१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
क्याथी केली
२०७८ कार्तिक ३ बुधबार ०९:३३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नोबेल पुरस्कारले सतहमा ल्याएको बहस 

Read Time : > 2 मिनेट
क्याथी केली
२०७८ कार्तिक ३ बुधबार ०९:३३:००

खोज पत्रकारिता गरिरहेका र लोकतन्त्रका लागि जोखिम मोलिरहेका दुईजना पत्रकारलाई पुरस्कृत गरेर नोबेल कमिटीले नयाँ बहसको थालनी गरिदिएको छ


म आजभन्दा ३२ वर्षपहिले जर्मनीको बर्लिन पर्खाल भत्काइएको घटनाको रिपोर्टिङ गरिरहेकी थिएँ । सो घटनालाई पश्चिमा उदार लोकतन्त्रको विजय एवं ‘इतिहासको अन्त्य’को द्योतक मानिन्छ । तर, अहिले विश्वभरि लोकतन्त्रको प्रदर्शन निकै दयनीय छ । लोकतन्त्रको स्थिति यति खराब भइसकेको छ कि दुईजना पत्रकारलाई ८ अक्टोबर २०२१ मा पुरस्कार घोषणा गर्दा नोबेल पुरस्कार कमिटीले खस्किँदो लोकतन्त्रबारे एक चेतावनीयुक्त बयान नै जारी गर्‍यो ।

नर्वेली नोबेल कमिटीकी अध्यक्ष बेरिट रेइस–एन्डरसेनले मारिया रेस्सा र दिमित्री मुरातोभलाई पुरस्कार प्रदान गर्दा ‘पत्रकारद्वय सबै पत्रकारका प्रतिनिधि हुन्’ भनेकी थिइन् र ‘विश्वमा लोकतन्त्र एवं प्रेस स्वतन्त्रता दिनानुदिन खराब हुँदै गएको’ टिप्पणी गरेकी थिइन् । रुसको नोभाया गजेटाका सह–संस्थापक मुरातोभ र फिलिपिनी समाचार संस्था र्‍याप्लरका प्रमुख कार्यकारी निर्देशक रेस्सालाई नोबेल पुरस्कार प्रदान गरिनुले महत्वपूर्ण अर्थ राख्छ । यो पुरस्कार प्रदानले किन पनि अर्थ राख्छ भने पुरस्कारले आ–आफ्ना मुलुकका शक्तिशाली एवं अधिनायकवादी शासकका चुनौतीका बाबजुद पनि पत्रकारिता गरिरहेका पत्रकार–जगत्कै मनोबल उकासेको छ । पुरस्कार घोषणापछि एक अन्तर्वार्तामा रेइस–एन्डरसेनले ती मुलुकलाई ‘विश्वले हेरिरहेको’ भनेर टिप्पणी गरेकी थिइन् ।

एन्डरसेनको ‘मिडियाविना बलियो लोकतन्त्र सम्भव नभएको’ भन्ने अभिव्यक्तिका माध्यमबाट नोबेल कमिटीले अर्को महत्वपूर्ण सन्देश दिएको छ । दुवै पुरस्कृत पत्रकारले संकटमा परेको नागरिक समाजको चित्र उजागर गरेका छन् । नोबेल पुरस्कार कमिटीले ‘हालको रुसको सबैभन्दा स्वतन्त्र पत्रिका’ नोभाया गजेटाका सम्पादक मुरातोभका ६ जना सहकर्मी पत्रकारले रुसी राष्ट्रपति भ्लादमिर पुटिनको आलोचनामा काम गरेकै कारण ज्यान गुमाएका छन् । सिएनएनकी पूर्व–रिपोर्टरसमेत रहेकी रेस्सा रोड्रिगो दुतेर्ते सरकारबाट अनौपचारिक यात्रा प्रतिबन्ध झेलिरहेकी छिन् । रेस्साको समाचार वेबसाइट र्‍याप्लरमाथि थुप्रै मुद्दा लगाइएका छन् । र, उनलाई हरेकपटक विदेश भ्रमण गर्न न्यायाधीशहरूको अनुमति आवश्यक पर्छ ।

रेस्साले हालै मलाई एक न्यायाधीशले ‘नाइँ’ भनेका कारण पुरस्कार ग्रहण गर्न आफू समयमै ओस्लो नपुग्ने जानकारी गराएकी थिइन् । मलाई विश्वास छ, रेस्सा निकै धैर्यवान् व्यक्ति हुन् । उनले हार मान्ने छैनन् । पूर्वी–युरोपको सर्वसत्तावादी सत्ताहरूको पतन भएको तीन दशकपछि अन्धकार एवं असहिष्णुताका शक्तिहरू फेरि टाउको ठड्याउन लागेका छन् र पत्रकारहरू यो अन्धकार एवं असहिष्णुताको तारो बन्न पुगेका छन् । साउदी पत्रकार एवं लेखक जमाल खसोग्गीको हत्यादेखि बेलारुसी पत्रकारलाई पक्राउ गर्न व्यावसायिक हवाईजहाज दुरुपयोगलगायत घटनाले पत्रकारमाथि हुने हमला बढ्दो देखिन्छ । यस किसिमको हमलाले कुनै विचारधारा चिन्दैन, अर्थात् पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मिडियाप्रतिको रबैयालाई आलोचक एवं पत्रकार थुन्ने निकारागुवाका वामपन्थी नेता ड्यानिएल ओर्टेगाको प्रवृत्तिसित तुलना गर्न सकिन्छ ।    

आज अभिव्यक्ति स्वतन्त्रतालाई ‘युजुअल सस्पेक्ट’ सधैँको संदिग्ध अर्थात् सरकारी सेन्सरसिपबाट मात्रै खतरा रहेको छैन । अहिले अभिव्यक्ति स्वतन्त्रतामाथि हुने खतरा आफूलाई अभिव्यक्ति स्वतन्त्रताकै रक्षक भन्ने सामाजिक सञ्जालले सिर्जना गरिरहेका छन् । र, यी सञ्जाल मिथ्या सूचना र प्रोपागान्डा फैलाउनेहरूको नियन्त्रणमा रहेका छन् भन्ने कसैबाट छिपेको छैन ।   

लोकतन्त्रमाथिको हमलाको अपराधको भागेदार रहेका यी सामाजिक सञ्जालको पर्दाफास सम्भवतः मारिया रेस्साले सबैभन्दा धेरै गरेकी छिन् । सूचना प्राविधिकका नाताले रेस्साले फेसबुकसँगै मिलेर समाचार वेबसाइट खोलेकी थिइन् । अहिले रेस्सा फेसबुकले आफ्नो स्वतन्त्रतामाथि नै हमला बोलेको आरोप लगाइरहेकी छिन् । नोबेल पुरस्कार कमिटीकी अध्यक्ष रेइस–एन्डरसेन अन्तर्वार्तामा ‘अभिव्यक्ति स्वतन्त्रतामा विरोधाभास’ रहेको बताउँछिन् ।

रेस्सा र मुरातोभलाई पुरस्कृत गर्नु अभिव्यक्ति स्वतन्त्रताका विरोधाभास चिर्नु हो भन्ने उनको प्रस्टोक्ति हो । प्रेस स्वतन्त्रताको पैरवी गर्ने संस्थाको सट्टा दुईजना व्यक्तिलाई किन पुरस्कृत गरिएको भन्ने प्रश्नमा एन्डरसेनले रेस्सा र मुरातोभलाई विचारपूर्वक नै पुरस्कृत गरिएको बताएकी छिन् । एन्डरसेनका अनुसार उनीहरूको ‘पत्रकारिता उच्चस्तरको रहेको’ र उनीहरूले पत्रकारिताको ‘गोल्डन स्ट्यान्डर्ड’ अर्थात् सुनौलो स्तरको प्रतिनिधित्व गर्छन् ।  

तर, यो सुनौलो स्तर दिनानुदिन जोखिममा पर्दै गइरहेको छ, यसका लागि मूलतः डिजिटल क्रान्ति जिम्मेवार छ, जसले सार्वजनिक सेवा प्रदायक पत्रकारितालाई तहसनहस गरिदिएको छ । ‘स्वतन्त्र र तथ्यमा आधारित पत्रकारिताले शक्तिको दुरुपयोग रोक्न सहयोग गर्छ’ एन्डरसेनले पुरस्कार घोषणा गर्ने वेला भनेकी थिइन् । तर, तथ्यलाई मूलभूत रूपमा सामाजिक सञ्जालमा भर्ने सामग्री ‘कन्टेन्ट’ले अवमूल्यन गरिरहेको छ । यी कन्टेन्ट अपारदर्शी अल्गोरिदमका नियन्त्रणमा छन्, जसले मिथ्या सूचना, विभाजन र घृणालाई प्रोत्साहन गर्छ ।

यो समस्याले सम्पूर्ण नीति–निर्माता र उनीहरूले प्रतिनिधित्व गर्ने लोकतन्त्रलाई चुनौती दिइरहेको छ । सामाजिक सञ्जाललाई नियमनसँगै अभिव्यक्ति स्वतन्त्रताको रक्षा कसरी गर्ने ? ठूलो संख्यामा जनशक्ति संलग्न रहेको पत्रकारितालाई प्रोत्साहनसँगै स्वतन्त्र पत्रकारितालाई कसरी जोगाउने ? यी प्रश्नको सहज उत्तर छैन । तर, लोकतन्त्रलाई एक सुरुवाती बिन्दुका रूपमा हेर्न सकिन्छ । अन्त्यमा, खोज पत्रकारिता गरिरहेका र लोकतन्त्रका लागि जोखिम मोलिरहेका दुईजना पत्रकारलाई पुरस्कृत गरेर नोबेल कमिटीले नयाँ बहसको थालनी गरिदिएको छ । द कन्भर्सेसनबाट