१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
यस वर्षको बर्खामा अधिक पानी परेकाले मोहना नदीले कटान गरेको हिम्मतपुर क्षेत्र ।तस्बिर : नयाँ पत्रिका
२०७८ असोज २५ सोमबार ०७:२२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीबाट विस्थापित  परिवार घर फर्कन पाएनन् 

मोहना नदीले लगातार जमिन कटान गरेपछि बाढीपीडितको वनछेउमा वास

Read Time : > 2 मिनेट
२०७८ असोज २५ सोमबार ०७:२२:००

कैलाली भजनी नगरपालिका–७ हिम्मतपुरका शिवलाल चौधरीको सातजनाको परिवार साढे दुई महिनादेखि स्थानीय हिम्मतपुर सामुदायिक वनको छेउमा टहरा बनाएर बसिरहेको छ । मोहना नदीमा आएको बाढीले तीव्र कटान गर्दा गत ८ साउनमा विस्थापित भएको उनको परिवार घर फर्कन सकेको छैन ।

विस्थापित भएको केही दिनमै घरबार रहेको एक कठ्ठा जमिन नदीले बगाइसकेको छ । नदीले बगाउनुअघि आफैँ घर भत्काएर सामान सुरक्षित ठाउँमा सारेको चौधरी परिवार त्यसपछि बसोवासको अन्य विकल्प नहुँदा समस्यामा छ । टहराको बसाइ निकै कष्टकर भए पनि कतै जाने विकल्प नभएको उनले बताए । ‘घरबार नदीले लग्यो । बचेको केही धुर जग्गा नदीकै किनारामा परेकाले त्यहाँ घर लगाउन मिल्ने अवस्था छैन,’ चौधरीले दुःख सुनाए, ‘घरटहरा बनाउन अन्यत्र आफ्नो जग्गा छैन, हामी बिचल्लीमा परेका छौँ ।’

मोहनाको कटानले घर जोखिममा परेपछि विस्थापित स्थानीय जयराम चौधरीको परिवार हुलाकी राजमार्गको छेउमा त्रिपाल टाँगेर बसेको छ । उनको घरवास पनि नदीले कटान गरिसकेको छ । कटान तीव्र हुँदा नदी आँगनमै पुगेपछि उनले स्थानीयको सहयोगमा आफ्नो घर भत्काए । कच्ची घरको काठपातलगायत सामान हिम्मतपुर सामुदायिक वनको छेउमा राखेर उनी राजमार्गमा सरेका हुन् ।

घामपानी, हावाहुरी नछेक्ने टहरामा बस्दा सर्प, किराफट्यांग्रा आदिको उत्तिकै डर रहेको जयरामले बताए । ‘खानेपानी, शौचालयको निकै समस्या छ,’ उनले भने, ‘विस्थापित साना बालबालिका र बूढापाकालाई झन् सास्ती छ ।’ घरबार बाढीले बगाएकाले कहाँ बस्ने भन्ने अन्योल रहेको उनले दुखेसो पोखे । 

विस्थापित १५ परिवारको बिचल्ली
मोहना नदी कटानले घर बगाउन थालेपछि विस्थापित हिम्मतपुर गाउँका १५ परिवार बिचल्लीमा परेका हुन् । गत साउन पहिलो साता विस्थापित उनीहरू स्थानीय हिम्मतपुर सामुदायिक वन र हुलाकी राजमार्गको छेउछाउमा टहरा बनाएर बसिरहेका छन् । घरवास नदीले कटान गरिसकेकाले उनीहरूको उठीवास लागेको छ । घरवास नहुँदा आफूहरू बिचल्लीमा परेको पीडितको गुनासो छ । जमिन कटान गर्दै नदी बस्तीमा सोझिएपछि उनीहरू विस्थापित भएका हुन् । नदीले बगाउनुअघि नै प्रहरी र स्थानीय मिलेर जोखिममा रहेका घर भत्काएर सामान भने सुरक्षित स्थानमा सारेका थिए । नदीले बगाउन थालेपछि आफ्नै घर भत्काएर विस्थापित हुनुपरेको पीडित किसनलाल चौधरीले बताए । 

विस्थापित भन्छन्– सुरक्षित आवास देऊ
विस्थापित परिवारले नगरपालिकाबाट त्रिपालबाहेक कुनै राहत र सहयोग नपाएको गुनासो गरेका छन् । बसिरहेको स्थानबाट वनले हटाए आफूहरूको थप बिचल्ली हुने भन्दै सुरक्षित बसोवासको व्यवस्थाका लागि पहल गरिदिन सरोकारवालालाई आग्रह गरेका छन् । सुरक्षित घरवासको व्यवस्था गरिदिन आग्रह गर्दै आफू जिल्ला प्रशासन कार्यालयमा पनि गएको जयरामले बताए ।

प्रमुख जिल्ला अधिकारीले स्थलगत अनुगमन गरेर आवश्यक सहयोग गर्ने आश्वासन दिएको स्थानीयको भनाइ छ । घरवास मात्रै भए पनि सरकारले उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ । ‘स्थायी रूपमा सडकमा बस्न सम्भव हुँदैन । त्यसैले घर बनाउनका लागि भए पनि हामीलाई जग्गा दिनुप¥यो,’ जयरामले भने । वडाध्यक्ष अमरबहादुर कठरियाले विस्थापितलाई अस्थायी रूपमा वनकै छेउमा बस्न दिन आग्रह गर्दै नगरपालिकाले प्रशासन र वन कार्यालयलाई पत्राचार गरेको बताए । घरवास कटान भएकाले विस्थापितहरू पहिलेकै ठाउँमा फर्कने अवस्था नरहेको उनका भनाइ छ ।

तटबन्ध नहुँदा गाउँ जोखिममा
हिम्मतपुर गाउँमा एक सय एक परिवारको बसोवास छ । मोहना नदीको बाढीले गाउँमा डुबान गर्ने भएकाले उनीहरूले बाढी रोक्न माटोको ड्याम बनाएका थिए । यस वर्षको बाढीले ड्याम पनि बगाएको छ । नदीले धार फेरेकाले अब गाउँ पनि सुरक्षित नरहेको हिम्मतपुरका भल्मन्सा बालकिसन चौधरीले बताए ।

नदीमा तटबन्ध नहुँदा केही वर्षयता करिब २० बिघा जमिन कटानमा परेको स्थानीयको भनाइ छ । ‘नदीले धार फेर्दै लगेकाले गाउँ सुरक्षित छैन । तटबन्ध नबनाउने हो भने ढिलोचाँडो गाउँ नै विस्थापित हुनुपर्छ,’ उनले भने, ‘सिंगो गाउँ जोखिममा परेकाले यहाँका जनप्रतिनिधि, स्थानीय निकाय, प्रशासन सबैलाई तटबन्ध बनाइदिन गुहार पनि मागेका थियौँ । सबैले आश्वासन मात्र दिए ।’