मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज २६ मंगलबार ०८:३९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काबुलबाट नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज पठाउन परराष्ट्रको सुझाब

Read Time : > 3 मिनेट
२०७८ असोज २६ मंगलबार ०८:३९:००

अफगानिस्तानको राजधानी काबुलबाट उद्धार गर्नुपर्ने सूचीका करिब एक हजारजना एक महिनाअघि नै फर्किसकेका छन् । तर, रोजगारीका लागि लगिएका तर बेरोजगार अवस्थामा रहेका ३४ जना नेपाली पूर्वसुरक्षाकर्मीको उद्धारमा अस्वाभाविक ढिलाइ भएको छ । करिब दुई महिनादेखि उद्धारको पर्खाइमा रहेका उनीहरूलाई काबुलस्थित सुरक्षा प्रदायक कम्पनी आइडिजीले स्वदेश ल्याइदिने भाका सारिरहेको छ । परराष्ट्र मन्त्रालयले भने नेपाल एयरलाइन्सको विमान पठाएर नेपालीलाई उद्धार गर्नुपर्ने निष्कर्षमा पुगेको छ । 

‘काबुलस्थित आइडिजी कम्पनीले युएनमा कार्यरत ८५ जना अन्य नेपाली सुरक्षाकर्मीलाई बिदामा काठमाडौं ल्याइदिने क्रममा ३४ जना पनि समावेश गरेर जहाजमा ल्याइदिने वचन दिएको डेढ महिना भइसक्यो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘कम्पनीले कहिले इरान, कहिले अफगानिस्तानको जहाजबाट दिल्ली हुँदै ल्याइदिन्छौँ भनेर वचन दिएको दिएकै छ, तर उडान हुन सकेको छैन । दसैँमा घर आउन नपाइने हो कि भन्ने चिन्तामा उनीहरू छन् । अब विलम्ब नगरी नेपाल एयरलाइन्सको जहाज पठाएर उनीहरूलाई ल्याउनुको विकल्प छैन । अब धैर्य गर्ने समय छैन ।’ 

उद्धार गर्नुपर्ने नेपालीमध्ये कोही पाँच महिनाअघि पुगेर बेरोजगार भएका छन् भने कोही १८ महिनादेखि बेरोजगार भएका नेपाली छन् । उनीहरूलाई सुरुमा सुरक्षा प्रदायक कम्पनीका बिचौलियाले काबुलका विभिन्न होटेलमा खानपिन र बसोवासको बन्दोबस्तसहित राखेका थिए । तर, उनीहरूले जागिर पाएका थिएनन् ।काबुलबाट विदेशी नागरिकको उद्धार हुने क्रममा उनीहरू विमानस्थल पुगेर पनि उद्धार हुन पाएका थिएनन् । त्यसपछि काबुलमा रहेका शिख समुदायका गुरुद्वारा हुँदै उनीहरू अहिले काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरक्षा प्रदायक कम्पनी आइडिजीको व्यवस्थापनमा राष्ट्रसंघीय हाता (ग्रिनजोन)मा छन् ।
‘उनीहरूलाई काठमाडौं नआउन्जेलसम्मका लागि आइडिजीले खानपिन र बसोवासको प्रबन्ध गरेको छ,’ एक नेपाली अधिकारीले भने, ‘खानपिन र बसोवासको व्यवस्थाले मात्रै भएन, उनीहरूलाई काठमाडौंसम्म आउने प्रबन्ध गर्नु मुख्य कुरा हो । यसमा कुनै प्रगति भएको छैन ।’ 

एद्धार भएर आउनुपर्ने ३४ जना भए पनि काठमाडौं आउनुपर्ने उनीहरू मात्र होइनन् । संयुक्त राष्ट्रसंघको सुरक्षाका लागि खटिएका ८५ जना नेपाली सुरक्षाकर्मी बिदामा काठमाडौं आउन पाएका छैनन् । आइडिजीमार्फत कार्यरत नेपाली सुरक्षाकर्मीलाई चार्टर उडानबाट काठमाडौं ल्याउने दायित्व आइडिजीले लिएको छ । नेपाली अधिकारीहरूका अनुसार आइडिजीले नै ८५ जना सुरक्षाकर्मी आउने चार्टर जहाजमा ३४ जनालाई आफ्नै भाडा खर्चमा काठमाडौं ल्याइदिने आश्वासन दिएको थियो । पछि उक्त आश्वासनबाट कम्पनी पछि फर्केको विवरण परराष्ट्र मन्त्रालयमा पुगेको छ । 

सुरुमा १७ जना भारतीय, ८५ जना बिदामा आउनुपर्ने सुरक्षाकर्मी तथा उद्धार गर्नुपर्ने ३४ जना नेपाली पूर्वसुरक्षाकर्मीलाई ४ असोजमा काबुलबाट दिल्ली हुँदै काठमाडौं ल्याउने तयारी थियो । आउनुपर्ने सूचीमा १७ जना नेपाली मूलका भारतीय सुरक्षाकर्मी पनि भएकोले दिल्लीमार्फत उडानका लागि आइडिजीले प्रयास गरेको थियो । 

भारतीय विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघ, अफगान अधिकारी र काबुल विमानस्थलको व्यवस्थापन हेरेको कतारसँग समन्वय गरेको थियो । तर, काबुलबाट ठूला अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक उडान भरेका छैनन् । काबुलमा पाकिस्तान र कतारले चार्टर उडान भरेका छैनन् । ‘हामीलाई नेपाल पठाउने मिति सरिरहेको छ, दसैँअघि हामीलाई नेपाल पु¥याइदिए हुन्थ्यो भनेर दिल्लीस्थित नेपाली राजदूतावासमा भनिरहेका छौँ, उहाँहरू पनि हुन्छ भन्नुहुन्छ, तर हामी आउने अझै निश्चित छैन,’ उद्धारको पर्खाइमा रहेका एक नेपालीले काबुलबाट टेलिफोनमा भने । 

अघिल्लो साता नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले काबुलबाट नेपालीलाई ल्याउने विषयमा छलफल भए पनि अझै परिणाम आइनसकेको बताए । ‘हामीले निरन्तर फलोअप गरिरहेका छौँ,’ सुवेदीले भने, ‘विभिन्न मोडालिटीमा छलफल भइरहेको छ । टुंगो लागेपछि हामी जानकारी दिनेछौँ ।’ 

काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरक्षा प्रदायक कम्पनी आइडिजीले ४ असोजमा इरानको महान एयरलाइन्सबाट तेहरान भएर नेपालीलाई काठमाडौं उडान भर्ने तय गरेको थियो । सुरुमा २ असोजमा ल्याउने भनेको आइडिजीले प्राविधिक कारण देखाएर दुई दिन पछि सारेको थियो । अफगानिस्तानबाट उडान भर्ने भनिएका एयरलाइन्सहरूले अन्तर्राष्ट्रिय नियम पालना गरेका छैनन् ।

भारतमा एयरपोर्टको बक्यौता तिर्न बाँकी र कतिपय कालोसूचीमा रहेका एयरलाइन्सबाट आइडिजीले सुरक्षाकर्मी र उद्धार गर्नुपर्ने नेपालीलाई दिल्ली ल्याउन खोजेका कारण दिल्लीले अनुमति नदिएको एक जानकार अधिकारीले बताए । उद्धार गर्नुपर्ने ३४ जना नेपालीमध्ये २९ जनासँग भएको पासपोर्टमा भिसाको म्याद सकिएको थियो । उनीहरूले तिर्नुपर्ने विलम्ब शुल्क सुरुमा आइडिजीले नै व्यहोर्ने भनेको थियो । तर, आइडिजीका अधिकारीहरूले पछि मिनाहा गर्न नसकिने भनेका थिए भने नेपाल सरकारका तर्फबाट उक्त रकम तिर्ने वचन दिइएको थियो । 

दिल्लीस्थित दूतावासले पासपोर्ट नभएका तीनजनालाई काबुलबाट एकतर्फी नेपाल आउन दुईपटक ट्राभल डकुमेन्ट जारी गरिसकेको छ । एक महिना म्याद रहेको ट्राभल डकुमेन्ट पुनः दूतावासले पठाएको छ । बाँकी दुईजनासँग भिसासहितको पासपोर्ट छ । ‘भिसाको विलम्ब शुल्क, टिकटको पैसा सबै तिर्ने वचन नेपाल सरकारका तर्फबाट गरिएको छ, तैपनि उडान भर्ने अझै निश्चित नभएपछि हामी पनि चिन्तित छौँ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘अब नेपाल एयरलाइन्सको जहाज पठाएर उद्धार गर्नुको विकल्प छैन ।’

असोज पहिलो साता अफगानिस्तानको काम एयरलाइन्सले दिल्लीमा उडान भर्न अनुमति मागेको थियो । आइडिजीमार्फत अनुमति माग भएकोमा भारतीय पक्षले अनुमति दिने जवाफ दिएको थियो । तर, अफगानिस्तान सरकारलाई मान्यता नदिएका कारण भारतले काम एयरलाइन्सलाई अनुमति दिने प्रक्रिया अघि बढाएन । काम एयरलाइन्स आफैँमा अन्तर्राष्ट्रिय रूपमा कालोसूचीमा रहेका कारण भारतले अनुमति दिएन । 

अब आइडिजीले पुनः इरानियन महान एयरको उडानबाट तेहरान हुँदै नेपाल आउने तयारी थाले पनि उक्त एयरलाइन्सको पनि कानुनी जटिलताका कारण सम्भव भएन । ‘आइडिजीले पछिल्लो समयमा नामै नसुनिएका एयरलाइन्सबाट उद्धार गर्ने आश्वासन दिएको छ, तर ती एयरलाइन्सहरू विश्वसनीय नभएका कारण दिल्लीले ल्यान्डका लागि अनुमति नदिएको अवस्था छ,’ परराष्ट्रका एक अधिकारीले भने । 

काठमाडौंबाट नेपाल एयरलाइन्सको विमान लगेर चार्टर उडानमार्फत ३४ जनासहित राष्ट्रसंघीय कार्यालयमा कार्यरत ८५ जनालाई ल्याउने विषयमा परराष्ट्र मन्त्रालयले छलफल थालेको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै नेपाल एयरलाइन्सको विमान पठाउने प्रक्रिया सुरु हुनेछ । त्यसपछि काबुलमा नेपाल एयरलाइन्सको जहाज ल्यान्डका लागि तथा अफगानिस्तान, पाकिस्तान र भारतसँग हवाई स्पेसका लागि अनुमति माग्नुपर्नेछ । शुक्रबार नेपाली राजदूतावासले परराष्ट्रलाई सुझाब पठाउँदै नेपाल एयरलाइन्सको विमान पठाएर दसैँअघि नै नेपालीलाई उद्धार गर्नुपर्ने ध्यानाकर्षण गराएको परराष्ट्र स्रोतले बतायो । परराष्ट्रले पनि प्रधानमन्त्री कार्यालयलाई यही सुझाब दिएको छ ।