मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ५ शुक्रबार ०६:३३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ उपविजेता नेपालको फिफा वरीयता खस्कियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ५ शुक्रबार ०६:३३:००

२८ वर्षे इतिहासमा पहिलोपटक साफ फुटबलको फाइनलमा पुगे पनि नेपालले ताजा फिफा वरीयताअनुसार एक स्थान गुमाएको छ, ताजा वरीयताअनुसार नेपाल १६९औँ स्थानमा छ 

१३औँ दक्षिण एसियाली फुटबल (साफ) प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी उपविजेता बनेको नेपालले फिफा वरीयतामा स्थान सुधार गर्न भने सकेन । विश्व फुटबलकै सर्वोच्च निकाय फिफाले विहीबार जारी गरेको पुरुष वरीयतामा नेपाल एक स्थान ओरालो लागेको छ ।

ताजा वरीयताअनुसार नेपाल १६९औँ स्थानमा छ । १६ सेप्टेम्बरको फिफा वरीयतामा नेपाल १६८औँ स्थानमा थियो । दक्षिण एसियाली वरीयतामा भने नेपालको तेस्रो स्थान यथावत् नै छ । 

नेपालले नौ सय ७२ रेटिङ प्राप्त गरेको छ । गत साता माल्दिभ्सको मालेमा सम्पन्न १३औँ साफ च्याम्पिनसिपमा नेपालले पाँच खेल खेलेको थियो । नेपालले दुई जित, दुई हार र एक बराबरी नतिजा निकाल्यो । सेप्टेम्बर महिनामा नेपालले भारतसँग दुर्ई मैत्रीपूर्ण खेल खेल्दा एक बराबरी र एकमा हार सामना गरेको थियो । साफ इतिहासको २८ वर्षपछि फाइनल पुगेको नेपाल भारतसँग ३–० ले पराजित भएको थियो ।

दक्षिण एसियामा भारत शीर्ष स्थानमा 
आठौँपटक साफ च्याम्पियनसिप उपाधि उचालेको भारत दक्षिण एसियामा शीर्ष स्थानमा छ । भारत विश्व वरीयतामा भने १०६ स्थानमा रहेको फिफाले जनाएको छ । भारतले एक स्थान सुधार गरेको छ । भारतले एक हजार एक सय ८२ रेटिङ अंक बटुलेको छ । पछिल्लोपटकको वरीयतामा भारत एक सय सातौँ स्थानमा थियो । 

यसैगरी, साफ च्याम्पियनसिपको राउन्ड रोबिन लिगबाटै बाहिरिएको तत्कालीन साबिक विजेता तथा आयोजक माल्दिभ्स दक्षिण एसियामा दोस्रो तथा विश्व वरीयताको १५६औँ स्थानमा छ । माल्दिभ्सले एक हजार ३० रेटिङ अंक हात पारेको छ । यसैगरी, भुटान १८६औँ स्थानमा छ । बंगलादेश १८७औँ र पाकिस्तान १९७औँ स्थानमा छ । 

पाकिस्तान र भुटानले साफ च्याम्पियनसिपमा सहभागिता जनाएका थिएनन् । यद्यपि, पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी नभए पनि भुटान र पाकिस्तानले फिफा वरीयतामा सुधार गरेका छन् । साफको राउन्ड रोबिन लिगबाटै बाहिरिएको श्रीलंका २०४औँ स्थानमा छ ।