१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल तस्बिर
२०७८ असोज २० बुधबार १४:५१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना 

Read Time : > 2 मिनेट
२०७८ असोज २० बुधबार १४:५१:००

नेपाल प्रहरीले चाडबाडलाई लक्षित गरी देशभर ४२ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ।  दसैँ तथा अन्य चाडबाड नजिकिनै लाग्दा प्रहरी प्रधान कार्यालयले सुरक्षा योजना बनाएरै ठूलो संख्यामा प्रहरी परिचालन गरेको हो। काठमाडौं उपत्यकासहित प्रदेश प्रहरी कार्यालय र मातहतका सबै प्रहरी कार्यालयहरूलाई चाडबाडको वेला अलर्ट रहन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।   चाडबाडको वेला चोरी, लुटपाट, ठगी, डकैतीलगायत अन्य जघन्य प्रकृतिका अपराध हुने भएकोले प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई शान्ति सुरक्षामा थप ध्यान दिन अनुरोध गरेको हो।  

नेपाल प्रहरीका अनुसार दसैँको वेला जबर्जस्ती चन्दा संकलन, चिठ्ठा उपहार कार्यक्रम, अत्यावश्यक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव, कालोबजारी तथा मूल्यवृद्धिजस्ता गलत क्रियाकलाप बढ्ने गर्छन्।  प्रहरीले लामो–छोटो दूरीका सवारीसाधनमा बढी भाडा असुल गर्नेमाथि पनि कारबाही गर्नेछ।  दसैँको समयमा टिकट अभाव गराउने, क्षमताभन्दा  बढी यात्रु  राख्ने, सवारी दुर्घटना तथा दुर्व्यवहार गर्ने, अवैध मदिरा उत्पादन तथा बिक्री–वितरण गर्नेजस्ता कार्य रोक्न प्रहरी खटिएको छ।  नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले चाडबाडको वेला हुन सक्ने तडकभडक र अपराधलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन भएको बताए।  उनले उपत्यका तथा उपत्यकाबाहिरको सुरक्षा योजनालाई समेटेर सुरक्षा योजना तया गरिएको बताए। 
 
आइजिपी शैलेश थापा क्षेत्रीले पनि सबै प्रदेशका प्रहरी प्रमुखसँग चाडबाडलक्षित सुरक्षा र योजनाको विषयमा छलफल गरेका छन्।  उनले सबै प्रदेशका प्रहरी प्रमुखलाई चाडबाडको वेला निगरानी बढाउन निर्देशन दिएका छन्।  ‘दसैँको वेला रमाइलोसँगै आपराधिक गतिविधि पनि हुन्छन्, कतिपयले रमाइलो गर्दा अपराध गर्ने मनसायमा कोही बसेका हुन्छन्, त्यस्ता गतिविधि रोक्न प्रहरी तैनाथ छ,’ प्रवक्ता कुँवरले भने, ‘गत वर्षभन्दा यो वर्षको सुरक्षा योजना कडा पारिएको छ।’  उनका अनुसार पटाका तथा विस्फाेटक  पदार्थहरूको ओसारपसार तथा प्रयोगमा रोक लगाइएको छ।  सीमानाकाहरूमा  तस्करी, चोरी, निकासी, पैठारीलाई ध्यानमा राख्दै सुरक्षा योजना तथा प्रहरी परिचालन गरिएको छ।  

पैदल तथा मोबाइल गस्ती,
प्रहरीले पैदल तथा मोबाइल गस्ती, नागरिक–यात्रु सहायता कक्ष, चेक प्वाइन्ट तथा संयुक्त चेकजाँच (ट्राफिकसहितको), मुख्य नाकाहरू, शंकास्पद स्थान, सवारीसाधनको निगरानी गर्न छुट्टाछुट्टै प्रहरी परिचालन भएका छन्।  यसबाहेक सादा पोसाकमा पनि प्रहरी परिचालन गरिएको छ।  लोकमार्गमा क्रस पेट्रोलिङ, २४ घन्टा राजमार्ग विशेष चेकिङ तथा स्कर्टिङ, ग्रामीण गस्ती, बजार अनुगमनलगायत गतिविधि प्रहरीले सुरु गरिसकेको छ।  यसबाहेक विभिन्न स्थानहरूमा आकस्मिक चेकजाँच पनि सुरु गरिएको छ।  

जुवा तथा चिठ्ठा खेल्न रोक 
नेपाल प्रहरीले चाडबाडको वेला चिठ्ठा तथा जुवा खेल्नेमाथि कडा कारबाही गर्ने जनाएको छ।  दसैँको वेलामा सबैभन्दा बढी जुवा खेल्नेहरू भेटिएकोले प्रहरीले त्यस्ता क्रियाकलापमाथि निगरानी बढाएको छ।  उद्योगपति, व्यापारीहरू, राजमार्गमा चल्ने सवारीसाधनहरूबाट आर्थिक सहयोगको नाममा जबर्जस्ती चन्दा संकलन, चिठ्ठा उपहार कार्यक्रमजस्ता गतिविधि रोक्न प्रहरीले ठाउँठाउँमा प्रहरी परिचालन गरेको छ।  चाडपर्वको वहानामा अत्यधिक मादकपदार्थ सेवन गरी हुन सक्ने कुनै पनि प्रकारको उच्छृङ्खल तथा आपराधिक गतिविधिहरूलाई ख्याल गर्दै प्रहरीले होटेल तथा घरघरमा पनि निगरानी राख्ने बताएको छ।  त्यस्तै जथाभावी मदिरा उत्पादन तथा बिक्री–वितरणमा पनि रोक लगाएको छ।  

झ्यालढोका बन्द गर्न आग्रह 
नेपाल प्रहरीको तथ्यांकअनुसार चाडपर्वको समयमा सबैभन्दा बढी चोरी तथा लुटपाटका घटना हुन्छन्।  अधिकांश मानिस आफ्ना आफन्तहरूकहाँ जाँदा घरको ढोका राम्ररी बन्द नगर्दा चोरीका घटना हुने गरेका छन्।  प्रहरीले कतै जाँदा आफ्नो सुरक्षा बन्दोबस्त आफैँ मिलाउन अनुरोध गरेको छ।  चोरीजन्य घटना भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत आग्रह गरिएको छ।  

कालोबजारी गर्नेमाथि कारबाही
चाडबाडको वेला कालोबजारी गर्नेमाथि प्रहरीले कारबाही थालेको छ।  बजारमा खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तुहरूको बिक्री–वितरणलाई सहज बनाउन प्रहरी बजार अनुगमनमै निस्किएको छ।  प्रहरीले बजारमा कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धिजस्ता कार्यहरू हुन–गर्न नदिन सम्बन्धित निकायहरूसँग समन्वय गरेको जनाएको छ।  

बढी भाडा असुल्नेमाथि कारबाही
चाडबाडका वेला धेरैजसो सवारीसाधनले चर्को मूल्य असुल गर्दै आइरहेको पाइन्छ।  प्रहरीले त्यसरी बढी भाडा असुल्नेमाथि कारबाही गर्ने जनाएको छ।  यात्रुहरूले खबर गरेमा बढी भाडा असुल्नेमाथि प्रहरीले कारबाही गर्नेछ।  इन्धन अभावको कारण देखाई लामो–छोटो दूरीमा चल्ने भाडाका सवारीसाधनहरूले यात्रुसँग बढी भाडा असुल गर्ने, दुर्व्यवहार गर्नेमाथि ठाउँठाउँमा यात्रु सहायता कक्ष राखेर कारबाही गरिनेछ।  यात्रु सहायता कक्ष सुरु भइसकेको छ।  

कोभिड स्वास्थ्य मापदण्ड नअपनाए कारबाही 
चाडबाडमा घर फर्कँदा सवारीचालक तथा यात्रुहरूलाई स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको छ।  मापदण्ड पालना नगर्नेमाथि प्रहरीले कारबाही गर्नेछ।  सिटमा मात्रै यात्रु चढाउन प्रहरीले यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ।  त्यस्तै मास्क र स्यानिटाइजर पनि अनिवार्य गरिएको छ।  
कुन प्रदेशमा कति प्रहरी ? 
काठमाडौं उपत्यका : ७,५५७ जना
प्रदेश १ : ६,९१० जना
प्रदेश २ : ४,९१९ जना 
बागमती प्रदेश :   ३,७६३
गण्डकी प्रदेश : ३,८८१ जना
लुम्बिनी प्रदेश : ८,०८१ जना
कर्णाली प्रदेश : ३,७०१ जना
सुदूरपश्चिम प्रदेश : ३,८५८
देशभर : ४२,६७०