Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक १ सोमबार ०९:०६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चाडबाडमा महिलाका सकस

Read Time : > 2 मिनेट
२०७८ कार्तिक १ सोमबार ०९:०६:००


अरू वेलाभन्दा घरायसी कामको बोझ बढी हुने चाडबाडमा महिलालाई मात्र काममा जोताइयो भने चाडबाड महिलाका लागि यातनामय हुनेमा शंका छैन


चाडपर्वमा सबैलाई रमाइलो हुन्छ । वेला–वेलामा आउने चाडपर्वका कारण मनोरञ्जनकै लागि भनेर मोटो रकम खर्च गरेर डान्सबार, रोदीघर, डिस्को या दोहोरीसाँझसम्म धाइरहनुपर्ने बाध्यता छैन । परिवारसँग मिलेर चाडबाड मनाउनुको मजा नै बेग्लै हुन्छ । चाडबाडका वेला केही दिनका लागि भए पनि सपरिवार देशका रमाइला ठाउँमा घुम्न जाँदा वर्षभरिकै लागि ऊर्जा प्राप्त हुन्छ । काम सम्पादनमा सजिलो हुन्छ । कामको परिणाम झनै राम्रो हुन्छ । 

तर, घरका प्रत्येक सदस्यले सबै चाडबाडलाई समान रूपले मनाउने अवसर भने पाइरहेका हुँदैनन् । आममहिलाले दसैँ–तिहारजस्ता चाडबाडमा एक्लै भान्सामा घोटिनुपरिरहेको हुन्छ । कतिपय परिवारमा बुहारीले मात्रै भान्साको काम सम्हाल्नुपर्छ । दसैँमा अष्टमीको दिनदेखि नै दुई–तीन दिनसम्म लगातार मासु खाने गरिन्छ । कुनै परिवारमा रमाइलोका लागि मासुका परिकार पकाउन भान्सामा पुरुष वा अन्य सदस्य पसिहाले पनि सबै परिवारमा यस्तो हुँदैन ।

अर्को छाक पनि मिठो खानका लागि खाना मिठो छ भनेर महिलालाई फुक्र्याउनुबाहेक भान्छामा सहयोग गर्नुपर्छ भन्ने चेत धेरैमा हुँदैन । दुई–तीन दिनसम्म मासु खाएका र पकाएका जुठा भाँडा माझ्दा महिलाका हात भाँडाजस्तै घिसिएका हुन्छन् । त्यसको चिन्ता कसैमा हुँदैन । संयुक्त परिवारमा बस्ने एकजना बहिनीका अनुसार दसैँ उनलाई कत्ति पनि मन पर्दैन । घरका ज्येष्ठ सदस्यसँग टीका लगाउन आउनेहरू यति धेरै हुन्छन् कि तिनका लागि उनले एक्लै भान्सामा खाना पकाउनुपर्छ । 

छोराछोरी आ–आफ्ना धुनमा मस्त हुन्छन् । श्रीमान्लाई तास खेल्नबाट फुर्सद हुँदैन । सासूले अहिलेसम्म भान्सामा पसेर काममा मद्दत गरेको उनलाई सम्झना छैन । दिनभरि घरमा आउने पाहुनालाई खाना–खाजा तयार पार्ने र तिनले खाएका भाँडा माझ्दा एकछिन बसेर टीका लगाउने फुर्सदसमेत नहुने उनले सुनाइन् । दिनभरि दौडादौडमै काम गरेर जिउ शिथिल भइरहँदा निधारमा रातो टीका लगाउँदैमा रमाइलो भएको कसरी भन्ने ? उनको परिवारमा मात्रै होइन, धेरैजसो परिवारमा यस्तै हुन्छ । तिहारमा लामो समय तातो तेलको खारमा बसेर सेलसहितका अन्य परिकार तयार गर्दागर्दै केही खानसमेत मन नलाग्ने धेरै महिलाको गुनासो हुन्छ । दसैँ–तिहारमा मात्रै होइन, अन्य सानाठूला चाडपर्व र पुरुषले गर्ने सोह्रश्राद्धमा समेत महिला नखटी हुँदैन ।

अपवादबाहेक चाडबाड सबैलाई समान रूपले बिदा हुन्छ । घरका कुनै सदस्यले त्यसलाई पूर्ण रूपले शतप्रतिशत उपभोग गरिरहेका हुन्छन् भने कसैलाई बिदामा गर्नुपर्ने कामको भारले थप शिथिल बनाएको हुन्छ । कसैलाई बिदामा गर्नुपर्ने कामको भारले अफिस खुलेपछि पनि कायै–सम्पादनमा अप्ठेरो पारेको हुन्छ । 

\एउटा परिवार महिला, पुरुष, बालबालिका, वृद्ध वृद्धा सबै मिलेर बनेको हुन्छ । परिवारमा हरकोहीले आफूले सक्दो काम गर्नुपर्छ । स्कुल जाने केटाकेटीले आफ्ना कापी–किताब, लुगाफाटा मिलाएर राख्न सक्नुपर्छ । कलेज पढ्ने युवायुवतीले कोठाको सरसफाइ गर्ने, आफ्ना लुगाफाटा आफैँ धुने, फुर्सदमा भान्छामा गएर पकाउने, भाँडा माझ्ने जस्ता काममा मद्दत गर्नुपर्छ । साठी वर्ष पूरा भयो, अफिसबाट रिटायर भयो भन्दैमा मान्छे बूढो हुँदैन । कतिपय महिला, पुरुषमा यस्तो सोच आएको पनि देखिन्छ । अहिले नेपालमा पनि मानिसको औसत उमेर नै ७२ वर्ष पुगिसकेको छ । हाम्रा कतिपय नेता ७० वर्ष पार गरेर पनि सक्रिय राजनीतिमा लागिरहेका छन् । चामल, तरकारी केलाउने, बोटबिरुवामा पानी हाल्ने, पूजा गर्ने, चिया बनाउने, आफ्ना लुगा धुने जस्ता हलुका काम गर्दा शरीरलाई नै कसरत हुन्छ । चलिरहेको शरीरलाई एकैचोटि पूर्ण रूपमा आराम दिँदा सुगरजस्ता अन्य जिउ दुख्ने, राति निद्रा नपर्ने अनेकौँ बिमारीले घेर्न सक्छ ।

अरू वेला घरका काम सामान्यजस्तै भए पनि चाडबाडका वेला भने बढी नै हुन्छ । यस्तोमा सबैले मिलेर घरका काम गर्नुपर्छ । पसल गएर सरसामान किनेर ल्याउने, घरको सरसफाइ, सबैका लुगा धुने, पकाउने, खुवाउने, भाँडा धुने काम एउटी महिलाको काँधमा मात्रै छोड्नु नितान्त अन्याय हो, जुन धेरैजसो परिवारमा सधैँजसो हुने गर्छ । खासगरी घरका जुठाभाँडा धुने काम कुनै पनि घरका पुरुषले गरेको देखिँदैन । पुरुषले घरका जुठा भाँडा माझ्न र श्रीमतीलगायत घरका अन्य सदस्यका लुगा धुनु हुँदैन रे ! यदि पुरुषले घरमा श्रीमती हुँदाहुँदै यस्तो गरेमा घरकी महिलालाई पाप लाग्छ सम्म भनिन्छ ।

समानताको भाषण गर्दै हिँड्ने पुरुषलाई आफ्नै घरका यस्ता काम गर्न किन हिचकिचाहट ? भारतलगायत अन्य देशमा गएर होटेलका जुठा भाँडा माझेर पठाएको पैसा आमाबुबाका लागि प्यारो हुन्छ । तर, घरका भाँडा माझ्ने बुहारीको भने घरमा कुनै इज्ज्त हुँदैन । महिलाले केही बोल्यो भने काम गर्न नसक्ने हो भने बिहे नगरी बसेको भए भइहाल्थ्यो नि, यस्ताले किन बिहे गर्नुपर्‍या थियो भन्ने टिप्पणी सुन्नुपर्छ । चाडबाडको बिदामा रमाइलो गर्ने अधिकार सबैको बराबरी हुनुपर्छ । यदि महिला र पुरुष एक रथका दुई पाङ्ग्रा या एक सिक्काका दुई पाटा हुन् भन्ने हो भने व्यवहारमा पनि समानता हुनु जरुरी छ ।