मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ असोज २३ शनिबार १३:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेपत्ता भएकी बलात्कार पीडित बालिका फेला परिन्, 'होस्टाइल' गराउने योजनामा पीडक पक्ष

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असोज २३ शनिबार १३:५३:००

एक हप्ताअघि अचानक बेपत्ता भएकी बलात्कारपीडित बालिका फेला परेकी छन्। उनलाई सुनसरीको दुहबीमा फेला पारी प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

एक महिनाअघि छिमेकी २९ वर्षीय रामकुमार यादवबाट बलात्कारमा परेकी बालिका एक हप्ताअघि अचानक घरबाट बेपत्ता भएकी थिइन् । सुनसरी बराहक्षेत्र ६ की १६ वर्षीया ती बालिका २२ असोजमा सुनसरीको दुहबीमा फेला परेकी प्रहरीले जनाएको छ ।

पीडित बालिका हराएको सूचना आएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले खोजी कार्य थालेको थियो । खोजी गर्दा उनी दुहबीमा भाडाको कोठामा बसेको पाइएको र उनलाई ल्याएर शुक्रबार आमाको जिम्मा लगाएको कार्यालयका इन्स्पेक्टर पाण्डवकुमार राजवंशीले जानकारी दिए । कल डिटेलका आधारमा अनुसन्धान गर्दा बालिकालाई बलात्कार गर्ने केटाका आफन्तले संरक्षण दिएको प्रस्ट भएको बताइएको छ ।

यद्यपि, पीडित बालिकालाई ललाइफकाइ संरक्षण दिएर राख्ने पीडित पक्षमाथि प्रहरीले कुनै कानुनी कारबाही चलाएको छैन। इन्सपेक्टर पाण्डवकुमारले फेला परेकी बालिकाले आफूलाई कसैले बेपत्ता नपारेको र कोठा पनि आफैँले खोजेको भन्ने बयान दिएकाले पीडक पक्षलाई एकपटकलाई सम्झाएर चेतावनी दिएर छाडिएको बताए । उनले फेरि यस्तो घटना दोहोरिए मतियारका रूपमा मुद्दा दर्ता गराउने बताए ।

प्रहरीका अनुसार पीडित बालिकालाई पुर्पक्षका लागि जेलमा रहेका यादवले पटक–पटक फोन गरेर आफूसँगै बिहे गर्न र अलग्गै कोठा लिएर बस्न दबाब दिँदै आएका पाइएको थियो । उनकै आग्रहमा आफन्तले कोठा खोजिदिएर राखेका हुन् । 

छोरी बेपत्ता भएपछि बालिकाकी आमा उर्मिलाले मुसहर समुदायको अवस्था बुझ्न बराहक्षेत्रको भलुवाचौरी पुगेका प्रदेश सांसदहरूको छोरी खोजी गरेर न्याय दिलाइदिन बिलौना गरेकी थिइन्। उर्मिलाका अनुसार बालिकालाई बिहे गर्ने प्रलोभन देखाएर अदालतमा बकपत्रमा बयान फेर्न लगाएर अपराधमुक्त्त हुने पीडकको योजना छ। प्रेमजालको बहानामा दलित बालिकालाई ललाइफकाइ होटेलमा लगेर यादवले बलात्कार गर्दै आएका थिए । बालिकालाई होटेलमा बलात्कार गर्दैगर्दा उनलाई पक्राउ गरी प्रहरीले अदालतमा मुद्दा दर्ता गराएको थियो। बालिका बलात्कार कसुरमा सुनसरी अदालतले यादवलाई पुर्पक्षका लागि कारागार पठाएको थियो । उनी हाल झुम्का कारागारमा बन्दी छन् ।

बलात्कार गर्नेहरूलाई सुरुमा प्रहरीले पक्राउ गरेर अदालतमा पेस गरेर पुर्पक्षमा गएपछि प्रलोभन र दबाबले गर्दा पीडितहरू अदालतमा बकपत्र गर्दा होस्टाइल भइदिँदा (बयान फेरिदिँदा) अभियुक्तहरूले सफाइ पाउने गरेका छन् ।