमान गर्न कठिन छैन । लौ ठीक छ, केही गरी हनुमानको मूर्तिमा कुरान पुग्यो, त्यसो हुँदा कुरानलाई शान्त एवं सम्मानपूर्वक किन हटाइएन । भिड जम्मा गरेर भिडियो किन खिचियो ? प्रहरी बोलाएर हंगामा गर्नुको कारण के थियो ? 

बंगलादेशी मुसलमान दक्षिणपन्थीहरू जहिल्यै यस्ता घटना र समस्या सिर्जना गर्न उद्यत रहन्छन् । केही वर्षयता बंगालदेशमा यी समूह राजनीतिक रूपमा क्षीण हुँदै गइरहेका छन् । बंगलादेशमा अर्को वर्ष राष्ट्रिय आमचुनाव भइरहेको छ । त्यस सन्दर्भमा यी अतिवादी चुनावी मौकाको खोजीमा लागिपरेका छन् । दक्षिण एसियामै प्रायः अल्पसंख्यकको दानवीकरण गरेर यस्तो मौकाको फाइदा उठाइन्छ । भारतमा पनि हिन्दू अतिवादीले विगत सात वर्षदेखि अल्पसंख्यकको दानवीकरण गरिरहेका छन् । बंगलादेशमा भएको हिन्दू अल्पसंख्यकमाथिको आक्रमण भारतका दक्षिणपन्थीहरूलाई लाभदायक भएको छ । भारतमा भारतीय जनता पार्टी (भाजपा) समर्थकले पूजा पन्डालमा भएका हिंसाको तस्बिर एवं भिडियोलाई सामाजिक सञ्जालका भित्तामा फैलाइरहेका छन् । उनीहरू बंगलादेशमा हिन्दूलाई बाँच्ने आधार छैन भन्ने प्रचार गरिरहेका छन् ।        

यस्ता सन्देश फैलाउन पाउँदा भाजपा समर्थक निकै खुसी महसुस गर्छन् । एकजनाले ह्वाट्सएप समूहमा बंगलादेशमा हिन्दूको ‘नरसंहार’ भइरहेको भनेर सन्देश पठाइरहेका थिए । मैले बंगलादेशमा अहिले भएको हिंसामा दुईजना मात्रै मारिएका हुन् र यो नृशंस हत्या भए पनि नरसंहार भन्न मिल्दैन भनेर जवाफ फर्काएँ । सन्देश पठाउने ती व्यक्ति मसँग निकै क्रुद्ध भए । सम्भवतः मृतकको संख्या बढेको भए ती व्यक्ति खुसी हुने थिए । राजनीतिक रूपमा बंगालदेशका हिन्दूमाथि भएको हिंसा भाजपा

वा संघ परिवारमा आबद्ध हिन्दू दक्षिणपन्थी समूहका लागि वरदान नै सिद्ध भएको छ । बंगलादेशका हिन्दूमाथि भएको हिंसाले भारतमा सन् २०१९ मा ल्याइएको नागरिकतासम्बन्धी विवादित कानुनलाई जायज ठहर्‍याइदिएको छ । वास्तवमा भारतका हिन्दू दक्षिणपन्थी र बंगलादेशका मुसलमान दक्षिणपन्थीले यो समस्यालाई आफ्नो राजनीतिक रोटी सेक्न जोडतोडले प्रयोग गरिरहेका छन् । हालैका घटनालाई हेर्ने हो भने वास्तविक पीडित बंगलादेशका बंगाली हिन्दू हुन् ।   

अहिलेको घटनामा भारतीय उपमहाद्वीपमा सन् १९४७ को रक्तरञ्जित विभाजन ल्याउने हिन्दू महासभा र मुस्लिम लिगको घिनलाग्दो राजनीतिको पुनरावृत्ति देखिन्छ । नागपुर, राष्ट्रिय स्वयंसेवक संघको केन्द्रीय कार्यालय भएको ठाउँका हिन्दूलाई कहिल्यै शरणार्थी हुने जोखिम थिएन । जोखिममा पूर्वी–बंगाल (हालको बंगलादेश) मा बस्ने मेरा हजुरबुबा परे, जो विभाजनको तीतो परिणाम भोग्न बाध्य भए । सन् १९७१ मा बंगलादेशमा पाकिस्तानले मच्चाएको नरसंहारमा असंख्य बंगालीको हत्यापछि बंगाल विभाजन निचोडमा पुग्यो । पाकिस्तानी जनरल याया खानले पूर्वपाकिस्तान (हालको बंगलादेश) मा रहेकाहरूलाई सत्तामा कायम राखेर शेख मुजिब जस्ता बंगालीलाई उपेक्षा गरे । त्यसमा पनि हिन्दूहरू ‘घुन बनेर पिसिनेहरू’ बन्न पुगे ।

जब भाजपालाई लोकसभा चुनाव जित्नु थियो, उनीहरूले नेसनल रजिस्टर अफ सिटिजन्स र नागरिकता संशोधन विधेयकको बखेडा झिके, जसले उत्तरपूर्वी भारत र बंगलादेशका बंगाली हिन्दू एवं मुसलमानलाई ठूलो क्षति पुर्‍यायो । त्यतिवेला फेरि एकपटक बंगालीहरू घिनलाग्दो राजनीतिक खेलका प्युसा बन्न पुगे । अहिले सेख हसिनालाई तह लगाउने उद्देश्यले हिन्दू अल्पसंख्यकमाथि उत्पीडन हँुदै छ । बंगाल क्षेत्रका राजनीतिक उद्यमीका लागि कहिलेसम्म धर्मको राजनीति चलिरहन्छ र बंगालीहरू घुन बनेर पिसिइरहन्छन् ?ढाका ट्रिब्युनबाट