मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन अर्याल काठमाडौं
२०७८ असोज २३ शनिबार ०८:५८:००
Read Time : > 5 मिनेट
अर्थ प्रिन्ट संस्करण

नोभेम्बरदेखि सञ्चालनमा आउँदै ‘हायात प्लेस’ होटेल

Read Time : > 5 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७८ असोज २३ शनिबार ०८:५८:००
  • काठमाडौंका होटेलका कोठामा आन्तरिक पर्यटक त्यति नबस्ने हुँदा विदेशी पर्यटक नै मुख्य ग्राहक
  • गार्डेन टेरेस रुमको बाहिर आकर्षक गार्डेन हुन्छ, जहाँ बस्दा खुलापन महसुस हुने मात्र नभई काठमाडौं उपत्यकाको आकर्षक दृश्यावलोकन गर्न पनि पाइनेछ

व्यावसायिक घराना गोल्यान ग्रुपले काठमाडौंको ताहाचलमा निर्माण गरेको पाँचतारे होटेल नोभेम्बरदेखि सञ्चालनमा आउने भएको छ । अहिले होटेलका रुम, बाथरुम, किचन, स्विमिङ पुल, इक्विपमेन्टहरूको अन्तिम परीक्षण भइरहेको छ । होटेल व्यवस्थापनको जिम्मेवारी अन्तर्राष्ट्रिय चेन कम्पनी हायात इन्टरनेसनलको ‘हायात प्लेस’ ब्रान्डले लिइसकेको छ । 

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

कोभिड महामारीकै बीचमा ‘हायात प्लेस’को सफ्ट ओपनिङ गर्न लागिएको हो । होटेलका एक सय ५३ वटै कोठाहरू तयार भइसकेका छन् । अहिले होटेल सञ्चालनको अन्तिम तयारी भइरहेको गोल्यान ग्रुपका निर्देशक अक्षय गोल्यानले बताए । अन्तर्राष्ट्रिय चेन हायात प्लेसको व्यवस्थापनले होटेल सम्हालिसकेको छ । सरकारको कोभिडसम्बन्धी गाइडलाइन पालना गरेर होटेल सञ्चालन गर्न लागेको हायात प्लेसका महाप्रबन्धक वरुण तलवारले बताए । नेपालमा हायात ब्रान्डमा दुईवटा पाँचतारे होटेल पुगेका छन् । यसअघि नै बौद्धमा हायात रिजेन्सी सञ्चालनमा आइसकेको छ । वरुणसँग हायात रिजेन्सीमा साढे चार वर्ष काम गरेको अनुभव छ । 

१० रोपनी क्षेत्रफलमा फैलिएको हायात प्लेस १४ तला अग्लो छ । होटेलबाट स्वयम्भूनाथ मन्दिर नजिकै देखिन्छ । अक्षयका अनुसार होटेलका ७५ वटै कोठाबाट स्वयम्भूनाथको दर्शन गर्न पाइन्छ । यो होटेलमा करिब चार अर्ब रुपैयाँ लगानी भएको छ । होटेल पूर्ण रूपमा तयार भइसकेको अक्षयको भनाइ छ । हायात प्लेस सन् २०२० को पर्यटकीय सिजनमा सञ्चालनमा ल्याउने तयारी भइरहेको थियो । तर, कोभिड महामारीले सञ्चालन अवधि झन्डै डेढ वर्ष पछाडि धकेलिन पुग्यो । कोभिडले होटेल सञ्चालनमा ढिलाइ हुँदा करिब ७० करोड रुपैयाँ अतिरिक्त खर्च बढेको उनी बताउँछन् । 

एउटा पाँचतारे होटेलमा हुनुपर्ने सम्पूर्ण सेवा–सुविधा हायात प्लेसमा उपलब्ध हुने अक्षयको भनाइ छ । अन्तर्राष्ट्रिय ब्रान्डले व्यवस्थापन गरेपछि होटेलको सर्भिस पनि उच्चस्तरको हुने नै छ । ‘हामी होटेलका सेवा–सुविधामा कुनै पनि कम्प्रमाइज गर्दैनौँ, होटेलमा आउने पाहुनाहरू सन्तुष्ट बनेर फर्किनुपर्छ भन्ने मान्यता राख्छौँ,’ महाप्रबन्धक वरुणले भने, ‘होटेल पनि त्यहीअनुसार तयार भएको छ ।’

होटेलमा लक्जरी र बिजनेस क्याटेगोरीका ग्राहकलाई लक्षित गरेर कोठाहरू तयार पारिएको छ । पार्किङका लागि दुईतला बेसमेन्ट छ । होटेलको भुइँतलामा नेपाली मौलिकपन झल्किने खालको लबी, ओपन किचेन तथा डाइनिङ, ठूलो ब्यांक्वेट–कन्फ्रेन्स हल, रिसेप्सनको छेवैमा सानो रेस्टुरेन्ट पनि बनाइएको छ । होटेलको लबीबाटै लक्जरी फिल हुनेछ । 

पहिलो तला होटेलको सर्भिसका लागि छुट्याइएको छ । दोस्रो तलामा फुल साइजको खुला स्विमिङ पुल छ, जुन ब्यांक्वेट–कन्फ्रेन्स हलको ठीकमाथि पर्छ । भुइँतलामा रहेको चार सयजना अटाउने ब्यांक्वेट हलको उचाइ दुई तलाबराबरको छ । स्विमिङ पुलको छेवैमा खुला रेस्टुरेन्ट एन्ड बार हुनेछ, जहाँ पुलसाइट पार्टीहरू हुनेछन् । पछिल्लो समय ओपन रेस्टुरेन्ट कल्चर पनि बढ्दै गइरहेको छ । दोस्रो तलामै हेल्थ क्लब र मिटिङ रुमहरू रहेका छन् ।   

१४ तलाको भवनमा दुई तलाभन्दा माथि सबै रुमहरू हुन् । होटेलमा स्विट रुमहरू र सातवटा गार्डेन टेरेस रुम पनि रहेका छन् । गार्डेन टेरेस रुमको बाहिर आकर्षक गार्डेन हुन्छ, जहाँ बस्दा खुलापन महसुस हुने मात्र नभई काठमाडौं उपत्यकाको आकर्षक दृश्यावलोकन गर्न पनि पाइनेछ । होटेलबाट स्वयम्भू छर्लंग देखिन्छ । स्वयम्भूनाथ देखिने र नदेखिने कोठाको मूल्य पनि फरक–फरक हुने बताइएको छ । होटेलका ७५ वटा कोठाहरू स्वयम्भूतिर फर्किएका छन् । ‘होटेलको माथिल्ला तलामा रहेका कोठाहरूबाट स्वयम्भूनाथ मन्दिर नजिकै छर्लंग देखिने हुँदा पाहुनाले गज्जब फरकपन महसुस गर्न पाउनेछन्,’ ग्रुपका अध्यक्ष पवन गोल्यानले भने, ‘रातिको समयमा बत्तीले सजिएको उज्यालो स्वयम्भूनाथ मन्दिरको दृश्यावलोकन गर्दा जोकोही मोहित हुन्छ ।’

हायात प्लेसमा तत्काल क्यासिनोको सुविधा हुनेछैन । तर, क्यासिनो सञ्चालनका लागि पनि तयारी भइरहेको अक्षयले बताए । खासगरी इन्डियन र चाइनिज पर्यटक, ट्रेकिङ ग्रुपहरू, बिजनेस क्लाइन्ट, ठूला कन्फ्रेन्सहरू होटेलका ग्राहकहरू हुनेछन् । काठमाडौंका होटेलका कोठामा आन्तरिक पर्यटक त्यति नबस्ने हुँदा विदेशी पर्यटक नै मुख्य ग्राहक हुनेछन् । तर, सभा–सेमिनार, कर्पोरेट मिटिङ, व्यक्तिगत भेटघाट, एनजिओ–आइएनजिओका कार्यक्रमहरू भने पाँचतारे होटेलमा बाक्लै हुने गर्छन् । होटेलमा हुने कार्यक्रमहरू र आन्तरिक पर्यटकलाई आफूहरूले प्राथमिकतामा राख्ने महाप्रबन्धक वरुणले बताए ।

गोल्यान ग्रुपले सुरुमा दुई बिल्डिङ अपार्टमेन्टको प्लानिङ गरेको थियो । तर, विनाशकारी भूकम्पपछि अपार्टमेन्टसहितको होटेल बनाउने निर्णय भएको अक्षयले बताए । अहिले होटेलपरिसरमा रहेको गगनचुम्बी अपार्टमेन्टमा गोल्यान ग्रुपको कर्पोरेट अफिस र गोल्यान परिवार बसोवास गर्दै आइरहेका छन् । ‘म अहिले अपार्टमेन्टको टप फ्लोरमा बस्दै आइरहेको छु, जहाँबाट देखिने सुन्दर दृश्यहरूले मोहित बनाउँछ,’ पवन गोल्यान भन्छन्, ‘अपार्टमेन्टको बसाइ निकै रोमाञ्चक र सहज भइरहेको छ ।’

हायात प्लेस इन्टरनेसनल्ली फोरस्टार क्याटेगोरीको होटेल हो । तर, गोल्यान ग्रुपले पाँचतारे होटेलकै प्रोपर्टी बनाएको छ । ‘हाम्रो पाँचतारे होटेल नै हो, रेटिङ र सेवा–सुविधा पनि पाँचतारेस्तरकै हुनेछ,’ अक्षयले भने । हायात प्लेसले भारतमा पनि विभिन्न पाँचतारे होटेल सञ्चालन गरिरहेको छ । पहिला गोल्यान ग्रुपले हायात प्लेस बिजनेस होटेल बनाउने योजना बनाएको थियो । तर, होटेलको भौतिक संरचना निर्माण गर्दै जाँदा फिनिसिङ फाइभ स्टार होटेलको बन्यो । अक्षयका अनुसार हायात प्लेससँग होटेल सञ्चालनका लागि ५–६ वर्षअघि नै एग्रिमेन्ट भइसकेको थियो । त्यही एग्रिमेन्टका आधारमा पाँचतारे होटेलको व्यवस्थापनमा हायात प्लेस आएको हो । यो होटेल व्यवस्थापनका लागि हायात इन्टरनेसनलले हायात रिजेन्सी ब्रान्ड दिन पनि राजी थियो । हायात रिजेन्सी फाइभ स्टार होटेल क्याटेगोरी हो, जसले बौद्धको पाँचतारे होटेल व्यवस्थापन गरिरहेको छ । तर, हायात रिजेन्सी ल्याउँदा थप ५–६ महिना लाग्ने भएपछि अहिले हायात प्लेसकै व्यवस्थापनमा होटेल सञ्चालन गर्न लागेको बताइएको छ । गोल्यान ग्रुपको पाइपलाइनमा अरू पाँचतारे होटेलहरू पनि छन्, जसमा हायात रिजेन्सी, ग्रान्ड हायातलगायतसँग सहकार्य हुने अक्षयले बताए ।

हायात प्लेस ब्रान्डमा अहिले संसारभरि दुई सयभन्दा बढी होटेल सञ्चालनमा रहेको अक्षय बताउँछन् । भारतका विभिन्न सहरमा दुई दर्जनभन्दा बढी हायात प्लेस होटेल सञ्चालनमा छन् । 

ब्रान्ड ल्याउँदाका फाइदा
विदेशी बहुराष्ट्रिय ब्रान्डहरू ल्याउँदा होटेल सञ्चालन गर्न धेरै सहज हुने व्यवसायीहरूको तर्क छ । अन्तर्राष्ट्रिय चेनलाई विश्वभरि होटेल सञ्चालन गरेको लामो अनुभव पनि हुन्छ । विश्वभरि यात्रा गर्ने यात्रीहरूले बहुराष्ट्रिय ब्रान्डको म्यानेजमेन्टलाई रुचाइरहेका पनि छन् । ‘अन्तर्राष्ट्रिय ब्रान्ड आउँदा होटेलको सेवा–सुविधाको स्ट्यान्डर्ड मेन्टेन हुन्छ,’ अक्षय सुनाउँछन्, ‘अर्को कुरा ब्रान्डसँग विश्वभरि नेटवर्क हुने हुँदा मार्केटिङ गर्न पनि सहज हुन्छ ।’ 

के हो हायात इन्टरनेसनल ?
हायात इन्टरनेसनल बहुराष्ट्रिय चेन होटेल कम्पनी हो, जसको मातहतमा डेढ दर्जन प्रख्यात होटेल ब्रान्ड रहेका छन् । हायात इन्टरनेसनलले पार्क हायात, मिरावल, ग्रान्ड हायात, हायात रिजेन्सी, हायात, हायात प्लेस, हायात हाउस, हायात रेसिडेन्सी क्लब, अन्दाज, अलिला, थोमसन होटेल, हायात सेन्टर, क्याप्सनलगायत १८ ब्रान्डहरूमार्फत विश्वभरि लक्जरी तथा बिजनेस होटेल तथा रिसोर्ट सञ्चालन गर्दै आइरहेको छ ।

सन् २०२३ सम्म पर्यटन लयमा फर्किनेछ : वरुण तलवार महाप्रबन्धक, हायात प्लेस होटेल

होटेल सञ्चालनको तयारी के भइरहेको छ ?
हायात प्लेस दसैँ र तिहारको बीचमा सञ्चालनमा आउँछ । अहिले हामी टेस्टिङको काम गरिरहेका छौँ । तत्काललाई होटेलको सफ्ट लन्चिङ हुन्छ । सरकारको गाइडलाइन पालना गरेर रेस्टुरेन्ट चलाउँछौँ । हामी तत्काल तीन तला मात्र सञ्चालनमा ल्याउँदै छौँ । बिस्तारै फुल अपरेसनमा जानेछौँ । 

कोभिडले विश्वभरिकै पर्यटन ठप्प छ । यही वेला पाँचतारे होटेल सञ्चालनमा ल्याउँदै हुनुहुन्छ,  सुरुमा कत्तिको बिजनेसको अपेक्षा गर्नुभएको छ ?
अहिले हामी होटेल सफ्ट लन्च गर्छौँ । अहिलेकोे अवस्थामा तत्काल ठूलो बिजनेसको अपेक्षा गरेको छैन । अरू होटेलको अवस्था पनि त्यही होला । अपेक्षा गरौँ, अहिलेको अवस्था बिस्तारै सुधार हुँदै जानेछ । पर्यटक आउन थाल्नेछन् । नेपाल सरकारले पनि कोभिडविरुद्धको खोप लगाएका पर्यटकलाई अनअराइभल भिसा खुला गरिसकेको छ । उनीहरू क्वारेन्टिन पनि बस्नुपर्दैन । यो व्यवस्थाले पनि मार्केटमा सकारात्मक सन्देश गएको छ । यस्तै, कोभिडमा इन्डियाका धेरै उडान कटौती गरिएको थियो । अहिले उडानहरू पनि थपिँदै गइरहेका छन् । इन्डियामा उडान थपिनेबित्तिकै त्यहाँबाट पर्यटक आउन थाल्नेछन् । र, पर्यटन बजार बिस्तारै लयमा फर्किन थाल्नेछ ।

अहिले नेपालमा होटेलको बाढी आइरहेको छ । यो भिडमा अलग पहिचान बनाउन तपाईंहरूको हस्पिटालिटी कस्तो हुन्छ ?
हायात प्लेसमा एक सय ५३ कोठाहरू छन् । सातवटा टेरेस गार्डेनसहितका रुमहरू पनि छन् । होटेलका आधा कोठाबाट स्वयम्भूनाथ मन्दिर देख्न सकिन्छ । दुई तलामाथि स्विमिङ पुल छ, छेवैमा ओपन रेस्टुरेन्ट एन्ड बार हुन्छ । त्यहाँ हामीले फरक खालको माहोल क्रिएट गर्न खोजेका छौँ । हाम्रो होटेलका सबै कर्मचारी योङ र फ्रेन्ड्ली छन् । उनीहरूले राम्रो सर्भिस दिन कन्जुस्याइँ गर्नेछैनन् । हामी क्विक सर्भिस उपलब्ध गराउँछौँ । 

‘हायात प्लेस’ कस्तो ब्रान्ड हो ? 
बहुराष्ट्रिय कम्पनी हायात इन्टरनेसनलका डेढ दर्जन होटेल ब्रान्ड छन्, जसमध्ये एउटा हो, हायात प्लेस । यो ब्रान्डले विश्वभरि होटेल सञ्चालन गर्छ । विश्वव्यापी कुरा गर्दा हायात प्लेस सेलेक्ट सर्भिस ब्रान्ड हो । नेपालमा पाँचतारे होटेल व्यवस्थापन गर्दै छौँ । इन्डियामा पनि हायात प्लेस फुल सर्भिस ब्रान्ड हो । हायात आफँैमा स्थापित ब्रान्ड हो । यो कम्पनीका डेढ दर्जन ब्रान्डले विश्वभरि लक्जरी होटेल तथा रिसोर्ट सञ्चालन गर्छन् । 

नेपालमा पर्यटनको सम्भावना कत्तिको देख्नुभएको छ ?
कोभिड महामारी सुरु हुनुअघि सन् २०१९ पर्यटनका लागि ‘गोल्डेन डेज’ थियो । कोभिडले विश्वभरिकै पर्यटन सुस्ताएको छ । नेपालमा पनि विदेशी पर्यटक आएका छैनन् । कोभिडले २०२० र २०२१ यत्तिकै बित्ने भयो । यो वर्षको अक्टोबरदेखि नेपाली पर्यटनमा केही सकारात्मक भाइभ देखिन थालेको छ । अब, सन् २०२२ देखि पर्यटन रिबाउन्ड हुने सम्भावना छ । सन् २०२३ देखि पर्यटन लयमा फर्किन थाल्नेछ । त्यो वर्षदेखि गोल्डेज डेज सुरु हुन सक्छ ।