मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मणिलाल विश्वकर्मा 
२०७५ पौष ५ बिहीबार १८:४७:००
Read Time : > 1 मिनेट
समाचार

वडाध्यक्षको सिफारिशमा दलित बस्ती बिक्री

Read Time : > 1 मिनेट
मणिलाल विश्वकर्मा 
२०७५ पौष ५ बिहीबार १८:४७:००

सिरहाको मिर्चैया नगरपालिका, ७ फूलबरियामा पर्ने तीन पुस्तादेखि बस्दै आएको दलित बस्ती वडाध्यक्षको सिफारिशमा बिक्री भएको खुलेको छ । बसोबास गर्दै आएका दलितको जमिन वडा कार्यालयबाट वडाध्यक्षले दिएको गलत सिफारिशका कारणले बिक्री भएको हो ।

वडाध्यक्ष रामकुमार यादवले बस्ती रहेको जग्गा खाली भएको सिफारिश दिएपछि कारोबारीले जग्गा खरिद गरेका हुन् । बस्ती बिक्री भएपछि बसोबास गर्दै आएका बासिन्दा वडा कार्यलय, नगरपालिका, मालपोत लगायतका ठाउँम दौडधुप गर्दै आएका छन् । जग्गा बिक्री भएपछि आफूहरुलाई थप पीडा भएको ६५ वर्षीय घुरन रामले बताए ।

पुर्ख्यौली थलो गुम्ने डर

पुस्तौँदेखि बसोबास गर्दै आएको ठाउँ बिक्री भएपछि दलित बस्तीका बासिन्दा त्रसित भएका छन् । ‘बाजेको पालामा जग्गा किने पनि पास भएन,’ रामले भने ‘जग्गाको मूल्य बढेपछि दलित बस्तीलाई सूचना समेत नदिई बिक्री गरेछन् ।’

बस्तीका २८ वर्षीय चन्द्रदिप महरा भन्छन्, ‘हजुरबाले जग्गाधनी रामचन्द्र साहलाई रकम बुझाएपछि बस्दै आएका हौँ, बिक्री भएपछि चिन्तित छौँ ।’ 

बस्ती रहेको जग्गा बिक्री हुनुमा वडाध्यक्ष यादवको समेत मिलेमतो रहेको पीडित पक्षले आरोप लगाएका छन् । बस्तीमा कसैलाई सूचना नदिई रामका नाति श्रवणकुमार, दिपनारायण, सत्यनारायण, रामेश्वर लगायतले जग्गा कारोबारी सुरेश कुमार महतो बस्ती रहेको ६ कठ्ठा जमिन बिक्री गरेको हो ।

वडाध्यक्ष भन्छन् : बस्ती रहेको थाहा भएन

वडाध्यक्ष यादवले आफू दलितकै पक्षमा रहेको दाबी गर्दै सिफारिश गरेको जमिनमा बस्ती रहेको जानकारी नभएको बताएका छन् । ‘बस्ती रहेको थाहा नभएपछि सिफारिश दिएको हुँ’ उनले भने ‘भूलवश सिफारिश दिए पनि जग्गा फर्काउन वडा कार्यालयबाट हुने सबै सहयोग गर्छु ।’ 

स्थानीय बासिन्दाले वडाध्यक्ष जग्गा कारोबारीको प्रभावमा परेर सिफारिश दिएको आरोप लगाउँदै आएका छन् । बस्ती विद्युत, पानी र बाटो भए पनि वडा कार्यालयले केही नभएको भनेर सिफारिश दिएको छ ।