मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १ सोमबार ०७:१२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा बढ्न नदिन बैंकरबीच भद्र सहमति 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १ सोमबार ०७:१२:००

तीन वर्षपछि फेरि निक्षेपको ब्याजदर १० प्रतिशतको सीमाभित्रै राख्न बैंकरहरूबीच भद्र सहमति भएको छ । बैंकरहरूको संस्था नेपाल बैंकर्स एसोसिएसनको कार्यकारी समिति सदस्यहरूको बैठकले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धाको अवस्था नआओस् भन्दै ब्याजदर दोहोरो अंकमा नपुर्‍याउने भद्र सहमति भएको संघका उपाध्यक्ष अनिलकुमार उपाध्यायले बताए ।

 ‘यो कुनै लिखित सहमति होइन,’ कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उपाध्यायले भने, ‘अस्वस्थ प्रतिस्पर्धाका कारण समस्या नआओस् भनेर एकआपसमा मौखिक सहमति गरिएको हो ।’ ब्याजदरको निर्धारण बजारमा रहेको माग र आपूर्तिले नै गर्ने भए पनि अस्वस्थ प्रतिस्पर्धाले समेत ब्याजदर प्रभावित पार्ने भएकोले यस्तो सहमति गरिएको उनको भनाइ छ । 

अहिले बैंकहरूको निक्षेप र कर्जाको ब्याजअन्तर (स्प्रेड दर) ३ प्रतिशतभन्दा पनि मुनि आएको र निक्षेपको लागत बढाउँदा थप समस्या आउने भएकाले संयमित हुन पनि यस्तो सहमति भएको उपाध्यायले बताए । सरकारी खर्च बढ्न थालेकाले निक्षेपको वृद्धिमा सुधार हुने सम्भावना भएकाले पनि अहिलेदेखि अस्वस्थ प्रतिस्पर्धामा नलाग्न बैंकरहरूबीच समझदारी भएको बताइएको छ । २०७५ सालमा समेत राष्ट्र बैंकको पहलमा बैंकहरूबीच साधारण निक्षेपको ब्याजदर ८ प्रतिशत र मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशतभन्दा बढी हुन नदिने भद्र सहमति भएको थियो । 

आइतबारसम्म भने कात्तिकका लागि केही बैंकहरूले ब्याजदरसम्बन्धी सूचना सार्वजनिक गरिसकेका छन् । सानिमा, कृषि विकास, प्रभु, राष्ट्रिय वाणिज्य र नेपाल बैंकले ब्याजदरसम्बन्धी विवरण प्रकाशित गरेका छन् । यिनीहरूमध्ये सानिमा बैंकले साधारण निक्षेपमा एक प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ भने कृषि विकास, नेपाल र राष्ट्रिय वाणिज्य बैंकले सीमान्तदरमा वृद्धि गरेका छन् । 

कृषि विकास बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने सानिमा र राष्ट्रिय वाणिज्यले केही घटाएका छन् । प्रभु र नेपाल बैंकको भने स्थिर छ । ब्याजदर सार्वजनिक गरेका सबै वित्त कम्पनी र विकास बैंकहरूले भने निक्षेपको ब्याजदर बढाएका छन् । यिनमा सबैजसोले संस्थाहरूले मुद्दती निक्षेपको ब्याजदर १० दशमलव ५० प्रतिशतसम्म कायम गरेका छन् । मञ्जुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, पोखरा, गोरखा र समृद्धि फाइनान्स तथा एक्सेल डेभलपमेन्ट बैंकले ब्याजदर सार्वजनिक गरेका हुन् । 

गत एक साताअघि भने बैंक तथा वित्तीय संस्थासँग ४८ खर्ब रुपैयाँ निक्षेप संकलन र ४४ खर्ब ८४ अर्ब कर्जा लगानी भएको छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ८८ दशमलव ८१ छ । बैंकहरूबीचको अन्तर सापटीको ब्याजदर ४ दशमलव ८८ प्रतिशत पुगेको छ ।