१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मुस्ताङबाट ल्याइएको च्याङ्ग्रा। तस्बिर : नयाँ पत्रिका
कमल खत्री मुस्ताङ
२०७८ असोज १९ मंगलबार १८:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुस्ताङी भेडाच्याङ्ग्राको मूल्य बढ्यो, एउटाकै ४० हजारमाथि 

Read Time : > 1 मिनेट
कमल खत्री, मुस्ताङ
२०७८ असोज १९ मंगलबार १८:२२:००

दसैँलाई लक्षित गरी बजारमा ल्याइएका भेडाच्याङ्ग्राको मूल्य बढेको छ । चाडपर्वको समयमा बजारमा हुने मासुको मागलाई पूर्ति गर्न हिमालपारिको जिल्ला मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्राको मूल्य बढेपछि सर्वसाधारणको लागि दसैँ खर्चिलो बन्ने भएको छ। 

गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य बढेको व्यापारीहरूले बताएका छन्। लेकाली भेगमा पालिएका भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोसिलो हुने भएकाले दसैँलगायतका चाडपर्वमा भेडाच्याङ्ग्राको माग अध्यधिक हुने गर्छ। 

यो वर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरूले उत्पादन गरेका भेडाच्याङ्ग्राले माग नधान्ने भएपछि कृषक र बिचका व्यापारीहरूले मूल्य बढाएका हुन्। मुस्ताङमा उत्पादन भएको र डोल्पादेखि मुस्ताङ हुँदै ल्याइएका भेडाच्याङ्ग्रालाई यति वेला बजारमा बिक्रीका लागि धमाधम ल्याउन थालिएको छ।

जोमसोम पुगेर २ सय च्याङ्ग्रा खरिद गरी ल्याएका सिन्धुपाल्चोकका अमरबहादुर ठकुरीले अघिल्लो बर्षको तुलनामा प्रतिगोटा ५ देखि ११ हजारसम्म मूल्य बढी तिर्नुपरेको बताए।  ‘अघिल्लो वर्ष प्रतिगोटा २५ हजारसम्ममा खरिद गर्थ्यौं, यो वर्ष ३५ हजारसम्म परेको छ, पोखरासम्म पुर्‍याएर बिक्री गर्दा ४० हजारसम्ममा बिक्री गर्ने हो’– ठकुरीले भने। 

लामो समयदेखि भेडाच्याङ्ग्राको व्यापार गर्दै आएका ठकुरीले यो वर्षको मूल्य अहिलेसम्मकै अत्यधिक वृद्धि भएको पाएको बताए । यो वर्ष मुस्ताङको लोमान्थाङ, छोसेर, छाेन्डुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङलगायतका स्थानका किसानले पालेका भेडाच्याङग्रा बजारमा भित्र्याइएको छ । 

म्याग्दी, पर्वत, बागलुङ , कास्की, बुटवललगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीहरूले  भेडाच्याङ्ग्राहरू बजारमा ल्याउन सुरु गरिसकेका छन्। बजारमा रोजा च्याङ्ग्रालाई ४५ हजारसम्म पर्ने देखिएको छ । मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर बजारमा बिक्री गर्न थालेका नकुल सुवेदीले किसानबाट खरिद गरी ल्याएका बिचका व्यापारीले मूल्य बढाउँदा भेडाच्याङ्ग्राको मूल्य बढ्न गएको बताए ।

मंगलबारसम्ममा मुस्ताङबाट करिब १० हजार बढी भेडाच्याङ्ग्रा निकासी भएको  छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले स्थानीय तह, बंगुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरूसँग समन्वय गरेर भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर मात्रै निकासी दिने गरेको जनाएको छ।

उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राहरूले विशेष गरी लेकाली जडीबुटीहरू खाने भएकाले दसैँतिहारजस्ता पर्वहरूमा पोसिलो मासुको रूपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ ।