मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १८ सोमबार १५:३७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

यात्रुको चाप बढेसँगै अधिकतम भाडा लिन थाले वायुसेवा कम्पनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १८ सोमबार १५:३७:००

आन्तरिक उडान गर्दै आइरहेका वायुसेवा कम्पनीहरूले दसैँको मौका छोपी भाडादर अधिकतम पुऱ्याएका छन्। सबैजसो जहाज कम्पनीहरूले अन्य समयमा भन्दा झन्डै ३५–४० प्रतिशत भाडा वृद्धि गरेका छन्। हवाई यात्रुको संख्या कम हुने अन्य समयमा कम भाडा लिँदै आएका हवाई कम्पनीहरूले दसैँको वेला भने भाडादर अधिकतम पुऱ्याएका हुन्।

नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार दसैँ–तिहारको वेला आन्तरिक उडानमार्फत दैनिक १४ हजार यात्रु उपत्यका बाहिरिन्छन्। सोही समयमा दैनिक ८ हजार हाराहारी यात्रु उपत्यका भित्रिन्छन्। एयरलाइन्स कम्पनीहरूले यात्रुहरूको चाप बढेसँगै उडान संख्या पनि थप्ने गरेका छन्।

भाडा अधिकतम लिए पनि पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्रायलले तोकेको भाडादर सिलिङभित्रै पर्छ। अन्य समयमा उडान कम्पनीहरूले अधिकतम भाडा लिँदैनथे। कम्पनीहरूले दसैँको वेला भाडादर महँगो पुऱ्याएका हुन्।

हाल लिइरहेको भाडादर तोकिएअनुसारकै रहेको एयरलाइन्स कम्पनीहरूको दाबी छ। बुद्ध एयरका सूचना अधिकारी रुपेश जोशीले एकतर्फी भाडादर महँगो भएको बताए। उनले यो समयमा काठमाडौंबाट बाहिरिनेको संख्या मात्रै बढी भएको र बाहिरबाट काठमाडौं आउने संख्या कम भएकोले एकतर्फी भाडादर महँगो गराउनुपर्ने अवस्था आएको जानकारी दिए। उनका अनुसार बुद्ध एयरका सबैजसो उडानले अहिले सरकारले तोकेको अधिकतम भाडादरमा उडान थालिसकेका छन्। ‘अन्य समयमा धेरै उडान हुँदैन। तर, चाडबाडको वेला हवाई यात्रा गर्नेहरूको संख्या पनि अत्यधिक हुन्छ। यो समयमा उडान पनि धेरै हुन्छन्,’ उनले भने, ‘भाडादर बढी लिनुको कारण एकतर्फी यात्रु बढी हुनु पनि हो।’

पयर्टन मन्त्रालयले तोकेको भाडादरअनुसार काठमाडौं–धनगढीको अधिकमत भाडादर १२ हजार एक सय रहेको छ। सो रुटमा योभन्दा बढी भाडा लिन पाइँदैन। त्यस्तै, काठमाडौं–विराटनगरको सात हजार चार सय पाँच, काठमाडौं–भैरहवाको ६ हजार दुई सय ३५, काठमाडौं–नेपालगन्जको १० हजार दुई सय ८५, काठमाडौं–भद्रपुरको नाै हजार पाँच सय ३०, काठमाडैं–पोखराको  पाँच हजार ३५ रुपैयाँ भाडादर तोकिएको छ। यती एयरलाइन्सका सूचना अधिकारी सुदर्शन बर्तौलाले कुनै समय घाटामा र कुनै समय फाइदामा उडाउनुपर्ने बताए। उनले भने, ‘अहिले वान–वे टिकट बिक्री बढेको छ। त्यसैले महँगो पनि छ। यो प्रतिस्पर्धात्मक भाडा दर हो।’

यसबाहेक अन्य ठाउँको पनि उडान भाडा पयर्टन मन्त्रालयले चार वर्षअघि नै समायोजन गरेको थियो। इन्धनको मूल्य बढ्यो भने मात्रै उडान भाडादर पनि महँगिने एयरलाइन्स कम्पनीहरूले जनाएका छन्। नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)का अनुसार काठमाडौंबाट उडान गर्ने क्षेत्र ५० वटा छन्। ती क्षेत्रको फरकफरक भाडादर समायोजन गरिएको प्राधिकरण निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले बताए।

तोकिएकोभन्दा बढी भाडादर एयरलाइन्स कम्पनीहरूले लिन नपाउने उनको भनाइ छ। उनले भने, ‘अहिले आन्तरिक उडानतर्फ यात्रुहरूको भिडभाड बढेको छ। एयरलाइन्स कम्पनीहरूले अन्य समयमा भन्दा बढी भाडा लिइरहेका छन्। तर, सरकारले तोकेकोभन्दा बढी भाडा लिन पाइँदैन।’ उनले अन्य समयमा एयरलाइन्स कम्पनीहरूले स्वाभाविकै कम भाडा लिए पनि दसैँको वेला तोकिएको अधिकतम भाडा लिने गरेको बताए। एयरलाइन्स कम्पनीहरूलाई सरकारले तोकेको सिलिङमध्येको अधिकतम भाडा लिने अधिकार दिएको महानिर्देशक क्षेत्रीले बताए।