मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रेमराज सिलवाल
२०७८ असोज २२ शुक्रबार ०८:२४:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एमालेमा ओली निर्विकल्प हुन् ?

Read Time : > 3 मिनेट
प्रेमराज सिलवाल
२०७८ असोज २२ शुक्रबार ०८:२४:००

विधान राष्ट्रिय महाधिवेशनपछि एमाले पार्टीबारे अनेकथरी समाचार र बहस भइरहेका छन् । एमालेका उपाध्यक्ष डा. भीम रावलले महाधिवेशनमा बोल्न पाइएन भन्ने कुरा आफ्नो एउटा अन्तर्वार्तामा उल्लेख गरेका छन् । अर्थात्, विधान महाधिवेशनपछि एमालेमा अब ओली झन् बलियो र शक्तिशाली अध्यक्ष भएका छन् वा ओली निरंकुश वा निर्विकल्प अध्यक्ष हुन् भन्ने हिसाबले तर्क–वितर्कहरू गरिन थालेका छन् । 

कतिपयको तर्क छ– ‘अब एमालेमा ओली निर्विकल्प भए ।’ अर्थात्, ओलीको विकल्प भएन । कतिपय एमालेकै ओली समर्थक नेताहरूले पनि ‘एमालेमा अध्यक्ष ओली निर्विकल्प हुन्’ भन्ने गरेको सुनिन्छ । ‘अब ओलीलाई पार्टीमा कसैले हटाउन सक्दैन’ जस्ता तर्क गर्ने एमालेमा बढी नै देखिन्छन् । यद्यपि, एमालेभित्रैका कतिपय आलोचक र विद्रोही तर्क राख्नेहरू ‘ओलीलाई निर्विकल्प बनाइयो’ भन्दै आफ्ना असन्तुष्टि पोख्ने गर्छन् । ओलीको फोटो प्रदर्शनीको सन्दर्भमा समेत उनीहरूको विरोधी विचार प्रकट भयो ।

एमाले भितर र इतर दुवैतर्फ एमालेमा ओली निर्विकल्प हुन् वा होइनन् भन्ने तर्क बढी नै चर्चामा देखिन्छ । केहीले ओलीलाई निर्विकल्प बनाउनु नहुने भन्दै ओलीबाट अब नहुनेसमेत भन्ने गरेका छन् । विधान महाधिवेशनको बन्दसत्रका क्रममा बोल्नेमध्ये केहीले ओलीलाई जबरजस्ती निर्विकल्प बनाउन खोजिएको भन्दै आलोचना पनि गरे । यद्यपि, यो संख्या नगन्य थियो । अधिकांशले ओलीको विचार, शैली र राजनीतिक नेतृत्वको खुलेरै समर्थन गरेका थिए । महाधिवेशनको सन्दर्भमा सबैजसो सञ्चारमाध्यमले अध्यक्ष ओलीको फोटो प्रदर्शन र निर्विकल्प नेतृत्वशैलीको आलोचना गर्दै समाचारहरू सम्प्रेषण गरे । ओली निर्विकल्प हुन खोजेको भन्ने ढंगले समाचारहरू प्रसारण तथा प्रकाशन भएका थिए र गरिँदै पनि छन् । खासमा के अध्यक्ष ओली विर्विकल्प भएकै हुन् ? राजनीतिशास्त्र र समाजविज्ञानले कोही पनि व्यक्ति वा संस्था वा वस्तुलाई निर्विकल्प मान्दैन । 

हरेक कुराको विकल्प हुन्छ र छ भन्छ । पञ्चायती व्यवस्थालाई तत्कालीन शासक र सत्ताले निर्विकल्प भन्ने अर्थमा प्रचार गरे । तर, पञ्चायत टिकेन, ढल्यो । समय, युग र नागरिकले विकल्प खोजे, बहुदलको विकल्प रोजे । ०४७ सालअघि सरकारी सञ्चारमाध्यम गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजन निर्विकल्पजस्तै ठानिन्थे । तर, ती सब गलत साबित भए । आज सूचना र सञ्चारको क्षेत्रमा नेपालमा आमूल परिवर्तन भइसकेको अवस्था छ ।

यसर्थ, निर्विकल्प शब्द आफैँमा गलत हो । कुनै पनि संस्था र व्यक्ति निर्विकल्प हुनै सक्दैन । जबरजस्ती निर्विकल्प भनिएका वा भन्ने गरिएका कुनै पनि वस्तु, संस्था र व्यक्ति निर्विकल्प भएनन् वा छैनन् । प्रकृतिमा भएका विषयसमेत मानिस र विज्ञानले तोडेर विकल्पको विषय बनाएका छन् । सूर्यको प्रकाशको विकल्पमा बिजुली बत्ती आयो र अँध्यारो हुन दिएन । विज्ञान, ज्ञान, सूचना–प्रविधि, दर्शन तथा आधुनिक विचारको यो युगमा झन् केही विषय नै निर्विकल्प छैन । 

अध्यक्ष ओली पनि एमालेमा निर्विकल्प भएर वा बनाइएर अध्यक्ष वा प्रधानमन्त्री भएका होइनन् । ओली अब निर्विकल्प भन्ने तर्क र निर्विकल्प बनाइयो भन्ने आरोप दुइटै गलत हुन् । लोकतन्त्र र गणतन्त्रमा निर्विकल्प भन्ने हुन्न । विकल्पैविकल्पको र छनोटैछनौटको प्रणाली र व्यवस्था हो, लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्र । एमालेले आफ्नो राजनीतिक दर्शन बनाएको जनताकोे बहुदलीय जनवाद (जबज)को मान्यता आफैँमा विकल्पैविकल्पको सिद्धान्त हो ।

जनता सर्वाधिकारसम्पन्न हुन् र उनीहरूसँग छनोटको पूरा विकल्प हुन्छ भन्ने दर्शन र छनोटको विकल्प नै खासमा जबजको सार हो । त्यसो भएर ओलीलाई ‘निर्विकल्प बनाइयो’ भन्ने तर्क र ‘अब ओली निर्विकल्प’ भन्ने कुरा आफैँमा कुतर्क मात्र हुन् । बरु भएका सबै विकल्पमध्ये हाललाई ओली सर्वश्रेष्ठ, उत्तम र आवश्यक विकल्प हुन् भन्न सकिन्छ । ओली इतिहास, अनुभव र परीक्षणबाट खारिएका, प्रमाणित भएका विकल्प हुन् भन्ने तर्क गर्न सकिन्छ । एमालेकै सन्दर्भमा भन्नुपर्दा पनि अन्य व्यक्ति र समूहभन्दा पार्टीका लागि ओली नै उत्तम विकल्प हुन् भन्न सही हुन सक्छ । तर, समर्थनमा र विरोधमा गरिएका ‘ओली निर्विकल्प हुन्’ भन्ने तर्कचाहिँ एकांकी, अवस्तुवादी र अवैज्ञानिक धारणा मात्र हुन् । ओली निर्विकल्प होइनन् । 

एमालेको विधान महाधिवेशनमा ७० वर्षे उमेरहद पूरै लागू भएको भए पनि घुमाएर ७५ वर्षे उमेरहद लागू भएको छ । ७० वर्षभित्र पार्टी निर्वाचनमा उम्मेदवार हुन पाउने र सो उम्मेदवार विजयी भएको खण्डमा पूरै आफ्नो कार्यकालसम्म कार्य गर्न सक्षम हुने, विधानले नरोक्ने भनेको छ । यसको अर्थ ७० वर्षमा उम्मेदवार हुनेले सामान्यतः अर्काे ५ वर्षे अवधि पूरा गर्न सक्ने प्रावधानले ७५ वर्षको उमेरहद लागू भएको देखिन्छ । यस हिसाबमा आगामी मंसिर १०–१२ मा बुटवलमा हुने १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीलाई पुनः अध्यक्ष हुनबाट विधानले खुला गरेको देखिन्छ । यस दृष्टिमा अबको एमाले अध्यक्ष फेरि पनि ओली नै हुने हुन् वा होइनन् भन्ने प्रश्न नेपाली राजनीतिमा गर्न थालिएको छ ।

एमालेको विधान महाधिवेशनको समयमा देखिएका बहस, छलफललाई समग्रतामा विश्लेषण गर्दा ओली थप शक्तिशाली भएको देखिन्छ । एमालेबाट माधव–झलनाथ समूह बाहिरिएपछि अब एमालेमा ओलीलाई सीधा टक्कर दिने कोही पनि बाँकी देखिएका छैनन् । उपाध्यक्ष डा. भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल ओलीपछिका सम्भावित अध्यक्षका दाबेदार देखिए पनि हालको अवस्था र सन्दर्भमा ओलीलाई एमालेमा उल्लेखित कसैले पनि सीधा टक्कर दिन सक्ने अवस्था, क्षमता र संख्यात्मक हैसियत केही पनि देखिँदैन । यस दृष्टिमा एमालेमा ओली नै सर्वश्रेष्ठ, लोकप्रिय र अध्यक्षका बलिया दाबेदार हुन् । एमालेमा भएका र देखिएका सबै विकल्पमध्ये ओली सर्वाधिक शक्तिशाली र सक्षम विकल्प हुन् । मैदानमा देखिएका विभिन्न विकल्पमध्ये अध्यक्ष ओली आगामी १०औँ महाधिवेशनका सर्वाधिक बलिया विकल्प हुन् । फेरि पनि निर्विकल्प भने होइनन् । 

सारमा, 
नेपाल कम्युनिस्ट पार्टी एमालेको राष्ट्रिय राजनीतिमा अनेकौँ दृष्टिकोणमा भूमिका रहेको छ । यस हिसाबले एमालेको भावी महाधिवेशन, नेतृत्व र नीतिका सन्दर्भमा चर्चा, बहस र छलफलको चौतर्फी अर्थ र महŒव छ । एमालेमा अध्यक्ष ओली निर्विकल्प भए वा बनाइए वा निर्विकल्प हुन् भन्ने खालका धारणा र मान्यता आफैँमा सही छैनन् । कुनै पनि व्यक्ति, समूह, संस्था वा वस्तुलाई निर्विकल्प हो भन्ने मान्यता नै आफैँमा गलत हो ।

लोकतान्त्रिक गणतन्त्रमा निर्विकल्प भन्ने केही छैन । संविधानसभाले बनाई जारी गरिएको नेपालको वर्तमान संविधान त आफैँमा निर्विकल्प होइन र छैन । यसैले संविधान संशोधनका चर्चा र बहस हुन्छन् । यस दृष्टिमा ओली निर्विकल्प छैनन् र होइनन् । एमालेको राजनीतिक मैदानमा देखिएका सबै माथिल्ला स्तरका खेलाडीमध्ये सर्वश्रेष्ठ विकल्पका उत्तम खेलाडी भने ओली नै हुन् । (सिलवाल पिएचडी स्कलर हुन्)