१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असोज २३ शनिबार ०७:०७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक आउन थाले

Read Time : > 1 मिनेट
२०७८ असोज २३ शनिबार ०७:०७:००

कोरोनाका कारण दुई वर्षदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा पर्यटक आउन थालेका छन् । कोरोनाका कारण बन्द रहेका पदमार्ग पर्यटक आवागमनका लागि खुला गरेपछि पर्यटक आउन थालेका हुन् ।

पछिल्लो समय सरकारले निषेधाज्ञालाई खुकुलो बनाएसँगै र चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा पर्यटक आगमन खुला गरेपछि पर्यटक आवागमन बढेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले औपचारिक रूपमा असोज १ देखि पर्यटक आवागमन खुला गरेको बताए । 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ पुग्ने पर्यटकले ७२ घन्टाभित्रको पिसिआर रिपोर्ट र कोभिडविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने सर्त राखेको छ । पर्यटकलाई लमजुङ सीमा क्षेत्र सीमा प्रहरीचौकी ताल, सीमा प्रहरीचौकी धारापानी, धारापानीस्थित एक्यापको पर्यटक चेकजाँच केन्द्रले चेकजाँच गरेर गन्तव्यमा पठाउने गरिएको छ । 

पदमार्गमा विदेशी पर्यटक आउन थालेको मस्र्याङ्दी गाउँपालिका–६, बाहुनडाँडाकी होटेल व्यवसायी पारू गुरुङले बताइन् । उनी भन्छिन्, ‘पदमार्गमा बाह्य पर्यटक आउन थालेसँगै खुसी लागेको छ, अब थला परेको व्यवसायमा केही राहत हुने आस छ ।’ मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले मनाङमा अहिले बाह्य पर्यटक र आन्तरिक पर्यटकको आगमन बढेको बताए । उनका अनुसार कोरोनाका कारण दुई वर्षसम्म थला परेको पर्यटन क्षेत्र पर्यटक आउन थालेसँगै माथि उठ्ने आशा पलाएको छ । एक्याप मनाङ प्रमुख लेखनाथ गौतमले पर्यटकका लागि चक्रीय अन्नपूर्ण पदमार्ग खुला गरिएको बताए । उनले भने, ‘पछिल्लो समय मनाङमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ ।’ 

नौ महिनामा ६ सय ६९ विदेशी पर्यटक
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङको धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङले २०२१ को जनवरीदेखि सेप्टेम्बरसम्म ६ सय ६९ पर्यटक अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ घुम्न आएको बताए । उनका अनुसार सेप्टेम्बर महिनामा ६९ जना पर्यटक अन्नपूर्ण पदमार्गमा घुम्न आएका छन् । पदमार्गमा जनवरीमा दुईजना, फेब्रुअरीमा २५ जना, मार्चमा एक सय ३७, अप्रिलमा तीन सय ६६, मेमा ४९ जना पर्यटक आएको एक्याप मनाङको धारापानी चेकपोस्टको तथ्यांकमा उल्लेख छ ।

यस्तै, पदमार्गमा जुन र जुलाईमा भने एक–एकजना र अगस्टमा तीनजना पर्यटक मनाङ भित्रिएका छन् । एक्यापका अनुसार सन् २०१९ मा २६ हजार ६ सय ४७ जना पर्यटक आएका थिए । सन् २०२० मा एक हजार नौ सय ७६ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएका थिए । कोरोनाका कारण २०२० मार्च १४ देखि अक्टोबरसम्म पदमार्गमा पर्यटक आएका थिएनन् ।