Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
कृष्ण रिजाल काठमाडौं
२०७८ कार्तिक ५ शुक्रबार ०८:१२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बेमौसमी वर्षाले धान नष्ट हुँदा अर्थतन्त्रमै धक्का

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७८ कार्तिक ५ शुक्रबार ०८:१२:००

आर्थिक वृद्धिको लक्ष्य प्रभावित हुने, धानको आयात बढ्न सक्ने

बेमौसमी वर्षा र त्यसबाट निम्तिएको बाढीका कारण देशभरको धानबालीमा पुर्‍याएको क्षतिको असर मुलुकको अर्थतन्त्रमै देखिने भएको छ । अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिदै आएको धानबाली नष्ट हुँदा मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी)देखि आर्थिक वृद्धि समेत प्रभावित हुने देखिएको हो । 

नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को आकार ४२ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको छ । यसमा कृषि क्षेत्रको योगदान २५.८३ प्रतिशत रहेको छ । कृषिमा पनि धानको योगदान करीब २० प्रतिशत रहेको तथ्यांक विभागका निर्देशक इश्वरी प्रसाद भण्डारीले जानकारी दिए । अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने धान बालीमा भएको क्षतिले जीडीपीदेखि आर्थिक वृद्धिको लक्ष्य समेत प्रभावित हुन सक्ने उनको भनाई छ । 

आईतवारदेखि शुरु भएको बेमौसमी वर्षाले देशभरको धानबालीमा क्षति पुर्‍याएको छ । देशका अधिकांश भुभागको धानखेतीमा वर्षा र त्यसबाट सिर्जित बाढी पहिरोले ठूलो क्षति पु¥याएको हो । लगातारको बेमौसमी वर्षाका कारण पाक्न लागेको धान, पाकिसकेको धान तथा काटेर खेतमै राखिएको धानलाई नष्ट गरिदिदा किसानले ठूलो नोक्सान बेहोर्नु परेको छ । 

अहिलेको बेमौसमी वर्षा र त्यसबाट निम्तिएको बाढीले अर्थतन्त्रलाई धक्का दिएको योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ बताउँछन् । चालु आर्थिक वर्षको बजेट निर्माणमा समेत भूमिका खेलेका श्रेष्ठले धानबालीमा भएको क्षतिकै कारण लक्षित आर्थिक वृद्धि हासिल हुन नसक्ने बताए । 

‘यस वर्ष रोपाई धेरै भएको थियो, १० प्रतिशतले धान उत्पादन बढ्ने र यसले  आर्थिक वृद्धिमा २ प्रतिशत योगदान मिल्ने अनुमान थियो’ उनले भने, ‘तर, बेमौसमी वर्षाका कारण २० प्रतिशत धानबाली नष्ट भएको कुरा आएको छ, अब पोहोरको भन्दा धान उत्पादन १० प्रतिशतले घट्ने देखिन्छ, जसको प्रभाव आर्थिक वृद्धिमा समेत पर्ने छ ।’ धानबालीमा भएको क्षतिले आर्थिक वृद्धि लक्ष्यभन्दा दुई प्रतिशत बिन्दुले कम हुन सक्ने उनले बताए । 

खासगरी मौसम पूर्वानुमान विश्वस्नीय नहुँदा र कृषि क्षेत्रलाई समयमै स्पष्ट पूर्वसूचना नदिदा धानबालीमा ठूलो क्षति पुगेको श्रेष्ठ बताउँछन् । ‘धानबालीमा भएको ठूलो क्षतिले अर्थतन्त्रमै धक्का दिएको छ’ उनले भने, ‘यसवर्ष कृषितर्फबाट ३ प्रतिशत बिन्दु र अन्य क्षेत्रबाट ४ प्रतिशत बिन्दु प्रतिशत वृद्धि हुने आंकलन थियो, यदि २० प्रतिशत धानबालीमा क्षति पुगेको हो भने आर्थिक वृद्धिमा २ प्रतिशत बिन्दुले गिरावट आउने छ, अन्य कुरा यथावत रहेमा यस वर्ष ५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुन सक्छ ।’ अब पानीमा डुबेका धानको संरक्षण  कसरी गर्ने भनेर सम्बन्धीत निकायले किसानलाई सिकाउनुपर्ने उनको भनाई छ ।

धान–चामल आयात बढ्न सक्ने 
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ५० अर्ब ७८ करोड रुपैयाँबराबरको धान–चामल आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । जुन अघिल्लो आर्थिक वर्ष २०७६/७७ को भन्दा ५०.९ प्रतिशतले बढी हो । नेपालले भारत, अमेरिका र चीनबाट धान–चामल आयात गरेको छ । यस अवधिमा सबैभन्दा बढी भारतबाट ५० अर्ब ४७ करोडको धान–चामल आयात भएको छ । त्यस्तै, अमेरिकाबाट २४ करोड तीन लाख र चीनबाट ६ करोड ७१ लाख मूल्यबराबरको धान–चामल आयात भएको तथ्यांक छ । अब धानबालीमा पुगेको क्षतिका कारण उत्पादन कम भई आयात अझ बढ्न सक्ने देखिन्छ । 

आर्थिक वृद्धि लक्ष्यभन्दा दुई प्रतिशत बिन्दुले घट्न सक्छ : मीनबहादुर श्रेष्ठ पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग 
यस वर्ष रोपाई धेरै भएको थियो, १० प्रतिशतले धान उत्पादन बढ्ने अनुमान थियो यसले आर्थिक वृद्धिमा २ प्रतिशत योगदान मिल्ने अनुमान गरिएका थिए । तर, बेमौसमी वर्षाका कारण २० प्रतिशत धानबाली नष्ट भएको कुरा आएका छन्, यसलाई हेर्दा अब पोहोरको भन्दा धान उत्पादन १० प्रतिशतले घट्ने देखिन्छ, जसको प्रभाव आर्थिक वृद्धिमा समेत पर्ने छ । धानबालीमा भएको ठूलो क्षतिले अर्थतन्त्रमै धक्का दिएको छ । यसवर्ष कृषितर्फबाट ३ प्रतिशत बिन्दु र अन्य क्षेत्रबाट ४ प्रतिशत बिन्दु प्रतिशत वृद्धि हुने आंकलन थियो, यदि २० प्रतिशत धानबालीमा क्षति पुगेको हो भने आर्थिक वृद्धिमा २ प्रतिशत बिन्दुले गिरावट आउने छ, अन्य कुरा यथावत रहेमा यस वर्ष ५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुन सक्छ । खासगरी मौसम पूर्वानुमान विश्वस्नीय नहुँदा र कृषि क्षेत्रलाई समयमै स्पष्ट पूर्वसूचना नदिदा धानबालीमा ठूलो क्षति पुगेको हो । अब पानीमा डुबेका धानको संरक्षण  कसरी गर्ने भनेर सम्बन्धीत निकायले किसानलाई सिकाउनुपर्छ । 

जीडीपीमा ४ प्रतिशत योगदान धानको छ, नष्ट हुँदा अर्थतन्त्रको आकार र आर्थिक वृद्धि प्रभावित हुन्छ : इश्वरी प्रसाद भण्डारी निर्देशक, केन्द्रीय तथ्यांक विभाग 
बेमौसमी वर्षाका कारण धानबाली नष्ट हुँदा त्यसको असर अर्थतन्त्रमा समेत पर्ने छ । हाम्रो कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा  कृषि क्षेत्रको योगदान करीब २५ प्रतिशत रहेको छ । कृषिभित्र धानको योगदान १८ देखि २० प्रतिशतको हाराहारीमा रहेको देखिन्छ । समग्रमा कुल जीडीपीमा धानको योगदान करीब ४ प्रतिशत रहेको देखिन्छ । बेमौसमी वर्षा र त्यसबाट आएको बाढी पहिरोका कारण धानबाली नष्ट हुँदा कुल उत्पादन नेगेटिभ हुने छ । सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य समेत प्रभावित हुन सक्छ । यद्यपी, अहिलेसम्म क्षतिको आधिकारिक तथ्यांक नआईसकेका कारण अर्थतन्त्रमा के कति असर पर्छ भन्ने एकीन गर्न सकिदैन । तर, अहिलेको सिनारियोले नै अर्थतन्त्रको आकार र आर्थिक वृद्धि प्रभावित हुने देखाउँछ ।