मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७८ असोज १७ आइतबार ०८:१९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोनाका ३५० बिरामी आइसियू र ११२ भेन्टिलेटरमा

Read Time : > 1 मिनेट
२०७८ असोज १७ आइतबार ०८:१९:००

कोरोना संक्रमणदर घट्दो क्रममा देखिए पनि चार सय ६२ संक्रमित सघन उपचारकक्षमा उपचाररत छन् । यीमध्ये तीन सय ५० आइसियूमा र एक सय १२ जना भेन्टिलेटरमा छन् । जटिल अवस्थाका बिरामीलाई आइसियू र भेन्टिलेटरमा राखिन्छ ।

‘पछिल्ला दिनको तथ्यांक हेर्दा कोरोना संक्रमणदर घटेको छ । तर, मन्त्रालयमा प्राप्त तथ्यांकअनुसार संक्रमित भएर गम्भीर अवस्थामा उपचाररत बिरामीको संख्या चार सय ६२ छ । यो कम संख्या होइन । त्यसैले संक्रमण घट्दैमा कोरोनालाई सामान्य ठान्नु गल्ती हुन्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने । 

स्वास्थ्य मन्त्रालयको रेकर्डअनुसार हाल १६ हजार ३७१ संक्रमित घरमै आइसोलेसनमा छन् । १ हजार २ सय ७१ संक्रमित अस्पतालमा छन् । हालसम्म ११ हजार १५७ को मृत्यु भएको छ । यो मृत्युदर १.४ प्रतिशत हो । शनिबार आठ हजार दुई सय १९ नमुना परीक्षण गर्दा ८६७ जनामा कोरोना पजिटिभ देखिएको छ । ९ जनाको मृत्यु भएको छ।

टेकु अस्पतालका निर्देशक डा. अनुप बास्तोला आइसियूमा पुग्ने संक्रमितको संख्या विगतको अनुपातमा घटेको बताउँछन् । ‘विगतमा खुला आकाशमुनि राखेर पनि आइसियू दिनुपर्ने बिरामी हेरेको याद छ । अहिले टेकु अस्पतालमा धेरै आइसियू बेड खाली छन्,’ उनले भने, ‘अहिले सामान्य बिरामीसमेत आइसियूमा बस्दा संख्या धेरै देखिएको हो ।’ उनका अनुसार अहिले आइसियूमा बसेका बिरामी अपवादबाहेक २ देखि ४ लिटर अक्सिजन दिनुपर्ने अवस्थाका मात्र छन् जसलाई आइसियू अपरिहार्य होइन । कोरोना भयावह हुँदा १० लिटरमाथि अक्सिजन दिनुपर्ने बिरामीलाई मात्रै आइसियूमा राखिन्थ्यो । 

भाइरोलोजिस्ट डा. शेरबहादुर पुन पनि संक्रमण विगतको तुलनामा घटेकाले सघन उपचार कक्षमा पुग्ने पनि घटेको बताउँछन् । अहिले दोस्रो छालमा कोरोनाको संक्रमण भएका र कोरोनाविरुद्ध खोप लगाएका नागरिक जोखिममा छैनन् । उनीहरू संक्रमित भएका छन् तर खोप नलगाएका र संक्रमण नभएकाहरू जस्तो जोखिममा छैनन् । 

‘दोस्रो लहरमा बिरामी निकै सिकिस्त थिए, तर अहिले घटेकै हुन् । धेरैमा एन्टिबडी पनि विकसित भइसकेको छ । यो हाम्रा लागि राम्रो संकेत हो’, डा. बास्तोलाले भने । हालसम्म ६३ लाख ४८ हजार २७९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । १३ लाख ४६ हजार ३३० जनाले पहिलो मात्रा मात्रै लगाएका छन् ।