१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७८ कार्तिक २ मंगलबार ०८:०७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एउटा दमकलको भरमा संखुवासभा 

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ कार्तिक २ मंगलबार ०८:०७:००

चैनपुर बजार आगलागीको उच्च जोखिममा, तर छैन पूर्वतयारी

साँघुरा सडक, बाक्ला घर भएका संखुवासभाका अधिकांश बस्ती आगलागीको जोखिममा छन् । तर, आगलागी नियन्त्रणको पूर्वतयारीमा पालिकाहरूले बेवास्ता गर्दै आएका छन् । 

आगलागी भइहाले सिंगै चैनपुर बजारले ठूलो क्षति भोग्न बाध्य हुने अवस्था छ । किनभने, चैनपुर नगरपालिकासँग एउटा पनि दमकल छैन । पूर्वतयारीका लागि दमकल खरिद गरेर राख्न स्थानीयले पटकपटक आग्रह गरे पनि चैनपुर नगरपालिकाले अहिलेसम्म दमकल खरिद गरेको छैन ।

चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार
खत्रीले अहिलेसम्म दमकलको आवश्यकता नै महसुस नभएको बताए । नगरप्रमुख खत्री भन्छन्, ‘चैनपुर बजार क्षेत्रका सबै ठाउँमा दमकल प्रवेश गर्ने सडक छैनन् । जबसम्म बजार क्षेत्रका सबै ठाउँमा दमकल छिर्ने सडक विस्तार हुँदैन तबसम्म दमकल किनेर काम छैन ?’ खत्रीले भनेजस्तै वास्तवमै बजार क्षेत्र साँघुरो छ । तर, त्यसलाई फराकिलो बनाउनेदेखि पूर्वतयारीका लागि आवश्यक उपकरण, साधन–स्रोत र जनशक्ति तयार पार्ने जिम्मेवारी नगरपालिकाकै हो । 

बजार क्षेत्र मात्र होइन, त्यसको दायाँबायाँका घरमा आगो लागिहाले पनि नियन्त्रणका लागि नगरपालिकासँग कुनै उपाय छैन । त्यस्तो अवस्थामा खाँदबारी नगरपालिकामा रहेको एउटा दमकल गुहार्नेभन्दा अर्को विकल्प चैनपुर नगरसँग छैन । ‘बर्खा सकिएर अब हिउँद सुरु हुँदै छ । केही महिनापछि फागुन चैतजस्ता महिना आउँछन् । सुक्खायामका कारण आगलागीको सधैँ जोखिम हुन्छ । तर, नगरपालिकाले पूर्वतयारीमा ध्यान दिएकै छैन,’ चैनपुरवासी आफ्नो निरीहता सुनाउँछन्, ‘आगो लागिहाले, न पानी पाइने, न माटो र बालुवा ल्याएर निभाउन सकिने भो ।’

नौ स्थानीय तह दमकलविहीन
संखुवासभामा दशवटा स्थानीय तह छन् । खाँदबारी नगरपालिकासँग मात्र दमकल छ । अन्य कुनै पनि स्थानीय तहले अहिलेसम्म दमकल खरिदमा चासो देखाएका छैनन् । संघीयता कार्यान्वयनसँगै स्थानीय सरकारहरू स्वायत्त बनेका छन् । आवश्यक योजना बनाई तिनका लागि बजेट विनियोजन गर्न उनीहरूलाई कसैले छेक्दैन । स्थानीय सरकारले बर्सेनि विभिन्न शीर्षकमा करोडौँ रुपैयाँ खर्च पनि गरिरहेको छ । तर, जुनसुकै समयमा आइपर्ने प्राकृतिक विपत्तिका घटनामा नगर नेतृत्व त्यति संवेदनशील नबनेको स्थानीयको गुनासो छ । 

पूर्वतयारीमा ध्यान दिने हो भने हरेक स्थानीय तहले आफूसँग कम्तीमा एउटा दमकल खरिद गरेर राख्नुपर्छ । त्यसपछि मात्र जहाँकहीँ आगो लाग्यो भने जनधनको क्षति न्यून गर्न सकिन्छ । दमकल मात्र होइन, भूकम्प र आगलागीजस्ता घटनाबाट सुरक्षित रहन खुला चौर र पानीसहितको पोखरीको व्यवस्था गर्नेतिर पनि नगरपालिकाको ध्यान जानुपर्ने हो । तर, स्थानीय सरकारको चासो नदेखिएको स्थानीयको गुनासो छ । 

बजार क्षेत्रमा झन्झन् घनाबस्ती
चैनपुर नगरपालिका संखुवासभाको पुरानो व्यापारिक केन्द्र हो । यहाँ पुराना शैलीमा माटो र ढुंगाबाट निर्माण गरिएका ऐतिहासिक घर अझै पनि छन् । बजार क्षेत्रमा बाक्लै घर छन् । पछिल्लो समय घर निर्माणको क्रम बढेकाले बजार क्षेत्र झन् घना हुँदै छ । तर, बजार क्षेत्रमा आइपर्ने प्राकृतिक विपत्तिका वेला आगो निभाउने दमकल छैन । ‘पहिले पहिले त बेग्लै कुरा भयो, सिंहदरबार नै जनताको घरदैलोमा आयो भनिएपछि पनि त्यसको अनुभूति गर्न पाएका छैनौँ,’ चैनपुर बजारका एक व्यवसायीले नयाँ पत्रिकासँग भने, ‘कुनै एउटा घरमा आगो लाग्यो भने सिंगै बजार जलेर ध्वस्त हुने जोखिम छ, तर नगरपालिकाले कुनै पूर्वतयारी गरेको देखिँदैन ।’