१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ कार्तिक २ मंगलबार १७:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री खड्का र चिनियाँ स्टेट काउन्सिलरबीच टेलिफोन वार्ता, नेपाललाई थप २० लाख डोज खोप दिने घोषणा

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २ मंगलबार १७:२२:००

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ स्टेट काउन्सिलर एवं परराष्ट्रमन्त्री वाङ यीबीच मंगलबार एक घन्टा लामो टेलिफोन संवाद भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनपछि दुई देशबीच राजनीतिक तहमा यति लामो संवाद भएको हो । 

संवादको क्रममा चीन सरकारले नेपाललाई थप २० लाख डोज कोभिड– १९विरुद्धको भेरोेसेल खोप अनुदानमा दिने घोषणा गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुई परराष्ट्रमन्त्रीबीच खोप सहयोग, व्यापार तथा वाणिज्य, विकास सहायता, सीमा व्यवस्थापनलगायत दुईदेशीय सम्बन्धका सबै विषयमा छलफल भएको छ । 

विभिन्न विकास परियोजनाहरूको कार्यान्वयन अवस्था, नेपाली विद्यार्थीहरू अध्ययनका लागि चीन फर्किनुपर्ने अवस्था, तातोपानी र रसुवागढी नाकाबाट रासायनिक मल बोकेका कन्टेनर तथा अन्य मालबाहक कन्टेनरहरूलाई सहज रूपमा आवागमन हुनुपर्ने, दुई देशबीच हवाई सेवा सुचारु गर्नुपर्नेलगायतका विषयमा छलफल भएको परराष्ट्रले विज्ञप्तिमा जनाएको छ । 

परराष्ट्रमन्त्री खड्काले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको विकासमा चीनको निरन्तर सहयोगप्रति आभार व्यक्त गरेका छन् । दुई देशबीचका साझा विषयमा निरन्तर छलफल गर्ने र सम्बन्ध थप प्रगाढ बनाउँदै लैजाने विषयमा दुई परराष्ट्रमन्त्रीहरूबीच सहमति भएको परराष्ट्रले जनाएको छ । 

परराष्ट्रका अनुसार चिनियाँ परराष्ट्रमन्त्री वाङले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निमन्त्रणा दिएका छन् । खड्काले उपयुक्त समयमा चीन भ्रमण गर्ने जवाफ दिएका छन् । सरकारले हुम्लाको नाम्खादेखि हिल्सासम्म सीमा समस्याका विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरेपछि विभिन्न आशंकाहरूबीच दुई परराष्ट्रमन्त्रीहरूबीच कुराकानी भएको हो । परराष्ट्रले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा चिनियाँ नेतृत्वसँग परराष्ट्रमन्त्री खड्काको भेटका लागि आग्रह गरेको थियो । तर, चिनियाँ परराष्ट्रमन्त्री वाङ महासभामा सहभागी भएनन् ।