मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २४ आइतबार १६:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनहितमा काम गर्न नवनियुक्त मन्त्रीहरूलाई अध्यक्ष नेपालको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २४ आइतबार १६:०२:००

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरूलाई इमानदारी र कर्तव्यनिष्ठका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन्। पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर नेपालले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका हुन्।

उनले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पनि मन्त्रीहरूलाई सचेत गराएका छन्।

‘तपाईंहरूले इमानदारीका साथ, कर्तव्यनिष्ठताका साथ आफ्नो काम सम्पादन गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। इमानदारी र कर्तव्यनिष्ठको भावनालाई सर्वोपरि राखेर आफ्नो कार्यसम्पादन गर्ने कुरामा तपाईंहरूको ध्यान म आकर्षित गर्न चाहन्छु। काम गर्दाखेरि राष्ट्रको हितलाई र जुन संस्थाको जिम्मेवारी तपाईंहरूले सम्हालिरहनुभएको छ, त्यो संस्थाको हितलाई केन्द्रबिन्दुमा राखेर, अनि जनताको हितलाई केन्द्रबिन्दुमा राखेर तपाईंहरूले काम गर्नुहुनेछ। यस अर्थमा राष्ट्रको हित, जनताको हित र संस्थाको हितलाई तपाईंहरूले केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने हुन्छ,’ उनले भने।

अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनै पनि काम हुनु नहुनेमा जोड दिए। पदीय मर्यादा र गरिमाविपरीतका काम नगर्न पनि उनले मन्त्रीहरूलाई निर्देशन दिएका छन्।