१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ कार्तिक २ मंगलबार ०७:१५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पर्यटकको आवागमनले उत्साहित भए पोखराका पर्यटन व्यवसायी

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २ मंगलबार ०७:१५:००

देशकै पर्यटकीय राजधानीको रूपमा लिइने पोखरामा कोरोना कहरलाई बिर्साउने गरी पर्यटकको आवागमन हुन थालेको छ । दसैँलगत्तै आफूहरूमा उत्साह आउने गरी पर्यटकको आवागमन भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले जानकारी दिए । ‘दसैँलगत्तै पर्यटकको संख्या ह्वात्तै बढेको महसुस गरेका छौँ । अब घरभाडा तिर्ने, स्टाफ खर्च धान्दै बैंकको ब्याजसमेत तिर्ने आशा जागेको छ । दसैँ बिदामा आएका पर्यटकलाई भने झरीले प्रभाव पार्‍यो । अझै दुई दिन मौसम खराब रहने भनेपछि कसरी आउलान् र ? तैपनि हाम्रो आशा बढेको छ । समग्र अवस्थाकै मूल्यांकन गर्न भने अब पूर्णिमापछिको अवस्थालाई हेर्नुपर्छ,’ उनले भने ।

अध्यक्ष भट्टराईका अनुसार अहिले पोखरामा नेपाली मात्र नभएर सीमावर्ती भारतीय पर्यटकसमेत उल्लेख्य रूपमा आएका छन् । जम्मा पर्यटकमध्ये ४० प्रतिशत भारतीय र ६० प्रतिशत पर्यटक नेपाली नै रहेको उनको भनाइ छ । ‘नेपालीहरूमा घुमफिरको संस्कार राम्रो देखिएको छ । अहिले सीमावर्ती भारतीय पर्यटकसमेत आउने क्रम बढ्न थालेको छ,’ उनले भने, ‘समग्रमा हेर्ने हो भने जम्मा पर्यटकको ४० प्रतिशत भारतीय र बाँकी नेपाली पर्यटक छन् ।’

दसैँलगत्तै पोखरा घुम्न आउने क्रम बढेको र सुरुका तीन दिन होटेल अकुपेन्सी ५० प्रतिशत हाराहारी रहेको पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । दसैँअगाडिसम्म होटेल अकुपेन्सी १५ प्रतिशतको हाराहारीमा रहेको उनले सुनाए । आइतबारसम्म लगातार तीन दिन होटेल अकुपेन्सी समग्रमा ५० प्रतिशत थियो । सोमबार झरीका कारण केही समस्या आयो,’ उनले भने । साना होटेलभन्दा ठूला होटेलहरूमा पाहुना भरिभराउ रहेको उनले बताए । समग्रमा आफूहरू निकै नै उत्साहित रहेको उनले सुनाए । उनका अनुसार गण्डकी प्रदेशको राजधानी पोखराका होटेलमा दिनमै ३० हजारको हाराहारीमा पर्यटक राख्न सक्ने क्षमता छ । यहाँ पर्यटकीयस्तरका होटेलहरू सात सयभन्दा बढी छन् । 

पर्यटकीय क्षेत्रमा पनि झरीको प्रभाव
साथीहरूसहित बाँकेबाट अन्नपूर्ण बेस क्याम्प (एबिसी)घुम्न आएका चिरञ्जीवी शर्मा घान्द्रुकभन्दा माथि देउराली पुगेपछि माथि जाने आँट गरेनन् । आइतबार घान्द्रुक वास बसेका उनीहरू दुई घन्टा पदयात्रा गरेपछि फर्कने निचोडमा पुगेको नयाँ पत्रिकालाई जानकारी दिए । ‘निरन्तर झरी पर्‍यो । दृश्यको अवलोकन गर्न पाइएन । अनि हिमाली भेगमा हिमपातको सम्भावना भन्दै सतर्कता अपनाउनेसमेत भनिएकाले झनै अगाडि बढ्नेभन्दा पनि फर्कन मन लाग्यो र फर्कदै छौँ,’ उनले भने । 

बाँकेका शर्माजस्तै अन्य पर्यटक पनि दोधारमा परेर फर्केका टान पोखराका अध्यक्ष सुशील पौडेल बताउँछन् । अझै दुई–तीन दिन वर्षा हुने मौसम पूर्वानुमान छ । हिमाली भेगमा जाँदा सतर्कता अपनाउन भनिएकाले स्वाभाविक रूपमा झरीको प्रभाव पर्‍याे । झरीलाई दोष लगाउनुभन्दा पनि अहिले दसैँमा घुमेर रमाउन चाहने आन्तरिक पर्यटकहरूलाई मर्का परेको पक्कै हो,’ उनले भने ।

मौसमले एक–दुई दिन असर पारे पनि समग्रमा आफूहरूमा उत्साह थपेको अध्यक्ष पौडेलले बताए । अहिले दैनिक रूपमा अन्नपूर्ण संरक्षण क्षेत्र प्रवेशका लागि ५० जनाको हाराहारीमा भारतीय नागरिकले टिम्स र प्रवेश अनुमति लिने गरेका उनले जानकारी दिए ।