मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज २० बुधबार ०७:३०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँमा पनि मनाङमा बिजुली नबल्ने

गत जेठ र असारमा आएको बाढीपहिरोले क्षति पुर्‍याएको प्रसारण लाइन बन्न नसक्दा मनाङवासीको दसैँ टुकी र मैनबत्तीको भरमा बित्ने

Read Time : > 2 मिनेट
२०७८ असोज २० बुधबार ०७:३०:००

मनाङवासीले दसैँमा पनि बिजुली बाल्न नपाउने भएका छन् । गत १४ जेठ र १ असारमा आएको बाढीपहिरोले क्षति पुर्‍याएको प्रसारण लाइन मर्मत नहुँदा यसपटक मनाङवासीको दसैँ अन्धकारमा बित्ने भएको हो ।  बाढीपहिरोले थुपै्र ठाउँका पोल बगाएको छ भने प्रसारण लाइनमा व्यापक क्षति पुर्‍याएको छ । बाढीपहिरोले ध्वस्त बनाएको सडक नबन्दा पोललगायतका विद्युतीय सामग्री ढुवानी गर्न सकेको छैन । विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय पोखराका प्रमुख केदारराज सिलवालले दसैँसम्ममा पनि मनाङमा बिजुली पुर्‍याउन नसकिने बताए । 

‘पोललगायतका आवश्यक उपकरण खरिद प्रक्रिया सकिएको छ । हामी ती सामग्री ढुवानी गरेर काम अगाडि बढाउने चरणमा पुगेका छौँ, तर सडक सञ्चालन नहुँदा ढुवानी हुन सकेको छैन,’ सिलवालले नयाँ पत्रिकासँग भने, ‘सबै काम फटाफट भए पनि मनाङमा बिजुली सहज आपूर्ति गर्न अझै २० दिन लाग्छ ।’ मनाङ हिमाली जिल्ला भएकाले त्यहाँ विशेष खालका उपकरण चाहिने उनले बताए । ‘पहाड या तराईमा जस्ता उपकरणले त्यहाँ काम गर्दैन । हेबी इक्युमेन्ट लैजान समस्या रहेको छ,’ उनले थपे । लामो समयसम्म सडक खुलाउन नसकेकाले पनि समस्या भएको उनको भनाइ छ । ‘मनाङका बासिन्दालाई हामीले दसैँमा बिजुली दिन असम्भव भयो । लामो समय सडक मार्ग खुलाउन नसकेका कारण आवश्यक विद्युत् उपकरण ढुवानी हुन पाएनन् । अहिले खरिद प्रक्रिया सकेर ढुवानी गराउने चरणमा छौँ । सबै काम सक्न १५–२० दिन लागिहाल्छ,’ उनले भने । 

मनाङमा विद्युत् आपूर्ति सहज बनाउन सात किलोमिटर दूरीमा ३३ केभी प्रासारण लाइनका लागि १३० वटा पोल र साढे ६ किलोमिटर दूरीमा ११ केभी प्रसारणका लाइनका लागि ११० वटा नयाँ पोल चाहिन्छ । त्यसैगरी, पावर ट्रान्सफर्मर चितवनबाट लैजानुपर्नेछ । यी सबै पोल र पावर ट्रान्सफर्मर ढुवानीका लागि अझै बाटो उपयुक्त नरहेको प्राधिकरण प्रादेशिक प्रमुख सिलवालले बताए ।गण्डकी प्रदेशका मनाङबाहेक अन्य जिल्लामा भने विद्युत् मर्मतको काम भइसकेको प्रमुख सिलवालले बताए । प्रदेशका ११ जिल्लामध्ये मुस्ताङ, म्याग्दी, बाग्लुङ र पर्वतमा समेत विद्युत् आपूर्ति ठप्प भएकोमा ती जिल्लाहरूमा भने मर्मतको काम भएको उनले जानकारी दिए । 

 गण्डकीमा चट्याङ र ओभर लोडिङको समस्या
त्यसो त मनाङबाहेक गण्डकीका अधिकांश जिल्लामा अहिले चट्याङ र ओभर लोडिङको समस्या छ । विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय गण्डकीले वेलाबखत ट्रान्सफर्मर पड्कने र फेर्नुपर्ने समस्या रहेको जनाएको छ । पोखरालगायतका सहरी क्षेत्रमा विद्युत्को माग दिनानुदिन बढ्दो रहेकाले ओभर लोडिङका कारण फ्युज जाने र आपूर्तिमा समस्या देखिने गरेको कार्यालय प्रमुख सिलवालको भनाइ छ । 

गत जेठ र असारको बाढीपहिरोले विजुलीका धेरै पोल बगायो । प्रसारण लाइनमा क्षति पु र्‍यायो । बाटो पनि बगाएकाले समयमा ढुवानी गर्न सकिएन । त्यसैले यो दसैँमा मनाङबासीलाई बिजुली दिन नसकिने भयो ।

केदारराज सिलवाल, प्रमुख, विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय पोखरा

‘पोखरा र आसपासमा लाइटिङको समस्या छ । जसका कारण ट्रान्सफर्मर जल्ने र फ्युज जाने भइरहन्छ । ट्रान्सफर्मर फेर्दा र फ्युज फेर्दा समय लाग्छ । लोडसेडिङ हटेपछि बत्ती बालिरहने बानी परेका ग्राहकलाई अहिले यस्तो हुँदा भित्रभित्रै लोडसेडिङ गरेको भन्ने पनि परेको हुन सक्छ, तर त्यस्तो होइन,’ उनले भने । पोखरामा यो समस्या समाधान गर्न केन्द्रमा आग्रह गरिएको उनले जानकारी दिए । बिस्तारै वर्षा कम हुँदै गएकाले चट्याङबाट हुने समस्या पनि कम हुने उनले विश्वास व्यक्त गरे । 

 पोखरामा आपूर्ति सहज बनाउन बजेट अभाव
पोखरामा दिनहुँ बढिरहेको विद्युत्को मागलाई व्यवस्थापन गर्न ६२ वटा ट्रान्सफर्मर थप्नुपर्ने प्राधिकरणको प्रादेशिक प्रमुख सिलवालको भनाइ छ । यसका लागि नौ करोड रुपैयाँ खर्च लाग्ने देखिएको र केन्द्रसँग बजेट व्यवस्थापनका लागि आग्रह गरिएको उनले जानकारी दिए । यी ट्रान्सफर्मर थपेपछि थप दुई वर्षसम्म माग धान्ने क्षमता रहने उनले बताए । ‘पोखरामा बढ्दो विद्युत् माग थेग्न ६२ वटा ट्रान्सफर्मर थप्नुपर्ने अवस्था छ । केही थपिएको पनि छ । यो सबैका लागि नौ करोड रुपैयाँ चहिन्छ । हामीसँग बजेट जम्मा डेढ करोड छ । थप नपुग बजेट व्यवस्थापनका लागि केन्द्रमा लेखी पठाएका छौँ । यसका लागि ६ महिनाजति समय लाग्न सक्छ । तर, थप ट्रान्सफर्मर नहाल्दैमा विद्युत् आपूर्तिमा तत्काल समस्या नरहे पनि वेलावेला फ्युज जाने अवस्था भने रहिरहन्छ,’ उनले भने ।