मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दसैँ बिदा मनाउन नेपालकै नमुना गाउँ काउलेपानी  होमस्टेमा पुगेका आन्तरिक पर्यटक । 
दीपक अधिकारी काठमाडाैं
२०७८ कार्तिक २ मंगलबार १७:३४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँ बिदा मनाउन आएका पर्यटकले लमजुङका होमस्टे भरिए

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २ मंगलबार १७:३४:००

लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरूमा बढ्न थालेको छ । दसैँमा हुने लामो बिदामा धेरै व्यक्ति विभिन्न स्थानमा घुम्न निस्किन्छन् । लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैँ मनाउने आन्तरिक पर्यटकको संख्या बढेको छ । 

दसैँ बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टेतिर लागेका छन् । सार्कराष्ट्रकै नमुना स्मार्ट भिलेज घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिवेला दसैँ मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ । ‘दसैँ मनाउनका लागि समूह–समूह बनेर आउने क्रम जारी छ, काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले भने, ‘गाउँका सबै होमस्टे पर्यटकले भरिएका छन् ।’ उनका अनुसार होमस्टेमा दसैँ मनाउन ५०–६० जना आन्तरिक पर्यटक काउलेपानी आएका छन् । 

पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरूको व्यस्तता पनि बढ्न थालेको होमेस्टे सञ्चालक कविन्द्र गुरुङले बताए । ‘कुनै घर पनि खाली छैनन्, हामीलाई भ्याइनभ्याई भएको छ,’ उनले भने, ‘राति वास बस्न नपाउनेहरू बिहान मात्रै आएका छन् भने दसैँको टीकाको भोलिपल्ट एकादशीका दिन दुई सयभन्दा बढी पर्यटक काउलेपानी गाउँ भित्रिए ।’ 

स्मार्ट भिलेज राष्ट्रकै नमुना ग्रामीण पर्यटकीय घलेगाउँमा पनि दुई सय ५० भन्दा बढी पर्यटक आएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । उनले भने, ‘दसैँ बिदा मनाउन आएका पर्यटकले होमस्टे भरिएका छन् । घलेगाउँ आन्तरिक र बाह्य पर्यटकले यतिवेला भरिभराउ छ ।’

होमस्टे, प्राकृतिक दृश्यावलोकनका लागि पर्यटकीय गाउँहरूमा पर्यटकको ओइरो लागेको हो । घलेगाउँ, काउलेपानीसहित राइनासकोट होमस्टेमा पनि पर्यटक दसैँ बिदा मनाउन पुगेका छन् । 

दसैँ बिदा मनाउन घलेगाउँ, काउलेपानी, राइनासकोट होमस्टे मात्र हाेइन बेंसीसहरको खासुर, खुदीको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेनमा पर्यटकको ओइरो लागेको स्थानीयले बताएका छन् ।

गाउँमा पर्यटकको चाप बढेर भ्याइनभ्याई भएपछि गाउँले खुसी भएका छन् । पर्यटकीय गाउँहरूमा कृषिसँगै पर्यटन नै मुख्य पेसा रहेको छ । 

पर्यटकहरूको स्वागत–सत्कार गरेर नै स्थानीयले मनग्ये आम्दानी गर्ने गरेका छन् । दैनिक पर्यटकको चहलपहल हुने यी गाउँमा दसैँको  अवसरमा थप पर्यटक आएका छन् ।