मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक २ मंगलबार ०९:४७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

धनगढीमा लागुऔषध कारोबारी र प्रयोगकर्ता बढ्दै

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २ मंगलबार ०९:४७:००

डडेल्धुरा घर भएर धनगढी उपमहानगरपालिकामा डेरा गरी बस्ने ३६ वर्षीया आशा विष्ट गत २१ असोजमा लागुऔषध चरेश र खैरो हेरोइनसहित धनगढी राजपुरबाट पक्राउ परिन् । लागुऔषधको कारोबारी रहेकी विष्टलाई लागुऔषध ओसार्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

चार दिनपछि नै लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले राजपुरबाटै २४ असोजमा लागुऔषधसहित चार युवायुवतीलाई पक्राउ गर्‍यो । प्रहरीका अनुसार स्थानीय प्रेमसागर रानाको घरबाट पक्राउ परेका चारैजना १८ वर्ष उमेरमुनिका हुन् । उनीहरूको साथबाट प्रहरीले तीन ग्राम ६९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो । उनीहरू लागुऔषध प्रयोगकर्ता र कारोबारी दुवै भएको प्रहरीको भनाइ छ । भोलिपल्टै २५ साउनमा लागुऔषधसहित धनगढीबाट २५ र २७ वर्षीय दुई युवा पक्राउ परे । उनीहरूको साथबाट तीन ग्राम १०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीको भनाइ छ ।

पछिल्ला दिन लागुऔषधसहित युवाहरू पक्राउ परेका यी केही प्रतिनिधि घटना हुन् । यसले चाडपर्वको समयमा लागुऔषधको कारोबार र प्रयोगकर्ता बढेको देखाएको छ ।  लागुऔषधसहित पक्राउ पर्नेमा अधिकांश युवायुवती रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्ट बताउँछन् । खुला सिमानाको फाइदा उठाउँदै भारतबाट खैरो हेरोइनलगायत लागुऔषध ल्याउने गरिएको उनले बताए । ‘लागुऔषधसहित पक्राउ पर्ने अधिकांश १८ देखि ३० वर्ष उमेर समूहका छन्,’ डिएसपी विष्टले भने, ‘यसबाट युवा पुस्ता लागुऔषधको कुलतमा फस्दै गएको देखिन्छ ।’ 

‘ट्रान्जिट प्वाइन्ट’ बन्ने खतरा
भारतसँग एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा लागुऔषधको बिक्रीवितरण र प्रयोग बढ्दो छ । प्रदेश राजधानी रहेको धनगढी लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । जिल्लामा लागुऔषधसहित व्यक्ति पक्राउ परेका अधिकांश घटना धनगढीकै छन् । यहाँ जनसंख्याको चापसँगै लागुऔषध प्रयोगकर्ता र कारोबार बढेको प्रहरीको भनाइ छ । ‘पक्राउ पर्नेको संख्याले जिल्लाभरिमा धनगढीमै बढी कारोबार र प्रयोग भइरहेको देखिन्छ । ठूलो सहर छ । जनसंख्या बढी भएर पनि यहाँ लागुऔषधको कारोबार बढी भइरहेको हो,’ डिएसपी विष्टले भने ।

अपराध बढ्दै, नियन्त्रण चुनौती बन्दै
लागुऔषधको कारोबार नियन्त्रण प्रहरीका लागि पनि चुनौती बनेको छ । खुला सिमाना भएकाले भारतबाट विभिन्न किसिमको लागुऔषध ल्याई त्यसको कारोबार र प्रयोग गर्ने क्रम बढेको विष्टले बताए । लागुऔषध ओसारपसार, बिक्रीवितरण र प्रयोग गर्नेलाई प्रहरीले पक्राउ गर्दै आए पनि नियन्त्रण भने हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष लागुऔषधसम्बन्धी एक हजार तीन सय सातवटा मुद्दा दर्ता भएका थिए । जसमध्ये एक सय ३२ जनालाई पक्राउ गरेर कारबाही गरिएको प्रहरीको भनाइ छ । चालू आर्थिक वर्षको चार महिनामा तीन सय ३३ वटा मुद्दा दर्ता भएको र ४६ जनालाई पक्राउ गरिएको प्रहरीको तथ्यांक छ । 

लागुऔषधका कारण कैलालीमा विगतमा केही व्यक्तिले ज्यानसमेत गुमाएका छन् । अपराध बढ्नुको मुख्य कारण लागुऔषधको प्रयोग रहेको प्रहरीले बताउँदै आएको छ । प्रहरीका अनुसार अहिले कैलालीमा लागुऔषध खैरो हिरोइनको प्रयोग र कारोबार बढी हुने गरेको छ । लागुऔषध नियन्त्रणका लागि प्रहरीको सक्रियता अझै बढाउनुपर्ने यहाँका स्थानीयको माग छ । कारोबारीलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउने तथा कुलतमा फसेका व्यक्तिलाई पुनस्र्थापना केन्द्रमा राखेर मनोपरार्श दिन आवश्यक रहेको धनगढीका शिक्षक लोकराज भट्टले बताए । ‘पक्राउ परेको केही समयपछि छुट्ने र पुनः लागुऔषधमा फस्ने गरेका थुप्रै उदाहरण छन् । त्यसैले लागुऔषधको कुलतबाट मुक्त गर्न पुनस्र्थापना वा सुधार केन्द्र प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने, ‘प्रहरीको सक्रियताले मात्र पुग्दैन ।’