Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
स्टकहोम रासस/एएफपी
२०७८ असोज २० बुधबार ०९:३८:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीनजनालाई दिने घोषणा

Read Time : < 1 मिनेट
स्टकहोम रासस/एएफपी
२०७८ असोज २० बुधबार ०९:३८:००

नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीनजनालाई दिने घोषणा गरेको छ । नोबेल पुरस्कार पाउनेमामध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेलमान र इटलीका जर्जियो पारिसी रहेका छन् ।

उनीहरूलाई जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुझ्न गरेको अनुसन्धानका लागि नोबेल पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन हुन लागेको ठिक एक हप्तापछि मंगलबार नोबेल कमिटीले पुरस्कारको घोषणा गरेको हो ।

विश्वभरि तापक्रमको मात्रा बढेको र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्याहरू बढ्दै गएको भन्दै विश्वकै ध्यान खिच्ने गरी सम्मेलन गर्न लागिएको आयोजकहरूले जनाएका छन् । जलवायु परिवर्तनले पारेको असरलाई न्यूनीकरण गर्न सघाउने गरी अनुसन्धान गरेकाहरूलाई नोबेल पुरस्कार प्रदान गर्नुलाई थप सकारात्मक रूपमा हेरिएको छ ।  

पुरस्कार पाउनेमध्ये मानाबे ९० वर्षको र हस्सेलमान ८९ वर्ष पुगेका छन् । उनीहरूले जलवायु परिवर्तनको परिमार्जनशीलता र जलवायुको पूर्वानुमानसम्बन्धी अनुसन्धान संयुक्त रूपमा गरेका थिए । त्यसैगरी ७३ वर्षका वैज्ञानिक पारिसीलाई भने परमाणुदेखि ग्रहसम्म उतारचढावको अन्तर्क्रियाबारे अनुसन्धान गरेकाले पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ ।  

नोबेल कमिटीले यसअघि शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिने घोषणा गरेको थियो । अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको थियो ।