Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अबुधावी
२०७८ कार्तिक ४ बिहीबार ०८:३०:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट : नेदरल्यान्ड्समाथि नामिबियाको ऐतिहासिक जित

Read Time : > 2 मिनेट
अबुधावी
२०७८ कार्तिक ४ बिहीबार ०८:३०:००

नामिबियाले आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो चरणमा नेदरल्यान्ड्समाथि ६ विकेटको ऐतिहासिक जित दर्ता गरेको छ । नामिबियाले आइसिसी–२० क्रिकेटमा पहिलो जितका रूपमा नेदरल्यान्ड्सको सिकार गरेको हो ।

अबुधावी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गरी २० ओभरमा चार विकेटको क्षतिमा एक सय ६४ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नामिबियाले १९ ओभरमा चारै विकेटको नोक्सानीमा एक सय ६६ रन जोड्दै समूह एमा दुई अंक हात पार्‍यो । 

डेभिडको विस्फोटक इनिङ्स
लक्ष्य पछ्याएको नामिबियाको इनिङ्समा दायाँहाते ब्याट्सम्यान डेभिड विसेले विस्फोटक ब्याटिङ गरे । उनले केवल ४० बलमा ६६ रन बटुल्दा नेदरल्यान्ड्सले एक सय ६५ रनको लक्ष्य रक्षा गर्न सकेन । म्यान अफ दी म्याच डेभिडले आफ्नो इनिङ्समा चार चौका र पाँच छक्का प्रहार गरेका थिए । उनले जे स्मितसँग पाँचौँ विकेटका लागि २.१ ओभरमा २१ रनको साझेदारी गरे । स्मितले आठ बलमा दुई चौकाको सहयोगमा १४ रन बटुले । लोगान भान विकले फ्याँकेको १९औँ ओभरमा स्मितले लगातार दुई बलमा चौका प्रहार गर्दै नामिबियालाई जित दिलाए । बलिङमा नामिबियाका लागि फेद क्लासेन, कोलिन, टिम भान तथा पिटर सेलारले एक–एक विकेट हात पारे । 

९३ रनको साझेदारी
नामिबियाको ब्याटिङमा डेभिड र गेरार्ड इरास्मुसबीच तेस्रो विकेटका लागि ९३ रनको मजबुत साझेदारी भएको थियो । यही साझेदारी नै नामियिबाको जित आधार बन्यो । इनिङ्सको एक समय नामिबिया ८.२ ओभरमा ५२–२ को अवस्थामा थियो । त्यसपछि डेभिड र गेरार्डले उत्कृष्ट साझेदारी गरे । गेरार्डले २२ बलमा चार चौका र एक छक्का प्रहार गरी ३२ रनको योगदान दिए । यसबाहेक ओपनर स्टेफन बार्डले १९, जाने ग्रिनले १५ तथा क्रेज विलियम्सले ११ रनको योगदान दिएका थिए । 

ओपनर चम्केको इनिङ्स
पहिलो चरणको आशा जीवितै राख्न नेदरल्यान्ड्सले नामिबियाविरुद्ध राम्रो खेल्नुपर्ने बाध्यता थियो । हारले प्रतियोगिताबाट बाहिरिने अवस्थामा नेदरल्यान्ड्स थियो । पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि तीन ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे । विशेषतः नेदरल्यान्ड्सको ब्याटिङ इनिङ्समा ओपनर म्याक ओ डाउड चम्के । उनले स्टेफन म्याइबर्गसँग ५.४ ओभरमा ४२ रनको साझेदारी गरे । स्टेफानले १६ बलमा १७ रन बटुले । 

त्यसपछि म्याक्सले कोलिन अककेरामसँग तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै टोलीलाई १७.४ ओभरमा १३७÷३ को बलियो अवस्थामा राखे । कोलिनले ३२ बलमा समान एक चौका र छक्का प्रहार गरी ३५ रन बनाए । म्याक्सले स्कट एडवार्डसँग चौथो विकेटका निमित्त २० रनको साझेदारी गरे । उनले आफ्नो विकेट इनिङ्सको १९.३ ओभरमा गुमाए । विकेट गुमाउनुअघि म्याक्सले ५६ बलमा ६ चौका र एक छक्का प्रहार गरी सर्वाधिक ७० रन बटुलेका थिए । यद्यपि, उनको यो इनिङ्सले नेदरल्यान्ड्सलाई जित दिलाउन सकेन । लगातार दोस्रो हारसँगै नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएको छ । 

बंगलादेशको आशा जीवितै
टी–२० विश्वकपअन्तर्गत समूह बीको पहिलो चरणमा बंगलादेशले ओमानलाई २६ रनले हराउँदै अर्को चरणमा प्रवेश गर्ने आशा जीवितै राखेको छ । ओमानसँग पराजित हुँदा बंगलादेशको यात्रा पहिलो चरणसम्म मात्रै सीमित हुने थियो । यसकारण नै बंगलादेशले उत्कृष्ट फर्ममा रहेको ओमानसँग गर या मरको अवस्थामा प्रतिस्पर्धा गरेको हो । 

बंगलादेशले पहिलो ब्याटिङ गरी २० ओभरमा सबै विकेट गुमाएर एक सय ५३ रनको मध्यम योगफल खडा गर्‍यो । ओमानले २० ओभरमा नौ विकेट गुमाएर एक सय २७ रन मात्र जोड्यो । बंगलादेशमाथि जित हात पार्दा ओमान अर्को चरणमा प्रवेश गर्ने सम्भावना बलियो हुने थियो । 

सकिव र मोहमदले जिताए
एक सय ५४ रनको लक्ष्य रक्षा गर्न आएको बंगलादेशका लागि अलराउन्डर सकिव अल हसन र मोहमद सैफुदिनले उत्कृष्ट बलिङ गरे । सकिवले चार ओभरमा २८ रन खर्चेर तीन विकेट लिए । मोहमदले ३६ रन खर्चंदै सर्वाधिक चार विकेट हात पारे । यी दुवै बलरले मध्य तथा पुछारका ब्याट्सम्यानलाई एकपछि अर्को गरी पेभेलियन पठाउँदा ओमानको ब्याटिङ एकाएक कमजोर भयो । 

इनिङ्सको एक समय ओमान १२.६ ओभरमा ९०/४ को बलियो अवस्थामा थियो । यहाँबाट ओमानले बंगलादेशमाथि ऐतिहासिक जित निकाल्न सक्थ्यो । तर, ओपनर तथा मुख्य ब्याट्सम्यान जतिन्दर सिंहलाई गुमाउँदा ओमान हारतर्फ लम्कियो । अर्कोतिर, सकिव, मोहमद र मस्ताफिजुर रहमानले १३औँ ओभरपछि ओमानका ब्याट्सम्यानलाई चल्नै दिएनन् । जतिन्दर आउट भएपछि ओमानले १२ रन जोड्दा पाँच विकेट गुमायो । ओमान एकैपटक ९०–४ बाट ११२–९ को दयनीय अवस्थामा पुग्यो । सो इनिङ्समा जतिन्दरले ३३ बलमा चार चौका र एक छक्का प्रहार गरी ४० रन बनाए ।

यसअघिको ब्याटिङमा बंगलादेशका लागि ओपनर मोहमद नैम र सकिवले इनिङ्स उकासेका थिए । मोहमदले ५० बलमा तीन चौका र चार छक्का प्रहार गरी सर्वाधिक ६४ रन जोडे । सकिवले २९ बल सामना गरी ६ चौकाको सहयोगमा ४२ रनको योगदान दिए । बंगलादेशका आठ ब्याट्सम्यानले दोहोरो रन नै बनाउन सकेनन् ।