१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ कार्तिक ४ बिहीबार ०८:३६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मनाङ प्रशासनद्वारा पर्यटकलाई तिलिचो र थोरङ्ला जान रोक

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ४ बिहीबार ०८:३६:००

निरन्तरको वर्षा र हिमपातका कारण जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्गअन्तर्गत थोरङ्ला र संसारकै बढी  उचाइमा रहेको तिलिचो ताल जान रोक लगाएको छ । मौसम सुधार नभएसम्म पर्यटकलाई गन्तव्यतर्फ जान रोक लगाइएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए ।

उनले भने, ‘अन्नपूर्ण पदमार्गमा पर्यटकीय सिजन सुरु भएसँगै थोरङ्ला र तिलिचो जाने पर्यटकको संख्या बढेको छ, तर निरन्तरको वर्षाका कारण माथिल्लो क्षेत्रमा हिमपात भएकाले दुर्घटनाको जोखिम बढेकाले पर्यटकलाई त्यसतर्फ जान रोक लगाइएको हो ।’ तिलिचो र थोरङ्ला जान आएका आन्तरिक पर्यटक र विदेशी पर्यटकले मनाङका होटेल भरिभराउ भएको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । उनले भने, ‘मौसममा खराबी आएकाले केही दिनका लागि पर्यटकलाई होटेलमै बस्न र मौसममा सुधार नआएसम्म नहिँड्न आग्रह गरिएको छ ।’

मौसममा सुधार नआएसम्मका लागि पर्यटकलाई माथिल्लो मनाङको माथिल्लो क्षेत्रमा जान रोक लगाइएको छ भने माथिल्लो क्षेत्रमा पुगेका पर्यटकलाई जहाँको त्यहीँ सुरक्षित अवस्थामा बस्न आग्रह गरिएको प्रजिअ आचार्यको भनाइ छ । कोरोनाका कारण ठप्प रहेको पर्यटन व्यवसाय दसैँ बिदा मनाउन आएका आन्तरिक पर्यटक र सिजन सुरु भएपछि  आएका विदेशी पर्यटकको आगमन बढेसँगै मनाङका पर्यटन व्यवसायी खुसी भएका थिए ।

तर, निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा पर्यटन व्यवसायीलाई थप निराश बनाएको होटेल व्यवसायी अस्मिता गुरुङ बताउँछिन् । उनी भन्छिन्, ‘कोरोनाले थलिएको पर्यटन बिस्तारै लयमा फर्कन थालेको थियो । निरन्तरको वर्षा र बाढीपहिरोका कारण थप चिन्तित बनायो ।’ निरन्तरको वर्षाका कारण हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र  बेंसीसहर–चामे सडकसमेत अवरुद्ध भएको छ ।