Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ कार्तिक ४ बिहीबार ११:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा बैठकअघि विपक्षीसँग समझदारी हुन्छ : सभामुख

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ कार्तिक ४ बिहीबार ११:०३:००

सभामुख अग्निप्रसाद सापकोटाले ११ कात्तिकमा हुने प्रतिनिधिसभा बैठक सहज रूपमा सञ्चालन हुने संकेत गरेका छन् । लामो समयदेखि विपक्षी दल एमालेबाट अवरुद्ध संघीय संसद् सहमतिमा सञ्चालन हुन लागेको उनले जनाउ दिए । 

‘विपक्षी दलसँग मेरो अनौपचारिक छलफल भइरहेको छ,’ एमालेको अनुरोधमा ९ कात्तिकको बैठक ११ गतेलाई सारिएको बताउँदै सापकोटाले भने, ‘प्रतिनिधिसभा बैठकअघि समझदारीमा पुग्ने प्रयत्न गरिनेछ ।’ सरकार र गठबन्धनका नेताले पनि विपक्षीसँग संवाद सुरु गरेकोले समझदारी बन्नेमा आशावादी रहेको उनले प्रस्ट्याए । 

चौतारा साँगाचोकगढी नगरपालिका– ४ मा रहेको कुबिण्डे दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २९औँ वार्षिक साधारणसभामा आएका सापकोटाले संवादको विकल्प नभएको स्पष्ट पारेका हुन् । कुबिण्डे उनी जन्मेको पुरानो गाउँ हो । संसद् अवरुद्ध भए पनि त्यसबीचमा विधेयक पास भएको उनले बताए । ‘विधेयक पास भए पनि अन्य कुरा बाँकी छन् । त्यसका लागि विपक्षीसँग समझदारी आवश्यक छ,’ उनले भने, ‘संसद्लाई जीवन्त राखेर लोकतन्त्रको रक्षा गर्नु हामी सबैको जिम्मेवारी हो ।’ 

सभामुख भएको दुई वर्षसम्म संविधान रक्षाका लागि जीवनमरणको संघर्ष गर्नुपरेको उनले स्मरण गरे । संसद्लाई गतिशील र जीवन्त राख्न लागिरहेको बताउँदै उनले कानुन निर्माणमा समय खर्चने बताए । दुईपटक संसद् विघटन भयो  । जनताको संघर्षबाट दुईपटक नै संसद् पुनर्स्थापना भयो । त्यसवेला भौतिक मृत्युको पनि पर्वाह नगरेको उनको कथन थियो ।

संविधानको रक्षा र देशको समृद्धिका लागि लागिरहेको दाबी गर्दै उनले भने, ‘कानुन ठीक ढंगले लागू भएको छ कि छैन । सर्वोच्च अदालतबाट कानुन कार्यान्वयनमा भएको कामको अनुगमन पनि गरिररहेको छु ।’ सभामुख सापकोटा जनयुद्धमा भूमिगत हुनुपूर्व उनकै पहलमा ०४९ सालमा यो संस्थाको स्थापना भएको थियो । कुबिण्डेमा दूध चिस्यान केन्द्र स्थापना गरेर त्यस आसपासका किसानलाई लाभ दिने योजना रहेको छ ।