Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ कार्तिक २ मंगलबार १२:५९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दसैँ नसकिँदै महाकाली तटीय क्षेत्रका बासिन्दालाई दशा

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ कार्तिक २ मंगलबार १२:५९:००

आइतबारदेखि अविरल रूपमा परिरहेको वर्षाका कारण महाकाली नदीले कञ्चनपुरमा वितण्डा मच्चाएको छ। खतराको तह पार गरेको महाकालीले भीमदत्त र दोधाराचाँदनी नगरपालिकाका तटीय क्षेत्रका बस्तीमा ठूलो क्षति गरेको छ। महाकालीको सतह यस वर्षकै उच्च तहसम्म वृद्धि भएको छ। दिउँसो ११ बजेसम्ममा चार लाख ९० हजार क्युसेक पानीको सतह बढेको छ।

बाढीले निर्माणाधीन महाकाली पुलको पक्की पहुँचमार्ग भत्काएको छ। भीमदत्त नगरका ९, ११, १२ र १३ वडा तथा दोधाराचाँदनीका ९ र १० वडाका करिब दुई सय घरपरिवार डुबानमा परेका छन्। दोधाराको कुतियाकबरमा सशस्त्र प्रहरीको बिओपीसहित घरखेत डुबानमा परेका छन्। 

यता, नदीको सतह बढेसँगै भीमदत्त नगरपालिका– ९ खल्लामछेट्टीका पुष्कर नायकको परिवार बीचभंगालोमा फसेका छन्। कुखुराको पहराका लागि गएका नायकको परिवार गएरातिदेखि बीचटापुमा फसेको स्थानीयले बताए। उनीहरूको उद्धारका लागि सुरक्षाकर्मीको टोली खटिएको छ। पूर्ण रूपमा दसैँ नसकिँदै महाकाली नदीले वितण्डा मच्चाएपछि तटीय क्षेत्रका स्थानीय बिचल्लीमा परेका छन्। मनसुन सकिएलगत्तै भारी वर्षा भएपछि यस क्षेत्रका स्थानीयलाई दसैँ नसकिँदै दशा लागेको छ।

वर्षौँदेखि महाकाली नदीले समस्या निम्त्याइरहे पनि सरकारले यसतर्फ चासो दिएको छैन। सरकारले बलियो तटबन्ध निर्माण नगर्दा गैरसरकारी संस्थाका लागि बाढीपीडित कमाइखाने भाँडो बनेकाले बर्सेनि समस्या झेल्न परेको पीडितहरूको गुनासो छ। भीमदत्त नगरपालिका– १२ का मदन दमाईंले सरकारी निकायबाट दिगो बाँध निर्माण गर्न कन्जुस्याइँ भइरहेको बताए। ‘यहाँ आज आएको हो र बाढी ! वर्षौँदेखि आइरहेकै छ,’ उनले भने, ‘बाढी आउँछ। हामी मारमा पर्छौँ, तर सरकार आउँछ, जान्छ। एनजिओहरू पनि डाटा लिएर जान्छन्, डलर पचाउँछन्। हाम्रा दिन सधैँ उस्तै हुन् ।’

भीमदत्त नगरपालिका– १३ पिपरैयाका स्थानीय सञ्जु देउवाले बर्सेनि बाढी आउने थाहा हुँदाहुँदै पुल नै साँघुरो बनाएर महाकाली दोहनका कारण समस्या निम्तिएको बताए । ‘ठेकेदारले चार लेन सडक निर्माणमा माटो राख्नुपर्ने भए पनि बालुवा ग्राभिलिङ राख्यो,’ उनले भने, ‘त्यही भएर पक्की सडक भत्किएको हो।’ ठेकेदारले नदीछेउमै मापदण्डविपरीत ग्राभिलिङ संकलन गर्दासमेत कटानी भइरहेको उनले बताए।

कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले खल्लामछेट्टीमा फसेका नायक परिवारको उद्धारका लागि गृहमन्त्रीसँग छलफल गरेर हेलिकोप्टर मगाएको जानकारी दिएका छन्।

मंगलबार दिउँसोसम्म महाकाली नदीको बाढीले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बाढी डुबान क्षेत्रमा सशस्त्र प्रहरी, प्रहरी र स्थानीयको टोलीले उद्धार गरिरहेको छ। अविरल वर्षाका कारण महाकाली नदीमा मात्र नभई अन्य साना खोलानालामा समेत पानीको बहाव बढेको छ।