१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २५ सोमबार ०७:१८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सरकारद्वारा खसी–बोका बिक्री सुरु, निजीमा पनि भिड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २५ सोमबार ०७:१८:००

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी–बोका बिक्री सुरु गरेको छ । संस्थानकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार शनिबारबाट थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयबाट प्रतिकिलो ६ सय ४० रुपैयाँका दरले खसी–बोका बिक्री सुरु भएको हो ।

बिक्री सुरु भएको पहिलो दिनबाटै उपभोक्ताको भिड बढेको उनले जानकारी दिइन् । ‘हामीले दाङ र मकवानपुरबाट खसी–बोका ल्याएर बिक्री थालेका छौँ,’ उनले भनिन्, ‘उपभोक्ताको भिड पनि बढेको छ ।’ कम्पनीले प्रतिकिलो जिउँदो खसी–बोका पाँच सय ४५ रुपैयाँदेखि पाँच सय ७० रुपैयाँसम्ममा किनेर ल्याएको छ । 

यसमा लागत मूल्य जोडेर कम्पनीले बिक्री गरेको हो । न्यौपानेका अनुसार जिउँदो खसी–बोकाको मूल्य ६ सय ५० रुपैयाँ निर्धारण गरिएको थियो । त्यसमा सरकारको निर्देशनअनुसार प्रतिकिलो १० रुपैयाँ छुट कायम गरी ६ सय ४० रुपैयाँमा बिक्री थालिएको हो । खरिदकै वेला खसी–बोकाको स्वास्थ्य जाँच गरेको र थापाथलीस्थित बिक्री केन्द्रमा पनि पशु चिकित्सकहरूले थप परीक्षण गरेकाले निरोगी खसी–बोका उपभोक्ताले पाउने कम्पनीको भनाइ छ ।

दाङबाट आठ सय र मकवानपुरबाट १२ सय खसी–बोका ल्याइने उनले जानकारी दिइन् । माग बढेको खण्डमा थप खसी–बोका उपलब्ध गराउने पनि कम्पनीको योजना छ । यसपालि खसी–बोका खरिद गर्न कम्पनीले ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कम्पनीले गत वर्षको तुलनामा यसपटक प्रतिकिलो ९० रुपैयाँ बढी मूल्य निर्धारण गरेको हो । खसीको मासुको मूल्य बढेकाले खरिद मूल्य बढेका कारण सोहीअनुसार मूल्य समायोजन गरिएको न्यौपानेले जानकारी दिइन् ।

निजी क्षेत्रका व्यवसायीले कलंकी खसी बजार, टुकुचा, भक्तपुरको सल्लाघारीलगायतका विभिन्न चोकमा राखेर बिक्री थालेका छन् । कलंकीको खसी बजारमा व्यवसाय गर्दै आएका चौपाया खरिद–बिक्री सेवासंघका पूर्वअध्यक्ष दीपक थापाका अनुसार खसी–बोकाको माग धेरै बढिरहेको छ । ‘आजभोलि माग ह्वात्तै बढेको छ । त्यसैले दिनहुँ ट्रकमा हालेर खसी–बोका ल्याइरहेका छौँ,’ उनले भने ।

निजी क्षेत्रले पनि सरकारी मूल्यकै दरमा खसी–बोका बिक्री गरिरहेको छ । थापाका अनुसार शनिबार नेपाली खसी–बोका (जिउँदो) ६ सय ४० रुपैयाँ प्रतिकिलो आसपासमा बिक्री भएको थियो । भारतीय खसी–बोका भने सात सय २० रुपैयाँ प्रतिकिलो आसपासमा बिक्री भएको थियो । थापाका अनुसार भारतीय खसी–बोका काट्दा नोक्सानी हुने दर निकै कम हुने र ढुवानीलगायत लागत खर्च बढी हुने भएकाले मूल्य पनि बढी पर्न गएको हो ।

‘३० किलोको नेपाली खसी–बोका काट्यो भने १५–१८ किलो मात्रै मासु हुन्छ । त्यत्रै तौलको भारतीय खसी–बोका काट्दा २०–२२ किलोसम्म मासु हुन्छ,’ थापाले भने, ‘त्यसैले भारतीय खसीको मूल्य पनि बढी पर्न जान्छ ।’ यसपटकको दसैँमा ५० हजारभन्दा बढी खसी–बोकाको कारोबार हुने र त्यसमध्ये ६० प्रतिशत नेपाली तथा ४० प्रतिशत भारतबाट आयात हुने थापाले जानकारी दिए ।