मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
ललितपुर प्याट्रिएट्सविरुद्ध विकेट लिएपछि चितवन टाइगर्सका खेलाडी
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १८ सोमबार ०६:२४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इपिएल : शीर्ष स्थान बलियो बनाउँदै चितवन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १८ सोमबार ०६:२४:००

चितवन टाइगर्सले चौथो एभरेष्ट प्रिमियर लिग (इपिएल)को शीर्ष स्थान बलियो बनाएको छ । लगातार चौथो जितसँगै चितवन आठ अंकका साथ शीर्ष स्थानमा छ । यसअघिको जितले प्ले अफमा पुगेको चितवनले आइतबार इपिएलको साबिक विजेता ललितपुर प्याट्रिएट्सलाई पाँच विकेटले पराजित गरेको हो । ललितपुरले इपिएलमा तेस्रो हारको सामना गरेको छ । 

ललितपुरले टियू क्रिकेट मैदानमा पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय नौ रनको झिनो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा चितवनले केवल १७.२ ओभरमा पाँच विकेटको क्षतिमा जित निकाल्यो । ललितपुरले अघिल्लो खेल विराटनगर वारियर्सविरुद्ध इपिएल इतिहासकै सर्वाधिक दुई सय २६ रनको योगफल खडा गरेको थियो । उच्च फर्ममा रहेको ललितपुरले चितवनविरुद्ध उत्कृष्ट ब्याटिङ गर्न सकेन । 

ओपनर मोहमद सहजादले सर्वाधिक ३५ रनको योगदान दिएका थिए । उनले २८ बलमा चार चौका र दुई छकका प्रहार गरे । यसैगरी भीम सार्कीले २२ बलमा तीन चौका र एक छक्काको सहयोगमा २७ रन बनाए । यता, अजामुतुल्लाह ओमाजै र रिजन ढकालले समान दुई विकेट लिँदा चितवनले पाँचौँ विकेट ९२ रनमा गुमाएको थियो । दिलीप नाथ र राजेश पुलामीले छैटौंँ विकेटका लागि अविजित २० रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए । दिलीपले १६ बलमा १६ रन तथा राजेशले ६ रनको योगदान दिए । 

ब्याटिङ पिचमा चितवनका तीन बलरले उत्कृष्ट स्पेल गर्न सफल भए । कमल ऐरीले ११ रनमा तीन, करिम जनतले २४ रनमा दुई तथा सागर ढकालले १४ रनमा दुई विकेट लिँदा पहिलो ब्याटिङ गरेको ललितपुर १२.४ ओभरमा ६८÷७ को दयनीय अवस्थामा पुगेको थियो । फितलो ब्याटिङ प्रदर्शनमा ललितपुरका लागि जयकिसन कोल्सावालले ३३ बलमा ४२ रनको योगदान दिएका थिए । उनले तीन छक्का र दुई चौका प्रहार गरे । साहब आलमले आफ्नो तेस्रो ओभरमा जयकिसनको विकेट लिएका थिए । 

 काठमाडौं सात रनले पराजित
आइतबारको पहिलो खेल ओसिलो मैदानका कारण प्रभावित पार्‍यो । काठमाडौं र विराटनगरबीचको खेल ११ः४५ बजे मात्रै सुरु भएको थियो । अम्पायर विनयकुमार झा तथा राम यादवले खेल आठ/आठ ओभरमा झारे । पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित आठ ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनायो । प्रत्युत्तरमा ललितपुरले आठ ओभरमा तीन विकेट गुमाएर ९७ रनमा मात्र जोड्यो ।