१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तस्बिर:रासस
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक २ मंगलबार ०९:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेतीमा पानीको बहाव बढ्यो, नदी आसपासका बस्तीका नागरिकलाई सचेत रहन आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक २ मंगलबार ०९:४५:००

जिल्ला सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरामा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारकाे वर्षाका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर सञ्चालन हुने यातायात सेवा ठप्प भएको छ । नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । 

सेती नदीमा आएको बाढी पुलमाथि पुग्न थालेको दिपायल सिलगढी नगरपालिका– २ दिपायलका स्थानीयवासी चन्द्र पाठकले बताए । उनले भने, ‘नदीमा पानी निकै बढेर पुल छोएको छ, बाढी लगातार बढे पुल नै खतरामा पर्ने अवस्था सिर्जना भएको छ ।’ बाढीले पुल छोएपछि बिहानदेखि उक्त पुलमा सवारीसाधन आवतजावतमा रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रूपसिंह थापाले बताए । उनले भने, ‘बाढीले पुल छोएकाले सवारी आवागमन बन्द गरेका छौँ ।’

पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौँ सवारीसाधन पिपल्ला बजारमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायल कुल्पातेले जनाएको छ । सेती नदीमा आएको बाढीका कारण सो वरपरका बस्तीसमेत डुबानमा परेको दिपायल पुलबजारकी स्थानीय मेरिसा परियारले बताइन् । उनले भनिन्, ‘सेतीमा निकै ठूलो बाढी आएको छ, बाढी पुल बजारका पसल तथा घरमा समेत पसेको छ, हामी रातभरि सुत्न पाएका छैनौँ ।’ रासस