मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १९ मंगलबार ०६:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

इच्छाराज तामाङसहित सिभिल सहकारीका सञ्चालक र कर्मचारी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १९ मंगलबार ०६:४५:००

निक्षेपकर्ताको करिब ४६ करोड हिनामिना गरेको आरोपमा काठमाडौंको सोल्टीमोडस्थित सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १२ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार ठगी मुद्दाको उजुरीमा उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठसमेत छन् । निक्षेपकर्ताको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको सिआइबीका प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताए । 

तामाङ पूर्वसभासद्समेत हुन् । चर्चित घरजग्गा व्यवसायी तथा सिभिल बैंकका संस्थापक रहेका उनी सहकारीको रकम दुरुपयोग गर्दा केही वर्षयता आर्थिक समस्यामा थिए । ‘सहकारीको नियमविपरीत तामाङलगायतले आफन्तको नाममा ठूलो रकम कर्जा प्रवाह गरेर अनियमितता भएको देखियो,’ सिआइबीका डिआइजी सिंहले भने, ‘कर्जा अधिकृतलगायतलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौँ ।’ 

निक्षेपकर्ताको रकम सञ्चालकले मनोमानी रूपमा प्रयोग गरेका थिए । ऋण उठ्न नसकेपछि सहकारीले सर्वसाधारणको पैसा फिर्ता दिन सकेको थिएन । त्यसविरुद्ध पहिलेदेखि नै विभिन्न निकायमा उजुरी परे पनि तामाङले पैसा फिर्ता गर्ने आश्वासन दिँदै आएका थिए । तर, वर्षाैँसम्म पनि पैसा नपाएपछि सर्वसाधारण प्रहरीमा गएका हुन् । तामाङमाथि गत वर्षदेखि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गर्दै आएको छ ।