१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कमल खत्री म्याग्दी
२०७८ कार्तिक ४ बिहीबार ०७:५०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुस्ताङ भ्रमणमा निस्किएका पर्यटकलाई सास्ती 

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७८ कार्तिक ४ बिहीबार ०७:५०:००

दसैँको अवसरमा मुस्ताङ भ्रमणमा आएका पर्यटकहरूले सास्ती व्यहोरेका छन् । चार दिनसम्म परेको अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–३ को राहुघाटको पहिरो, अन्नपूर्ण गाउँपालिका–३ को काभ्रेभिर पहिरो र मुस्ताङको मार्फा खोलामा आएको बाढीका कारण घन्टाैँसम्म सडक अवरुद्ध हुँदा पर्यटक, यात्रु र स्थानीयवासीले सास्ती व्यहोरेका हुन् । 

दसैँको टीकाको दिनदेखि नै म्याग्दी हुँदै मुस्ताङको भ्रमणमा दैनिक दुईदेखि तीन हजारकोे संख्यामा पर्यटकहरू भित्रिएका थिए । राहुघाटमा सडकमाथिबाट खसिरहने पहिरो र हिलाम्मे सडकका कारण अधिकांश सवारीसाधन सडकमै फस्ने समस्याले यात्रुहरूले घन्टौँसम्म जामको सामना गर्नुपरेको स्थानीय होटेल व्यवसायी मिम थकालीले बताए । मुस्ताङबाट फर्किएका पोखराका अमिर केसीले पहिरोले सडक बिग्रँदा पाँच घन्टासम्म जाममा परेको बताए । राहुघाटमा तीन दिनयता घन्टौँसम्म एक किलोमिटर लामो सवारीसाधनको जाम हुने गरेको छ । 

राहुघाटको पहिरोले बेनी–जोमसोम सडक हुँदै मुस्ताङको भ्रमणमा जाने पर्यटकसँगै म्याग्दीको रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका स्थानीयवासीलाई जिल्ला सदरमुकाम बेनी आवतजावत गर्नसमेत सास्ती भएको छ । राहुघाट र काभ्रेभिरको पहिरोमा यात्रुहरूलाई सहजीकरण गर्न प्रहरी नियमित रूपमा खटिएको र सडकलाई सामान्य रूपमा सञ्चालनमा ल्याउन सम्बन्धित निर्माण कम्पनीलाई ताकेता गरिए पनि उनीहरूले बेवास्ता गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । 

‘‘गलेश्वरको राहुघाट पहिरो पन्छाउन सडक निर्माण गर्ने ठेकेदारलाई ताकेता गर्दा पनि सम्भव भएको छैन, अहिले प्रहरीले नै यात्रुहरूलाई सहजीकरण गर्ने काम गरेको छ, तर प्रहरीको प्रयासले मात्रै सडकलाई सहज बनाउन सम्भव छैन’, उनले भने । 

त्यसैगरी, मुस्ताङको मार्फा खोलामा आएको बाढीले सवारीसाधन वारपार गर्ने अस्थायी पुल पुरेपछि पर्यटकहरूको यात्रा कष्टकर बनेको छ । पुल पुरिएपछि सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सवारीसाधन वारपार गराउँदा पर्यटकहरूले घन्टौँसम्म जामको सामना गर्नुपरेको नेपाल पत्रकार महासंघ मुस्ताङका सचिव सुशील थकालीले जानकारी दिए ।