महिला अधिकारकर्मी रुवि खानले ११औँ दिनमा अनशन तोडेकी छिन्। गृह मन्त्रालयका प्रतिनिधिसँग सहमति भएसँगै खानले अनशन तोडेकी हुन् । खानलगायत महिला हिंसाविरुद्ध नेपालगन्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरी माइतीघर मण्डलामा अनशन बसिरहेका थिए।
बाँकेको जानकी गाउँपालिका– २ की ३८ वर्षीया नकुन्नी धोबी र नेपालगन्ज उपमहानगरपालिका– १९ की निर्मला कुर्मीको शंकास्पद मृत्यु भएको थियो। तर, उनीहरूको मृत्युबारे प्रहरीले गहन अनुसन्धान नगरेको भन्दै ११ जना पुरुष र तीनजना महिला गरी १४ जनाको टोली बाँकेबाट पैदल हिँडेर काठमाडौं आएको थियो।
जिल्ला प्रशासन कार्यालय बाँकेबाट गत असोज १ मा यात्रा सुरु गरेको उक्त टोली असोज २१ गते काठमाडौं आइपुगेको थियो। टोलीकी एक सदस्य रुवि खानलाई प्रहरीले बहुविवाहको आरोपमा धर्नास्थलबाट असोज २२ गते पक्राउ गरेको थियो। पक्राउ गरेपछि उनलाई प्रहरीले नेपालगन्ज पुर्याएको छ। तर, सर्वोच्चको आदेशपछि उनलाई रिहा गरिएको थियो।