१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ मझगाउँका एक किसानको खेतमा वर्षाको पानीले डुबेको धान ।
नयाँ पत्रिका
२०७८ कार्तिक २ मंगलबार ०७:२९:००
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मनसुन सकिएपछि भएको वर्षाले किसानलाई ठूलो क्षति

Read Time : > 7 मिनेट
नयाँ पत्रिका
२०७८ कार्तिक २ मंगलबार ०७:२९:००

सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका किसानले  भित्र्याउन ठिक्क पारेको धान खेतमै डुब्यो

  • कैलालीमा ७० हजार हेक्टरमा धानखेती, काटेर राखिएको करिब ४० प्रतिशत खेतमै डुबान, १० प्रतिशत ढलेर सोत्तर 
  • कञ्चनपुरमा करिब साढे ४८ हजार हेक्टरमा धानखेती, २० प्रतिशत धान खेतमै डुब्यो 
  • दाङमा ३९ हजार हेक्टरमा धानखेती, काट्न बाँकी ७५ प्रतिशत धान वर्षाले सोत्तर बनायो
  • पाल्पाको तानसेन नगरपालिका– १० तेल्घामा करिब सय रोपनी खेतमा लगाइएको धानबाली बगरमा परिणत
  • २८ हजार हेक्टरमा धान खेती हुँदै आएको चितवनमा ३० प्रतिशत उत्पादन घट्ने अनुमान

आइतबार र सोमबार भएको भारी वर्षाले धानबालीमा ठूलो क्षति पुर्‍याएको छ । देशका थुप्रै जिल्लामा  भित्र्याउने अवस्थामा रहेको हजारौँ हेक्टर खेतको धानबाली नोक्सान भएको छ । हावाहुरीसहितको पानीले बाली सोत्तर पारेको छ भने धानखेत डुबानमा पर्दा काटेर सुकाउन राखिएको धान पूरै डुबेको छ । 

सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी, दार्चुलामा बढी क्षति पुगेको छ । लुम्बिनीका नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लामा पनि अधिक वर्षाले प्रभाव पारेको छ । गण्डकीका कास्की, स्याङ्जा, लमजुङलगायतका जिल्लामा पनि धानबाली सोत्तर भएको छ । 

पछिल्लो २४ घन्टामा कहाँ कति पानी पर्‍यो ?

सुदूरपश्चिम

- डडेल्धुरा : १६६.२ मिलिमिटर

- दिपायल : १५५.३ मिलिमिटर

- धनगढी : ९८ मिलिमिटर 

कर्णाली 

- वीरेन्द्रनगर : ५७.९ मिलिमिटर

- जुम्ला : ३५.३ मिलिमिटर

लुम्बिनी

- दाङ : १३३.९ मिलिमिटर

- रूपन्देही : ११२.५ मिलिमिटर

गण्डकी

- पोखरा : ५६.१ मिलिमिटर

बागमती

- काठमाडौं : ३.९ मिलिमिटर

खाद्यसंकट झेल्दै आएका डोल्पालीमा गुजाराको चिन्ता
खाद्यान्न कम उत्पादन हुने डोल्पामा वर्षाले क्षति पुर्‍याएपछि वर्षभरि गुजारा कसरी गर्ने भन्ने चिन्ता छाएको छ । त्रिपुराकोट, मोतीपुर, लिकु खदाङलगायतका स्थानमा लगाइएको धानबालीमा वर्षाले क्षति पुर्‍याएको छ । अधिकांश किसानले धान काटेर खेतमै सुकाएका वेला लगातार पानी परेपछि क्षति पुगेको हो । 

‘वर्षभरि मिहिनेत गरेर  भित्र्याउने वेला भएको धान खेतमै डुबेपछि धेरै चिन्ता लागेको छ,’ त्रिपुराकोटको धुमा ज्युलामा चार रोपनी खेतमा लगाएको धानबाली वर्षात्ले भिजाएपछि चिन्तित बनेका त्रिपुरासुन्दरी– १ का दुर्गाप्रसाद देवकोटाले भने, ‘यसै पनि जग्गा थोरै थियो, एक–दुई दिनमै  भित्र्याउने तयारी गरेका थियौँ । झरीले पूरै भिजायो । वर्षभरिको दुःख त खेर गयो–गयो, अब कसरी जीविका चलाउने भन्ने चिन्ता थपियो ।’ पानीमा भिजेको धान कुट्दा धुलोपिठो पर्ने र खान नमिल्ने उनले अनुभव सुनाए ।

लिकुका किसान विष्णु खत्रीको पनि चार–पाँच रोपनी खेतमा लगाएको धान बाली भिजेको छ । ‘वर्ष दिनको दुःख खेर मात्र गएन, धान रोप्दा, गोडमेल गर्दा, काट्दा लागेको पचासौँ हजार पनि डुब्यो । यसै पनि बजारिया चामलमा भर पर्नुपर्थ्यो । यसपटक त पूर्ण रूपमै खाद्य र बजारको चामल किनेर खानुपर्ने भयो,’ उनले भने । बलौटे माटोको कारण उब्जनी कम हुने भएकाले हिमाली क्षेत्रमा पटक–पटक खाद्यान्न संकट पर्ने गर्छ । हिमाली क्षेत्रमा हुने खाद्यसंकट टार्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रत्येक वर्ष हजारौँ क्विन्टल खाद्यान्न वितरण गर्ने गरेको छ ।

जुम्लाको कालीमार्सीमा क्षति
भारी वर्षाले जुम्लाको चर्चित कालीमार्सी धानमा समेत क्षति पुर्‍याएको छ । जुम्लामा आइतबार बेलुकीदेखि परेको पानी रोकिएको छैन । २९ सय हेक्टरमा धान खेती गरिने जुम्लामा यस वर्ष १४ सय हेक्टरमा मार्सी र १५ सय हेक्टरमा उन्नत जातको धान लगाइएको छ । करिब पाँच वर्षयता जुम्ली रैथाने बाली उत्पादनमा ४० प्रतिशतले गिरावट आएको सरकारी तथ्यांक छ । अन्य रैथाने बालीको उत्पादन घट्दै गए पनि कालीमार्सीको उत्पादन भने बढ्दै गएको थियो । कृषि विकास कार्यालय जुम्लाका अनुसार गत वर्ष करिब १२ हजार तीन सय आठ मेट्रिक टन रैथाने बाली उत्पादन हुँदा कालीमार्सी धान ६ हजार ६ सय ७० मेट्रिक टन उत्पादन भएको थियो । त्यसैले यस वर्ष पनि मार्सी धानको उत्पादन केही वृद्धि हुने अनुमान गरिएको छ । तर, आइतबार र सोमबार परेको वर्षाले भण्डारण गर्न नभ्याउँदै खेतमा सुकाएर राखिएको धानबाली डुबानमा पारेपछि उत्पादन घट्ने चिन्ता छाएको छ । 

चन्दननाथ नगरपालिका– ९ श्रीदुस्का गाउँका किसान लक्ष्मी हमालका अनुसार दसैँलगत्तै धानखेती भिœयाउन थालिएकाले अधिकांश किसानले धान काटेर खेतमै राखेका छन् । केहीले आधा चुटेर खेतमै प्लास्टिकको पालले छोपेर राखेका छन् । अहिले यी सबै धान पानीमा डुबेको छ । कृषि प्राविधिक लछिराम महतले काटेको धानमा वर्षाले क्षति गरेको बताए । पानी रोकिएपछि राम्रोसँग सुकाएर घर  भित्र्याएर क्षति कम गर्न सकिने उनले बताए । 

सुदूरपश्चिम : कैलालीमा ४० प्रतिशत धान खेतमै डुब्यो
धान उत्पादनका लागि पकेट क्षेत्रका रूपमा रहेको कैलालीका सयौँ किसानले काटेर राखेको धान खेतमै डुबेको छ । काटेर  भित्र्याउन ठिक्क पारेको धानबालीमा वर्षाले क्षति पुगेपछि कृषक मारमा परेका छन् । कैलालीमा किसानलाई धानबाली  भित्र्याउने चटारो रहेका वेला आइतबार र सोमबार ठूलो वर्षा भएको हो । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार अहिले करिब ४० प्रतिशत किसानले धानबाली काटेर खेतमै सुकाउन राखेका छन् । 

‘५० प्रतिशत जतिले धान  भित्र्याइसकेका छन् । ४० प्रतिशत जतिले काटेर खेतमै सुकाउन राखेका वेला ठूलो वर्षा भएकाले धानबालीमा ठूलो क्षति पुगेको छ,’ कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले भने नयाँ पत्रिकासँग भने, ‘यस वर्ष धान उत्पादनमा ह्रास आउन सक्ने देखिन्छ ।’ काटेको धान खेतमै तैरिएको छ भने कुन्यु बनाएर राखेको धान पनि डुबानमा परेको छ । काट्न बाँकी धान ढलेको कृषकले बताएका छन् । 

धनगढी उपमहानगरपालिका– ५ का कृषक रामबहादुर चौधरीले एक बिघा खेतमा लगाएको धान काटेर सुकाउन राखेका वेला वर्षाले भिजेर क्षति पुगेको बताए । उनले शनिबार मात्र धान काटेका थिए । ‘घाम लागेको भए आज कुन्यु बनाउने थियौँ । तर, खेतैभरि पानी जमेको छ । काटेर राखेको धान डुबेको छ,’ चौधरीले भने, ‘सबै धान वर्षाले भिजायो । बिउ पनि नबन्ला भन्ने चिन्ता छ ।’ 

नियमित पानी पर्दा बाली सप्रिएकाले यस वर्ष धान उत्पादन बढ्ने ठानेर किसान उत्साहित थिए । तर,  भित्र्याउने वेला वर्षाले क्षति पुर्‍याएपछि उनीहरू निराश छन् । काट्न बाँकी धानमा समेत क्षति पुगेको किसानले बताएका छन् । ‘काटेको धान गह्रामै तैरिएको छ । काट्न बाँकी धान पनि वर्षा र हावाहुरीले ढलेर सोत्तर भएको छ,’ अर्का कृषक तिलक जोशीले भने, ‘बर्खामा नियमित पानी परेकाले धान सप्रेको थियो । उत्पादन बढ्ला भनेको उल्टै  भित्र्याउने वेला बर्बाद भयो ।’

भिजेको धान लामो समय भण्डारण गर्न समस्या हुने र व्यापारीले पनि मूल्य नदिने भएकाले किसान चिन्तित छन् । काटेको धान भिज्दा धानमा दाग लाग्ने, कुट्दा चामल टुक्रिने र लामो समय भण्डारण गर्न नसकिने कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले बताए । ‘उन्नत बिउको बढ्दो प्रयोग, सिँचाइ सुविधा विस्तार, नियमित पानी पर्नुजस्ता कारणले धानबाली सप्रेको थियो । विगतभन्दा ५–७ प्रतिशत उत्पादन बढ्ने अनुमान गरेका थियौँ । बाली सप्रिएकाले किसान पनि खुसी थिए,’ शर्माले भने, ‘तर,  भित्र्याउने वेला भएको अनपेक्षित क्षतिले समग्र उत्पादन नै प्रभावित हुने देखिएको छ ।’ 

कञ्चनपुरमा २० प्रतिशत धानमा क्षति
कञ्चनपुर पनि धान उत्पादनको दृष्टिले पकेट क्षेत्र हो । त्यसैले आइतबारदेखि परेको भारी वर्षाले यहाँ पनि ठूलो क्षति पुर्‍याएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार कुल उत्पादनको करिब २० प्रतिशत धानबालीमा आइतबार र सोमबारको वर्षाले असर पुर्‍याएको छ । केन्द्रका प्रमुख डा. दिलबहादुर विष्टले करिब ८० प्रतिशत किसानले धान  भित्र्याइसकेको बताए । ‘जिल्लाभरि ८० प्रतिशत धानबाली किसानले  भित्र्याइसकेका छन्, डा. विष्टले नयाँ पत्रिकासँग भने, ‘बाँकी २० प्रतिशतमा बर्खाले क्षति पुर्‍याएको छ । कुल उत्पादनको करिब २० प्रतिशत धानमध्ये पनि अधिकांश काटेर सुकाउन खेतमै राखिएकाले डुबानमा परेको छ ।  भित्र्याउन नपाउँदै भिजेर नष्ट हुने डरले किसान चिन्तित छन् । 

लालझाडी गाउँपालिका– ३ नन्दगाउँका किसान बहाली रानाले अढाई बिघा खेतमा आफूले लगाएको धान डुबानमा परेको बताए । ‘गत वर्ष पनि खेतमा दोदा नदीको बाढी पसेर धानखेती नष्ट गरेको थियो । जेनतेन जीवन धान्यौँ,’ उनले भने, ‘यस वर्ष आकाशबाट मुसलधारे पानी परेर पूरै धान डुबाइदियो । अब कसरी जीविका चलाउने होला ।’ भीमदत्त नगरपालिका– १६ मझगाउँका किसान रामचन्द्र धानुकले डेढ बिघामा खेतमा लगाएको धान दुई दिनअघि मात्र काटेर सुकाउन राखेका थिए । खेत पूरै डुबानमा परेकाले काटेर राखेको धान पनि डुबेको छ । बेलडाँडी गाउँपालिका– ५ झिलमिलाका रतन लुहारको अवस्था पनि त्यस्तै छ । काटेर राखेका धानका बिटा खेतमै डुबेपछि वर्षभरि खाने अन्नको संकट पर्ने उनलाई चिन्ता परेको छ । 

एक्कासि आएको वर्षाले हजारौँ क्षेत्रफलको धानबाली नष्ट गरेपछि विभिन्न किसान संगठनले भने किसानलाई क्षतिपूर्ति र राहतको माग गरेका छन् । किसान पार्टीका अध्यक्ष शिरोमणिकुमार ओझाले प्राकृतिक विपत्तिका रूपमा एक्कासि आएको वर्षाले किसानका धान सखाप पारेकाले सरकारले राहत र क्षतिपूर्ति दिनुपर्ने बताए । 

लुम्बिनी : क्षतिको विवरण संकलन गर्दै स्थानीय तह
धानबालीका लागि उर्बर मानिने लुम्बिनी प्रदेशका रूपन्देही, कपिलवस्तु, बाँके, दाङ, बर्दियालगायतका जिल्लामा किसानले काटेको धान खेतमै डुबेको छ । प्रदेश कृषि निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले वर्षाले धानबालीमा क्षति पुगेको बताए । तर, क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको उनको भनाइ छ । बाँकेका किसानले धान सुकाएकै वेला पानी परेकाले क्षति पुगेको बताए । बाँकेको राप्ती सुनारी गाउँपालिका–५ का किसानले घरमा भिœयाउन नपाउँदै खेतमा धान डुबेकाले ठूलो क्षति पुगेको गुनासो गरे ।

यो वर्ष दाङमा ३९ हजार हेक्टरमा धानखेती गरिएको छ । अहिलेसम्म २५ प्रतिशत किसानले मात्र धान  भित्र्याएका छन् । ७५ प्रतिशत धान खेतमै रहेकाले आइतबार र सोमबारको वर्षाले ठूलो क्षति पुर्‍याएको छ । जिल्लाका दशवटै पालिकामा क्षति भएको जानकारी आए पनि पूर्ण विवरण भने आउन सकेको छैन । वर्षा जारी रहेकाले क्षतिको विवरण कतैबाट पनि आइनसकेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रुद्र पौडेलले जानकारी दिए । शान्तिनगर– ६ देवीपुरका किसान कृष्ण चौधरीले  भित्र्याउनका लागि काटेर खेतको डिलमा राखिएको धान डुबेको बताए । बर्दियाका किसानले पनि धानबालीमा क्षति पुगेको बताएका छन् ।

कपिलवस्तुका वाणगंगा, बुद्धभूमि, कपिलवस्तु नगरपालिका तथा शुद्धोदन, मायादेवी गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएका धानबाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्र कपिलवस्तुका अनुसार यहाँ यस वर्ष सात प्रतिशतले धान उत्पादन बढ्ने अनुमान थियो । तर, एक्कासि आएको बर्खाले ठूलो क्षति व्यहोरेपछि धान उत्पादन नै घट्ने आशंका गरिएको छ । यहाँका अधिकांशका खेतमा लगाइएको राधा–४, सर्जु–५२ लगायतका धान पाकिसके पनि किसानले  भित्र्याउन नपाउँदै डुबानमा परेको छ ।

जिल्ला कृषि कार्यालय तथा कपिलवस्तुका १० वटै स्थानीय तहका कृषि शाखाले धानबालीमा भएको पूर्ण क्षति संकलनको काम भइरहेकाले कति क्षति भयो भन्ने यकिन तथ्यांक आउन नसकेको बताए । लुम्बिनी प्रदेशका केही पहाडी जिल्लामा समेत क्षति पुगेको छ । पाल्पाको तानसेन नगरपालिका– १० तेल्घामा करिब एक सय रोपनी खेतमा लगाइएको धानबाली बगरमा परिणत भएको किसान सन्तोष बस्यालले जानकारी दिए । 

गण्डकी : अगौटे जातको धानमा बढी क्षति
गण्डकी प्रदेशमा एक लाख २० हजार हेक्टरमा धान खेती गर्न सकिन्छ । यो वर्ष झन्डै एक लाख १७ हजार हेक्टरमा धान खेती भएको थियो । कृषि विकास निर्देशनालय गण्डकीका निर्देशक वासुदेव रेग्मीका अनुसार यस वर्ष धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । तर, आइतबार र सोमबार गण्डकी प्रदेशका जिल्लामा पनि लगातार वर्षा भएकाले धानबालीमा ठूलै क्षति पुगेको छ । गण्डकीका नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, बाग्लुङ, स्याङ्जा, तनहुँ, लमजुङलगायतका जिल्लामा पानी धेरै परेकाले धानबालीमा क्षति पुगेको कृषि विकास निर्देशनालय गण्डकीका निर्देशक वासुदेव रेग्मीले जानकारी दिएका छन् । मनाङ र मुस्ताङबाहेक धान फल्ने सबै जिल्लामा क्षति भएको जानकारी आएको उनले बताए । ‘अगौटे (छिटो पाक्ने) जातको धान किसानले काटेको र भिजेको पाइएको छ । यसरी भिज्दा धान उम्रने र पछि हकुवा हुने समस्या हुन्छ । मंगलबार पनि घाम नलाग्ने र मौसम यस्तै हुने हो भने क्षति झन् बढ्छ,’ उनले भने । निर्देशक रेग्मीले धानबालीमा भएको क्षतिको पूर्ण विवरण आउन भने केही दिन लाग्ने जानकारी दिए । 

चितवन : ३० प्रतिशत उत्पादन घट्ने अनुमान
रासायनिक मलको लाइनमा घन्टौँ बसेर बल्लबल्ल मल हालेका चितवनका किसान आफूले उब्जाएको धान भित्र्याएर खुसी साट्ने तयारीमा थिए । तर, आइतबार र सोमबारको वर्षाले उनीहरूलाई निराश बनाइदियो । चितवनमा अहिलेसम्म २५ प्रतिशत धान मात्रै भित्रिएको छ । ७५ प्रतिशत धान खेतमै छ । खैरहनी, राप्ती, रत्ननगर क्षेत्रमा पानीले धानमा बढी क्षति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी माधव पौडेलले बताए । उनका अनुसार भारतीय हाइब्रिड जातका धान प्रायः लडेका छन् । माडी, भरतपुरमा पछि धान रोपिएकाले क्षति कम भए पनि अरू स्थानीय तहमा बढी क्षति भएको छ । उनका अनुसार यसले जिल्लाको धान उत्पादनमा ठूलो असर गर्छ । 

करिब २८ हजार हेक्टरमा धान खेती हुँदै आएको चितवनमा गत वर्षको तुलनामा चितवनमा ३० प्रतिशतसम्म धान उत्पादन घट्ने कृषि अधिकृत पौडेलको अनुमान छ । चितवनमा प्रतिहेक्टर उत्पादकत्व ४ मेट्रिक टन छ । यहाँ परालको पनि उत्तिकै महत्व छ । प्रतिबिघा ६० देखि ९० हजार रुपैयाँसम्ममा पराल बिक्री हुँदै आएको छ । तर, पानीले भिजेको पराल काम नलाग्ने हुनाले किसान थप चिन्तित छन् ।

कैलालीमा तेजराज भट्ट, कञ्चनपुरमा मोहन विष्ट, रुपन्देहीमा विष्णु घिमिरे, कपिलवस्तुमा डिलाराम भुसाल, बाँकेमा विश्वराज पछलडङ्ग्या, दाङमा दीपक बोहरा, पाल्पामा नारायण न्यौपाने, डोल्पामा रामचन्द्र न्यौपाने, जुम्लामा मानदत्त रावल, चितवनमा विवेक पोख्रेल, कास्कीमा गोविन्द सुवेदी