मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज १९ मंगलबार २०:१३:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकीमा विद्युत् आपूर्ति : मनाङवासीले दसैँमा पनि बत्ती बाल्न नपाउने

Read Time : > 2 मिनेट
२०७८ असोज १९ मंगलबार २०:१३:००

मनाङका बासिन्दाले दसैँमा पनि बिजुली बाल्न नपाउने भएका छन् । गत १४ जेठ र १ आसारमा आएको बाढीपहिरोका कारण बगेका बिजुलीका पोल फेर्ने र प्रसारण लाइन मर्मत हुन नसक्दा मनाङका बासिन्दाले दसैँमा बिजुली बाल्न नपाउने भएका हुन् । बाटो नहुँदा पोललगायतका विद्युतीय सामग्री ढुवानी गर्न ढिलाइ भएका कारण दसैँसम्ममा मनाङवासीले बिजुली बाल्न पाउने अवस्था नरहेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय पोखराका प्रमुख केदारराज सिलवालले जानकारी दिए । 

अहिले पोललगायतका आवश्यक उपकरण खरिद प्रक्रिया सकिएको र ढुवानी गरेर कामलाई अगाडि बढाउने चरणमा आफूहरू पुगेको उनले नयाँ पत्रिकालाई बताए । अब झटाभट काम भए पनि सबै काम सकेर मनाङमा बिजुली सहज आपूर्ति गर्न २० दिन लाग्ने उनले प्रस्ट्याए । 

मनाङ हिमाली जिल्ला भएकाले त्यहाँ विशेष खालका उपकरण चाहिने उनले बताए । अन्य पहाड या तराईमा जस्ता उपकरणले त्यहाँ काम नगर्ने हुँदा हेबी इक्युमेन्ट लैजानै समस्या रहेको उनले सुनाए । ‘मनाङका बासिन्दालाई हामीले दसैँमा बिजुली दिन असम्भव भयो । लामो समय सडक मार्ग खुलाउन नसकेका कारण आवश्यक विद्युत् उपकरण ढुवानी हुन पाएनन् । अहिले खरिद प्रक्रिया सकेर अब ढुवानी गराउने चरणमा छौँ । सबै काम सक्न १५÷२० दिन लागिहाल्छ,’ उनले भने । मनाङमा विद्युत् आपूर्ति सहज बनाउन ७ किलोमिटर दूरीमा ३३ केभी प्रासारण लाइनका लागि १३० वटा पोल र साढे ६ किलोमिटर दूरीमा ११ केभी प्रसारणका लाइनका लागि ११० वटा नयाँ पोल चाहिन्छ । त्यसैगरी, पावर ट्रान्सफर्मर चितवनबाट लैजानुपर्नेछ । यी सबै पोल र पावर ट्रान्सफर्मर ढुवानीका लागि अझै बाटो उपयुक्त नरहेको प्राधिकरण प्रादेशिक प्रमुख सिलवालले बताए ।

गण्डकी प्रदेशका मनाङबाहेक अन्य जिल्लामा भने विद्युत् मर्मतको काम भइसकेको प्रमुख सिलवालले बताए । प्रदेशका ११ जिल्लामध्ये मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा समेत विद्युत् आपूर्ति ठप्प भएकोमा ती जिल्लाहरूमा भने मर्मतको काम भएको उनले जानकारी दिए । 

चट्याङ र ओभर लोडिङका कारण वेलाबखत समस्या
नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीका प्रमुख केदारराज सिलवाल मनाङबाहेकका अन्य क्षेत्रमा अहिले नियमित विद्युत् आपूर्तिमा समस्या नरहेको दाबी गर्छन् । यद्यपि, यो क्षेत्रमा अत्याधिक चट्याङको समस्या रहेका कारण वेला बखत ट्रान्सफर्मरमा पड्कने र फेर्नुपर्ने भइरहन्छ । फेर्ने समयमा विद्युत् आपूति बन्द हुँदा नागरिकले गुनासो गर्ने गरेको उनले बताए । 

पोखरालगायतका सहरी क्षेत्रमा विद्युत्को माग दिनानुदिन बढ्दो रहेकाले ओभर लोडिङका कारण फ्युज जाने र त्यो फेर्ने वेलासम्म पनि विद्युत् आपूर्तिमा समस्या रहेको उनको भनाइ छ । त्योबाहेक भने अन्य अवस्थामा विद्युत् आपूर्ति सहज रहेको उनले बताए । ‘पोखरा र आसपासमा लाइटिङको समस्या छ । जसका कारण ट्रान्सफर्मर जल्ने र फ्युज जाने भइरहन्छ । ट्रान्सफर्मर फेर्दा र फ्युज फेर्दा समय लाग्छ । लोडसेडिङ हटेपछि बत्ती बालिरहने बानीपरेका ग्राहकलाई अहिले यस्तो हुँदा भित्रभित्रै लोडसेडिङ गरेको भन्ने पनि परेको हुन सक्छ, तर त्यस्तो होइन,’ उनले भने ।   

प्राधिकरण प्रादेशिक प्रमुख सिलवालले पोखरामा यो समस्या समाधानका लागि केन्द्रमा आग्रह गरिएको जानकारी दिए । प्रसारण लाइन क्षमता बढाउनुपर्ने र ट्रान्सफर्मर थप्नुपर्ने उनले बताएका छन् । अब विस्तारै वर्षाद् कम हुँदै गएकाले चट्याङबाट हुने समस्या पनि कम हुने उनले बताएका छन् । गण्डकी प्रदेशमा चाडबाडका वेला विद्युत् आपूर्तिमा समस्या आउन नदिन सबै वितरण शाखाहरूलाई निर्देशन दिइएको र मर्मतसंहारको कामलाई अगाडि बढाइएको उनले बताए ।  

पोखरामा विद्युत् आपूर्ति सहज बनाउन ९ करोड खर्चिनुपर्ने 
पोखरामा दिनहुँ बढिरहेको विद्युत्को मागलाई व्यवस्थापन गर्नका लागि ६२ वटा ट्रान्सफर्मर थप्नुपर्ने अवस्था रहेको प्राधिकरण प्रादेशिक प्रमुख सिलवाल बताउँछन् । यसका लागि ९ करोड रुपैयाँ खर्च लाग्ने स्टिमेट भएको र केन्द्रसँग बजेट व्यवस्थापनका लागि आग्रह गरिएको उनले जानकारी दिए ।

यी ट्रान्सफर्मर थपेपछि थप दुई वर्षसम्म माग धान्ने क्षमता रहने उनको भनाइ छ । ‘पोखरामा बढ्दो विद्युत् माग थेग्न ६२ वटा ट्रान्सफर्मर थप्नुपर्ने अवस्था छ । केही थपिएको पनि छ । यो सबैका लागि ९ करोड रुपैयाँ चहिन्छ । हामीसँग बजेट जम्मा डेढ करोड छ । 

थप नपुग बजेटको व्यवस्थापनका लागि केन्द्रमा लेखी पठाएका छौँ । यसका लागि ६ महिना जति समय लाग्न सक्छ । तर, थप ट्रान्सफर्मर नहाल्दैमा विद्युत् आपूर्तिमा तत्काल समस्या नरहे पनि वेलावेला फ्युज जाने अवस्था भने रहिरहन्छ,’ उनले भने ।