मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पिटर मास
२०७८ कार्तिक ४ बिहीबार ०८:५७:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मृत्युपछि पावेलको महिमागान

Read Time : > 3 मिनेट
पिटर मास
२०७८ कार्तिक ४ बिहीबार ०८:५७:००

कोलिन पावेललाई निधनपश्चात् ‘ट्रेलब्लेजर’ अर्थात् अग्रदूत भनेर जयजयकार गरिँदै छ । निश्चित रूपमा पावेल अग्रदूत हुन् । आप्रवासी परिवारमा हुर्केका पावेल खाडीयुद्धमा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा अमेरिकी सेनाका प्रमुख थिए । त्यसपछि उनै राष्ट्रपति बुसका पालामा अमेरिकाका पहिलो अश्वेत विदेशमन्त्री पनि भए । कोभिड–१९ का कारण ८४ वर्षमा निधन भएका पावेलका नाममा समकालीनहरूले प्रशंसाको पुल बाँधेका छन् । ‘कोलिन पावेल अघिल्लो पुस्ताका अमेरिका सेनाका चम्किला नक्षत्र हुन्’ अवकाश प्राप्त नौसेनाध्यक्ष जेम्स स्टाभिर्डिस लेख्छन् । त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध परिषद्का प्रमुख रिचार्ड हास पावेललाई आफूले भेटेको ‘सबैभन्दा बौद्धिक व्यक्ति’का रूपमा सम्झिन्छन् ।    

 तर, इराकको बुझाइ भिन्नै छ । सम्भवतः दसौँ लाख इराकी सन् २००८ मा बग्दादको एक पत्रकार सम्मेलनमा राष्ट्रपति जर्ज डब्ल्यु बुसलाई जुत्ता प्रहार गरेर चर्चित भएका मुन्तधार अल जैदीको भावनालाई आत्मसात् गर्छन् । पावेलको निधनपछि जैदीले इराक अतिक्रमणको अपराधका लागि पावेलले सजाय नपाएकोमा दुःख व्यक्त गरेका थिए । ‘ईश्वरको अदालतको कठघराले पावेललाई कुरिरहेको छ भन्नेमा म ढुक्क छु’ जैदीले ट्विटरमा लेखेका थिए ।

आफ्नै कृत्यमाथि पछुतो मानेका पावेलका अमेरिकी साथीले उनका कर्तुतलाई हल्का रूपमा प्रस्तुत गरेका छन् । ५ फेबु्रअरी २००३ मा पावेलले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा ७६ मिनेट लामो भाषण गरेर बुस प्रशासनको इराक अतिक्रमणलाई जायज ठहर्‍याए । उनले इराकका राष्ट्रपति सद्दाम हुसेन गोप्य रूपमा मानवताविरोधी हतियार निर्माणमा लागेको दाबी गरे । उनले आफ्नो दाबीलाई पुष्टि गर्न ठूलै आत्मविश्वाससाथ हतियार निर्माण भइरहेको झल्को दिने स्याटेलाइट तस्बिरहरू सार्वजनिक गरे । उनले इराकमा घातक जैविक हतियार एन्थ्य्राक्स पनि सञ्चय गरिएको दाबी गरे ।

 पावेलका सबै दाबी मनगढन्त र झुटा थिए । अर्थात् इराकलाई कब्जा गर्नुपर्ने कुनै कारण थिएन । तैपनि, पावेलको मनगढन्ते दाबीका आधारमा बुस प्रशासनले इराकमा कब्जा जमायो । नतिजा, लाखौँ इराकी र चार हजारभन्दा बढी अमेरिकी सेनाले ज्यान गुमाए । उसो त अमेरिकामा बुसका पालाका पावेलजस्ता मानवताविरोधी अधिकारीको कमी छैन ।

डिक चेनी, डोनाल्ड रम्सफिल्ड, कोन्डोलिजा राइस, जर्ज टेनेट, पौल वोल्फोविज र स्वयं राष्ट्रपति बुसलाई विश्व जगत्ले बिर्सिनेछैन । पावेल ह्वाइट हाउसका तर्फबाट इराकमा भएको नरसंहारकारी अतिक्रमण रोक्न सक्ने क्षमता राख्थे तर उनी असफल भए । अघिल्लो वर्ष बुस क्याबिनेटका सदस्य एवं लेखक रोबर्ट ड्रेपरले लेखेको एक लामो लेखअनुसार इराक कब्जा गर्ने बुसको व्यक्तिगत महत्वाकांक्षालाई अस्वीकार गरेर राष्ट्र संघमा पावेलले झुटो दाबी नगरेको भए उनले पदबाट बढीमा राजीनामा गर्नुपथ्र्यो तर इराक युद्ध भने निम्तिने थिएन । 

पावेलले झुटा दाबी नगरेका भए इराक अतिक्रमणलाई जायज ठहर्‍याउने गरी अन्यत्रबाट समर्थन ओइरिँदैनथ्यो होला । अर्थात् तत्कालीन बेलायती विदेशमन्त्री ज्याक स्ट्रले इराक अतिक्रमणमा अमेरिकालाई साथ दिँदैनथे होला । ड्रेपर लेख्छन्– इराक युद्धमा सन्देह गर्ने उच्चपदस्थ सैन्य अधिकारीले त्यस कदमविरुद्ध बोल्ने साहस गर्थे र गुप्तचर निकायले मामिलाको पुनः छानबिन गर्थे होला । ‘विपक्षी डेमोक्य्राटले समेत मध्यावधि चुनावमा इराक युद्धविरुद्ध आवाज उठाउन सक्थे,’ ड्रेपर थप्छन् । पावेलले चाहेको भए इराक अतिक्रमण रोक्न सक्थे तर उनी बुसविरुद्ध जान सकेनन् । पावेलले ड्रेपरलाई खुलेरै भनेका थिए, ‘मसँग के विकल्प थियो ? उनी (बुस) मेरा राष्ट्रपति थिए ।’ 

कुनै समयमा आफ्नै कृत्यमाथि पछुतो मानेका पावेलका अमेरिकी समकक्षीले उनलाई ‘अग्रदूत’ भन्दै उनका कर्तुतलाई हल्का रूपमा प्रस्तुत गरेका छन् 
 

उपयुक्त मौकामा गलत कामविरुद्ध बोल्न सक्ने आँट पावेलमा मात्रै होइन, कैयौँ अमेरिकी सैन्य अधिकारीमा खड्किन्छ । इराक र अफगानिस्तान इतिहासमा अमेरिकी जर्नेललाई नायक बनाइएका प्रशस्तै कथा भेट्न सकिन्छ, तर आफ्ना वरिष्ठ अधिकारीका गलत कामविरुद्ध बोल्ने अधिकारी औँलामा गन्न सकिने पनि छैनन् । यिनै गलतविरुद्ध बोल्न नसक्ने सैन्य अधिकारीका कारण ९ सेप्टेम्बर २००१ यता दसाैँ लाख मानिस मारिएका या घाइते बनाइएका छन् ।

पावेलले सन् २००४ मा बुस प्रशासनबाट राजीनामा दिए, तर आफ्नो गल्तीको जिम्मेवारी लिएनन् । राजीनामा दिएको वर्ष दिनपछि चर्चित पत्रकार बार्बारा वाल्टर्ससँगको एक अन्तर्वार्तामा राष्ट्र संघमा गरेको दाबी आफ्नो कार्यकालको ‘पीडादायी’ क्षण र ‘धब्बा’ रहेको स्विकारेका थिए । प्रशासन त्यागेको लामो समयपश्चात् गरेको सो स्वीकारोक्तिको खासै अर्थ भने थिएन ।         .                  
पावेलले भनेको ‘धब्बा’ले अमेरिकामा उनको इज्जत–प्रतिष्ठामा कुनै आँच आएन । त्यसको ठीक विपरीत इराक विध्वंसका कारण उनले कर्पोरेट दुनियाँमा राम्रै स्थान हासिल गरे र आरामदायी जीवनयापन गरे । पावेल सेल्सफोर्स र ब्लुम इनर्जीका सञ्चालक समितिका सदस्य रहे र क्लेनर पर्किन्स भेन्चर क्यापिटलिस्ट संस्थाका ‘रणनीतिक सल्लाहकार’ समेत भए ।

उसो त यी निगममा जोडिनुअगाडि उनको आत्मवृत्तान्त ‘माई अमेरिकन जर्नी’मा उनले ६० लाख डलर धन उपार्जन गरिसकेको उल्लेख गरेका थिए । यो आर्थिक समृद्धिका कारण अवकाश प्राप्त जर्नेलमाझमा उनी अग्रदूत नै थिए । अश्वेत समुदायको मानिसले उच्चस्तरको सफलता पाएको भन्दै केहीले उनलाई अग्रदूतका रूपमा हेरेका छन्, यद्यपि उनीबाट भएको युद्ध अपराध अक्षम्य छ । प्राज्ञ एवं पत्रकार मार्क लामोन्ट हिल भन्छन्, ‘व्यक्तिगत रूपमा पावेल एक असल मानिस भए पनि हामीले पावेल कैयौँ मानिसको मृत्यु एवं मुलुकको सम्प्रभुतामाथिको अतिक्रमणका लागि जिम्मेवार एक सैन्य नेता हुन् भन्ने बिर्सनुहुन्न ।’ 
द इन्टरसेप्टबाट